कोरोनाविरुद्धको खोपः नेपालमा कति प्रभावकारी ? – Nepal Press

कोरोनाविरुद्धको खोपः नेपालमा कति प्रभावकारी ?

अस्पतालहरु भन्छन्ः दुवै डोज लगाउनेको मृत्युदर कम

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोपका लागि सरकारले निकै ठूलो धनराशी खर्च गरिरहेको छ । विभिन्न देशबाट खोप गरिद गरेर नागरिकलाई निशूल्क वितरण गरिरहेको सरकारले खाेपको प्रभावकारीताका सम्वन्धमा भने अहिलेसम्म कुनै अध्ययन गरेको छैन ।

कोरोनाविरुद्धको खोपले संक्रमणको सम्भावनालाई शून्यमा झार्दैन । यद्यपि, खोप लगाएका व्यक्तिहरुमा गम्भीर लक्षण नदेखिने वा मृत्युदर कम हुने विश्वास गरिन्छ । नेपालका सन्दर्भमा अहिलेसम्म कोरोनाको दुवै खोप लगाएका र खोप नलगाएकाहरुको तुलनात्मक विश्लेषण कुनै निकायबाट भएको पाइँदैन ।

भदौ ५ गते चर्चित हास्यकलाकार शम्भुराज थापा ‘बखते’को कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो । उनले कोरोनाविरुद्धको कुनै खोप लगाएका थिएनन् । एक महिनाअघि कोरोना पोजिटिभ देखिएका थापाको उपचारका क्रममा निधन भएको थियो । कोरोनाविरुद्धको खोप लगाएको भए ज्यान बाँच्थ्यो कि भनेर परिवारजनमा थकथकी भयो ।

बुटवल उपमहानगरपालिकाका बुटवल-१८ का ७२ वर्षीय वडा अध्यक्ष हुमनाथ आचार्यको मृत्यु भयो । उनीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनले पनि कोरोनाविरुद्धको खोप लगाएका थिएनन् ।

चिकित्सकहरुले पनि भनिरहेका छन्– कोरोनाविरुद्धको खोप नलगाएकाहरुमा प्रतिरोधी क्षमता हुन्छ, कोरोना संक्रमणबाट हुने जोखिम बढी हुन्छ । यद्यपि, खोप लगाएकाहरुलाई जोखिमै नहुने भने होइन ।

गत भदौ ३ गते राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट उपचारको क्रममा मृत्यु भयो । थप उपचारका लागि भारत लैजानुअघि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको कुनै लक्षण नदेखिएका उनले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका थिए । उनी पहिल्यैदेखि उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।

यी तीन उदाहरणहरुले कोरोनाविरुद्धको खोप नलगाउने मात्र नभएर एक डोज वा दुई डोज खोप लगाउनेहरु पनि पूर्ण सुरक्षित नरहेको सन्देश दिन्छन् । चिकित्सकहरुले पनि भनिरहेका छन्– कोरोनाविरुद्धको खोप नलगाएकाहरुमा प्रतिरोधी क्षमता हुन्छ, कोरोना संक्रमणबाट हुने जोखिम बढी हुन्छ । यद्यपि, खोप लगाएकाहरुलाई जोखिमै नहुने भने होइन ।

खोप नलगाउने बिरामीमा कडा लक्षण

चिकित्सकका अनुसार पछिल्लो समय एक डोज पनि खोप नलगाएका संक्रमितको मृत्युदर बढी छ । आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेका अधिकांश संक्रमितले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको अस्पतालहरु जनाएका छन् ।

सशस्त्र प्रहरी अस्पतालका कोभिड फोकल पर्सन डा. प्रविन नेपालले अस्पतालमा कोरानाका बिरामी घटेको बताए । ‘भर्ना दर घटेको छ, अस्पतालको आईसीयू, भेन्टिलेटरमा भर्ना भएकामध्ये खोप नलगाएकाहरु धेरै छन् ।’ उनका अनुसार मृत्यु हुनेमा पनि खोप नलगाउनेहरु नै धेरै छन् ।

वीर अस्पतालमा पनि कोभिडका बिरामीको चाप घटबढ भइरहेको छ । बीचमा केही समय जटिल खालका बिरामीको संख्या बढेको थियो । अहिले केही घटेको वीर अस्पतालका कोभिड फोकल पर्सन डा. उमेश बोगटीले बताए । उनले भने, ‘अहिले पनि आईसीयू चाहिने विरामीहरु आइराखेकै हुन्छन् । बिरामीको चाप कम चाहिँ भएको छ ।’ अहिले आईसीयू चाहिने बिरामीमध्ये धेरैले खोप नलगाएको पाइएको उनी बताउँछन् ।

‘खोप नलगाएकाहरुलाई बढी गाह्रो हुने, उपचार पनि जटिल हुने र बाँच्ने सम्भावना पनि न्यून हुन्छ’, उनले भने, ‘खोप लगाएकामध्ये मृत्यु हुनेमा दीर्घरोगी धेरै छन् ।’

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अहिले कोरोनाका बिरामी सय जनाभन्दा कम छन् । पछिल्लो समय अस्पतालमा कोरोनाका बिरामी घटेको अस्पतालका कोभिड फोकलपर्सन रामविक्रम अधिकारीले बताए । ‘भर्ना भएकामा पनि खोप नलगाएका बिरामी अवस्था जटिल छ’, उनले भने, ‘दीर्घरोगी र वृद्धवृद्धाको अवस्था बढी जटिल हुने गरेको छ ।’ खोप लगाएकाहरु पनि ढुक्क भएर बस्न चाहिँ नहुने उनको भनाइ छ ।

नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ देखिएसँगै गत जेठमा एकैदिन २४६ संक्रमितको मृत्यु भएको थियो भने एकैदिन करिब १० हजारमा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला अस्पतालमा बेड र अक्सिजनसमेत पाउन मुस्किल थियो ।

शिक्षण अस्तावलमा कुनैबेला भेटिन्लेटर पाउनै मुस्किल थियो । अहिले यहाँ भेन्टिलेटरमा ८ जना बिरामी छन् ।

यीसँगै टेुक, नर्भिक, ग्राण्डी, पाटनलगायत अस्पतालमा पनि कोरोनाका बिरामीको चाप घटेको छ । अस्पतालमा भर्ना भएकाहरु अधिकांश खोप नलगाएका छन् ।

घट्दै कोरोना संक्रमणदर

पछिल्लो केहीदिन यता कोरोना संक्रमणदर घटेको छ । नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ देखिएसँगै गत जेठमा एकैदिन २४६ संक्रमितको मृत्यु भएको थियो भने एकैदिन करिब १० हजारमा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला अस्पतालमा बेड र अक्सिजनसमेत पाउन मुस्किल थियो । गम्भीर खालका बिरामीले आइसीयू, भेन्टिलेटर र अक्सिजन नपाएर ज्यान गुमाउनु परेको थियो ।

हालसम्म पूर्ण मात्रामा खोप लगाउनेको संख्या ४८ लाख ९५ हजार १५२ छ । त्यस्तै ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो डोज खोप लगाएका छन् । अझै ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ जनाले खोप लगाएका छैनन् ।

संक्रमणदर कम भएसँगै अस्पतालमा बिरामीको चाप घटेको छ । जनस्वास्थ्यविज्ञहरुका अनुसार खोपको प्रभावकारिताका कारण गम्भीर प्रकारका बिरामी घटेका हुन् । तर अझै जोखिम कम भने भइनसकेको उनीहरुले बताएका छन् ।

छिटै कोभिडको तेस्रो वेभ आउनसक्ने विज्ञको बुझाइ छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले अर्को नयाँ भाइरस आएको र उक्त संक्रमण भए खोपले पनि काम नगर्ने चेतावनी दिइसकेको छ ।

कतिले लगाए खोप ?

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म नेपालमा एक करोड ९२ हजार १६४ ले कारोनाविरुद्धको खोप लगाइसकेका छन् । जसमध्ये पहिलो डोज लगाउने १७ प्रतिशत छन् ।

हालसम्म पूर्ण मात्रामा खोप लगाउनेको संख्या ४८ लाख ९५ हजार १५२ छ । त्यस्तै ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो डोज खोप लगाएका छन् । अझै ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ जनाले खोप लगाएका छैनन् ।

१३ लाख ६३ हजार ६१८ जनाले अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको पूर्ण खोप पाएका छन् ।

यस्तै चीनबाट खरिद गरिएको र अनुदानमा प्राप्त भएको भेरोसेलको खोपमध्ये २० लाख ७० हजार ८५९ ले दोस्रो खोप लगाइसकेका छन् भने ३२ लाख ८९ हजार ९८८ ले खोपको दोस्रो मात्रा लगाउन बाँकी छन् ।

यस्तै सेरम कम्पनीले उत्पादन गरेको कोभिसिल्ड, जापनिज अक्ट्राजेनेका र स्वीडिस अक्ट्राजेनेकाको दोस्रो डोज लगाउने १२ लाख ३२ हजार ८५१ छन् । २१ लाख ३४ हजार ८४८ जनाले पहिलो डोज मात्रै लगाएका छन् ।

अस्पतालमा चाप कम

मन्त्रालयका अनुसार अहिले ५२३ जना कोभिडका बिरामी आईसीयूमा छन् भने १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा आइसीयूमा ८० र भेन्टिलेटरमा ४२ बिरामी उपचाररत छन् । यस्तै प्रदेश २ का अस्पतालमा आईसीयूमा दुई जना उपचाररत छन् भने भेन्टिलेटर शून्य छ ।

यस्तै बागमती प्रदेशमा आईसीयूमा २९१ र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा ९० जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।

लुम्बिनी प्रदेशमा ४५ जना आईसीयू र ९ जना भेन्टिलेटरमा छन् । यस्तै कर्णाली प्रदेशमा ७ जना आईसीयूमा छन् भने ३ जना भेन्टिलेटरमा छन् । सुदुरपश्चिममा भने ८ जनाको आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौै उपत्यकाका अस्पतालमा कोभिडका जटिल बिरामी भर्ना हुने क्रम घट्दो छ । सरकारले तोकेको उपत्यकाका कोभिड अस्पतालका जनेरल बेडमा २५०, एचडीयूमा २५१, आईसीयूमा १५०, रु भेन्टिलेटरमा ७२ जना उपचाररत छन् ।

कहाँबाट कति आयो खोप ?

हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आपूर्ति भइसकेको छ । सुरुमा भारतले अनुदानमा दिएको कोभिसिल्डको १० डोज खोप आएको थियो । त्यसपछि नेपाललले खरिद गरेर कोभिसिल्डको १० लाख खोप ल्याएको थियो ।

साथै नेपाली सेनालाई दिएको १ लाख डोज खोप गरी भारतबाट २१ लाख डोज खोप आपूर्ति भएको छ । भारतबाट खरिद गरेको १० लाख डोज खोप अझै आउन बाँकी छ ।

त्यस्तै चीनबाट खरिद गरेर ४० लाख डोज भेरोसिल खोप ल्याइएको छ । त्यस्तै चीनले अनुदानमा दिएको ४० लाखमध्ये १८ लाख डोज खोप नेपाल आइसकेको छ । अनुदानको १६ लाख डोज खोप भने आउन बाँकी छ ।

यसैगरी भुटानबाट ३ लाख ४८ हजार डोज खोप आएको छ । जापानबाट अनुदानको १५ लाख डोज अक्स्ट्राजेनका खोप नेपाल आएको छ । अमेरिकाबाट जोन्सन एण्ड जोन्सन खोप १५ लाख डोज आएको छ । र बेलायतबाट एक लाख डोज आएको मन्त्रालयले जनाएको छ ।

चीनबाट खरिद गरेको ४४ लाख र अनुदानको १६ लाख खोप आउन बाँकी रहेको छ । मोर्डना फाइजर खोपको खरिद प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।

खोपको प्रभावकारिताबारे स्पष्ट भइसकेको छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार नेपालमा कोरोनाविरुद्धको खोपको प्रभावकारिताबारे स्पष्ट भइसकेको छैन । उनले भने, ‘खोपको प्रभावकारिताबारे स्पष्ट विवरण आएको छैन ।’

खोप लगाएका कोरोना संक्रमित पनि मृत्यु भएको तर मृत्युको जोखिम कम भएको उनको भनाइ छ ।

अहिले कोरोना संक्रमणदर स्थिर रहेको मन्त्रालयले जनाएको छ । ‘संक्रमणको जोखिम चाहिँ छ । खोप लगाए पनि ढुक्क हुने स्थिति छैन’, पौडेल भन्छन्, ‘अहिले संक्रमणदर १५ प्रतिशतसम्म घटेको छ ।’

उनले महामारी विभिन्न वेभमा आइराख्ने भन्दै सचेतता अपनाउन सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *