संवैधानिक इजलासमा विवादै विवाद, अन्तरिम आदेशविरुद्ध पूरक निवेदन दर्ता – Nepal Press

संवैधानिक इजलासमा विवादै विवाद, अन्तरिम आदेशविरुद्ध पूरक निवेदन दर्ता

काठमाडौं । राजनीतिक मुद्दाहरूको चाप बढेसँगै सर्वोच्च अदालतको संवैधानिक इजलास बारम्बार विवादित बन्न थालेको छ । संवैधानिक नियुक्तिविरुद्ध परेको रिटका दौरान संवैधानिक इजलासको विवाद अझ चर्कदै गएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिटको सुनुवाइ अवरुद्ध भएको भन्दै पूरक निवेदन दर्ता गराएका छन् । यसअघि न्यायाधीश हरि फुँयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवाद टुंगो नलाग्दासम्म सुनुवाइ स्थगन गर्न अन्तरिम आदेश दिएको थियो । सो अन्तरिम आदेशबाट संवैधानिक इजलासमाथि हस्तक्षेप भएको भन्दै अधिवक्ता अर्यालले आदेश खारेजीको माग गर्दै पूरक निवेदन दिएका हुन् ।

त्यसअघि संवैधानिक इजलासमा संवैधानिक नियुक्तिबारेको मुद्धामा सुनुवाईका दौरान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलासबाट अलग हुनुपर्ने तर्क कानून व्यवसायीहरूले गरेका थिए । त्यसलगत्तै प्रधानन्यायाधीश राणाले आफू इजलासमा नबस्ने आदेश गरेका थिए । त्यसयता संवैधानिक इजलास गठनको बारे नयाँ विवाद सुरु भएको थियो ।

अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीश बिना संवैधानिक इजलास गठन हुने संवैधानिक प्रावधान नरहेको भन्दै रिट दायर गरेका थिए । सोही रिटमा न्यायाधीश फुँयालले दिएको अन्तरिम आदेशविरुद्ध अधिवक्ता अर्यालले पूरक निवेदन दिएका हुन् ।

निवेदनमा एकल इजलासबाट भएको अन्तरिम आदेश न्यायिक प्रणालीको आधारभूत मूल्यपद्दतिविपरीत भएको र गम्भीर प्रकृतिको न्यायिक असंगति विद्यमान भएकोले तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर