स्टील उद्योगमाथि अर्थमन्त्रीको भेदभाव, गुणस्तरीय उत्पादनलाई निरुत्साहित गर्ने कर नीति – Nepal Press

स्टील उद्योगमाथि अर्थमन्त्रीको भेदभाव, गुणस्तरीय उत्पादनलाई निरुत्साहित गर्ने कर नीति

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिएर व्यापार घाटा कम गर्ने भन्दै आएका अर्थमन्त्री जनार्दन शर्माको एउटा निर्णयले १०० अर्ब लगानीको स्टील उद्योग समस्यामा परेको छ । प्रतिस्थापन विधेयकमार्फत शर्माले ल्याएको संसोधित बजेटमा अन्तशुल्क र कर वृद्धि गरिएपछि देशका २४ वटा स्टील उद्योगहरु धराशयी बन्नसक्ने उद्योगीहरुले बताएका छन् ।

नेपालमा हाल ३० वटा स्टील उद्योग सञ्चालनमा रहेकोमा तीमध्ये ६ वटालाई मात्रै फाइदा पुग्ने गरी अर्थमन्त्रीले निर्णय लिएको उद्योगीहरुको भनाइ छ । निर्णय फिर्ता नभए २४ वटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनीहरु बताउँछन् ।

संसोधित बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्दा त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तशुल्क नलाग्ने व्यवस्था गरिएको छ । तर, विलेट आयात गर्दा भन्सार ४.७५ रुपैयाँ र प्रति मेट्रिकटन १ हजार ६५० बाट अन्तशुल्क वृद्धि गरी २ हजार ५ सय पुर्‍याइएको छ । सरकारले स्पञ्ज आइरल आयातमा छुट दिएर विलेट आयातमा अन्तशुल्क वृद्धि गरेकाले स्टीलको मूल्य वृद्धि हुन गई उद्योग नै बन्द गर्नपर्ने अवस्था आउने उद्योगीहरुले बताएका छन् ।

स्पञ्ज आइरन र विलेट दुबै कच्चा पदार्थ हुन् । स्टील उद्योगले छडलगायत फलामका बस्तु उत्पादन गर्न स्पञ्ज आइरन र विलेट आयात गर्ने गरेका छन् । नेपालमा ६ वटा उद्योगले मात्रै स्पञ्ज आइरन प्रयोग गर्छन् भने अन्यले विलेट प्रयोग गर्छन् ।

स्पञ्ज आइरन ल्याएर स्टील निर्माण गर्दा कर र अन्तशुल्क नलाग्ने हुँदा मूल्य सस्तो हुनेछ । यता, अन्तशुल्क र करको कारण विलेट आयात गरेर छड लगायतका बस्तु उत्पादन गर्दा लागत महंगो हुने छ । यसले बजारमा प्रतिस्पर्धा गर्न नसकिने अवस्था सिर्जना भई उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने उद्योगीहरुले बताएका छन् ।

सरकारले स्टील उत्पादन गर्न चाहिने कच्चा पदार्थको कर र अन्तशुल्क र बराबरी राख्नु पर्ने उद्योगीहरुले माग गरेका छन् । रोलिङ मिल्स एसोसिएसनका उपाध्यक्ष किरण साःखले सरकारले ६ वटा उद्योगलाई मात्रै कर र अन्तशुल्क छुट दिएर बाँकी २४ वटा उद्योग बन्द गराउन खोजेको बताए ।

उनले भने, ‘स्पञ्ज आइरनबाट निर्माण भएकोभन्दा विलेटबाट बनेको छड राम्रो र गुणस्तरीय हुन्छ । तर सरकारले विलेट आयात गरेर स्टील उत्पादन गर्ने उद्योगहरुलाई समस्यामा पारिदिएको छ ।’

प्रिमियर स्टील प्रालिका सञ्चालक शिव रतन सारडले सरकारले निजी क्षेत्रको भावनाअनुसार काम गर्न नसकेको बताए । स्टील उद्योगहरु बन्द भएमा बैंकहरुको पनि ठूलो लगानी संकटमा पर्ने उनको भनाइ छ ।

सारडले भने, ‘यस उद्योगमा बैंकहरुले २४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । उद्योग बन्द भए बैंकहरुको लगानी पनि डुब्ने अवस्था आउँछ ।

चीनमा स्पञ्ज आइरनबाट सञ्चालन हुने उद्योग सरकारले नै बन्द गराइसकेको छ । भारतमा पनि कडा निगरानीका साथ केही उद्योग मात्रै सञ्चालन गर्न दिइएको नेपाली उद्योगीहरु बताउँछन् । स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्दा जोखिम धेरै हुने र वातावरणमा पनि धेरै असर गर्ने उनीहरुको दावी छ । ठूला र राष्ट्रिय गौरवको आयोजनामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ५०० डी ग्रेडको स्टील आवश्यक पर्छ, जुन विलेटबाट बनाइन्छ ।

पछिल्लो समय नेपालमा पनि स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने उद्योगमा दुर्घटना वृद्धि भएको छ । ६ वटा उद्योगमध्ये ३ वटा उद्योगमा दुर्घटना भइसकेको उद्योगीहरुले बताएका छन् ।

सिद्धी लक्ष्मी स्टील प्रालीका सञ्चालक अञ्जन श्रेष्ठले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने भने पनि निजी क्षेत्रलाई नकारात्मक असर पुग्ने किसिमको नीति ल्याएको बताए ।

श्रेष्ठले भने, ‘एउटै आर्थिक वर्षमा दुई पटक फरक-फरक नीति ल्याउनु ठीक होइन । नीति परिर्वतन गर्दा निजी क्षेत्रसँग पनि छलफल गर्नुपर्थ्याे ।’

२०७२ सालको भूकम्पपछि नेपालमा स्टील उद्योगको स्थापना गर्ने क्रम बढेको हाे । तर, यो उद्योगमा समस्याहरु धेरै छन्। बजारमा स्टील उद्योगको २० अर्ब पैसा उठ्न बाँकी रहेको उद्योगी बताउँछन् ।

प्रतिक्रिया

One thought on “स्टील उद्योगमाथि अर्थमन्त्रीको भेदभाव, गुणस्तरीय उत्पादनलाई निरुत्साहित गर्ने कर नीति

  1. मुलुकले बिकास काे फड्को मार्न नसकेको नै यस्तै गैरजिम्मेवार संस्कार ले हाे,गैरजिम्मेवार नेत्रित्वले हाे।देशमा कलकारखाना उद्योग धन्दा भित्र्याउने ,सरकारि कर राजश्वमा छुट सहुलियत दिन नीति नभै चुसेर उठ्नै नसक्ने गरि महंगो कर लाद्ने सरकारि रणनीति ले अाज देश खाेक्राे र जनता अति नराम्रो बेरोजगारी काे पीडा भाेगिरहेकाछन।अाखिरि जुनसुकै निति परिवर्तन भए पनि ,सत्तामा जुनसुकै पार्टी पुगेपनि हुने त यहि रहेछ।सबै मुलुक लुटपाट गर्न र जनता लाइ चुसेर फाेस्राे खाेक्राे पार्ने मात्रै रहेछन् भन्ने बुझ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर