भारतीय निजी कम्पनीको रेल पहिलोपटक कन्टेनर बोकेर नेपालमा – Nepal Press

भारतीय निजी कम्पनीको रेल पहिलोपटक कन्टेनर बोकेर नेपालमा

काठमाडौं । करिब दुई महिनाअघि नेपाल र भारतबीच भएको रेल्वे सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा सामान ढुवानी शुरू गरेको छ । अहिलेसम्म भारतको सरकारी कम्पनीले मात्रै सामान ओसार्दै आएकोमा आज पहिलोपटक निजी कम्पनीको रेल वीरगञ्जको सुख्खा बन्दरगाहमा भित्रियो ।

भारतको हिन्द टर्मिनल कम्पनीको रेल आज बिहान १० बजे पहिलोपटक ९० कन्टेनर मालवस्तु बोकेर सुख्खा बन्दरगाह आएको हो । यससँगै सुख्खा बन्दरगाहमा भारतीय सरकारी कम्पनीको एकाधिकार तोडिएको छ ।

नेपाल र भारत बीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो । त्यसपछि अहिलेसम्म सरकारी रेलले नै सामान ल्याउने गरेकोमा अब निजीले सेवा दिन थालेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भारतीय निजी रेल कम्पनीले वीरगञ्जको सुख्खा बन्दगाहसम्म सामान ढुवानी आजदेखि शुरू गरेको बताए ।

उनले भने, ‘यसभन्दा पहिले भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउने गरेको थियो । आजदेखि निजी क्षेत्रको रेलले कन्टेनर ल्याउन शुरू गरेको छ ।’

भारत सरकारसँगको पछिल्लो सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । अब नेपाली आयात/निर्यातकर्ताले सहज तरिकाले वैदेशिक व्यापार गर्न सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपालका व्यवसायीहरूको संगठन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रको रेल कम्पनीले नेपालमा सामान ढुवानी सेवा दिँदा नेपाललाई सहज हुने बताए ।

मल्लले भने, ‘सामान ढुवानीमा निजी क्षेत्रको प्रवेश भएको छ । अब अन्य देशबाट सामान आयात गर्नसमेत सहज हुने छ । विदेशबाट आयात हुँदा लाग्ने ढुवानी लागतसमेत घट्ने छ ।’

नेपाली निजी क्षेत्रका लागि निजी कम्पनीको रेलमा नेपालको झन्डा हालेर सामान ल्याउनु सुखद हो । यसअघि भारत सरकारको कम्पनीले मात्रै सेवा दिइरहेको मल्लले बताए ।

अब नेपालमा तेस्रो देशबाट सामान आयात गर्दा सहज हुने निजी क्षेत्रले बताएको छ । नेपाली उद्योगहरूलाई चाहिने कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट नै आयात हुने गरेको छ । कतिपय दैनिक उपभोग्य वस्तुसमेत भारत लगायत तेस्रो देशबाट नेपाल आयात हुने गर्छ । निजी क्षेत्रको रेल कम्पनीले सेवा दिन थालेपछि त्यस्तो सेवा सस्तो, सरल र सहज हुने निजी क्षेत्रले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर