तीन वर्षमा २५ सामूहिक हत्याकाण्ड, प्रायः मामुली कारण – Nepal Press

तीन वर्षमा २५ सामूहिक हत्याकाण्ड, प्रायः मामुली कारण

काठमाडाैं । गत सोमबार संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भयो । हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक समेत गरिसकेको छ ।

यो घटनामा अहिलेसम्म कुनै ठूलो कारण देखिएको छैन । अभियुक्त लोकबहादुर कार्कीले सामान्य रिसइबीका कारण हत्या गरेको बयान दिएका छन् । प्रहरीका अनुसार एकजनालाई मात्रै मार्न चाहेको भए पनि प्रमाण मेटाउनका लागि थप ५ जनाको उनले ज्यान लिएका थिए ।

नेपालमा पछिल्लो समय आवेशमा आएर वा योजनवद्ध तरिकाले सामुहिक हत्या गर्ने सिलसिला बढेको देखिन्छ । प्रहरी रेकर्ड अनुसार तीन वर्षयता मात्रै २५ वटा सामुहिक हत्याका घटना भएका छन् । यीमध्ये अधिकांशमा ठूलो कारण देखिँदैन ।

गत वर्ष २७ जेठमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको थियो । रामबहादुर पुनको गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर मारिएका थिए । हत्या गरेको आरोपमा प्रहरीले सोही फार्ममा काम गर्ने झसेन्द्र सिंजालीलाई पक्राउ गर्‍याे । उनले आफूलाई काम गर्दा दुख दिएको भन्दै रिसले कोदालीको फरुवाले हानेर हत्या गरेको बयान दिएका थिए ।

०७६ जेठ २ गते पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा दुई परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भयो भने १ बालिका घाइते भइन् । ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या गरिएको थियो । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।

प्रहरीले हत्यामा सलंग्न हुनसक्ने शंका गरेका ज्वाईं भनिएका मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेका थिए । मानबहादुरले नै ९ जनाको हत्या गरी आफुले आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको थियो । मानबहादुरकी श्रीमती लामो समयदेखि माइतीमा बस्दै आएकी थिइन् । माइतीबाट श्रीमती आउन नमानेपछि मानबहादुरले दुबै परिवारको हत्या गरको प्रहरीले बताएको छ । यद्यपि मानबहादुरले नै आत्महत्या गरेपछि धेरै प्रश्नहरु अझै अनुत्तरित छन् ।

१८ वर्षअघि ललितपुरको बडिखेलमा एकै परिवारका ५ जनाको हत्या भएको थियो । भानु नगरकोटी, उनकी श्रीमती, दुई छोरी र एक छोराको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रहरीले हत्याका अभियुक्त चन्द्रबहादुर श्रेष्ठलाई १२ वर्ष पछि पक्राउ गर्‍याे । हत्यामा संलग्न आरोपी नाताले भानुका जेठान हुन् । ज्वाइँको आफ्नो श्रीमतीसँग सम्बन्ध रहेको आशंकाका आधारमा उनले परिवारकै हत्या गरेका थिए ।

नेपालमा भएका चर्चित सामूहिक हत्याका घटनाका झलक हुन् यी । पछिल्लो समय ७ वटै प्रदेशमा यस्ता अपराधको ग्राफ उकालो लाग्दैछ । अधिकांश हत्या अपराधिले आवेशमा आएर गरेको देखिन्छ । त्यो पनि सामान्य विवादमा । अझै केही यस्ता घटनामा प्रहरी अभियुक्तसम्म पुग्न सकेको छैन ।

पछिल्लो ३ वर्षमा मात्रै २५ बढी सामूहिक हत्याका घटना भएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा ९ वटा सामूहिक हत्याको घटना भएका थिए । आर्थिक वर्ष ०७६/०७७ मा ७ वटा र आर्थिक वर्ष ०७७/०७८मा ७ वटा घटना भएका छनु । यस्तै आर्थिक वर्ष ०७८/०७९ को २ महिना २ वटा सामूहिक हत्या भएको छ । ३ वर्षमा २५ वटा सामूहिक हत्या भएको पाइएको छ ।

प्रदेशगत हेर्दा सबैभन्दा धेरै सूदुरपश्चिम प्रदेशमा ६ वटा सामुहिक हत्याका घटना भएका छन् । त्यसपछि बाग्मती, कर्णाली र प्रदेश २ मा ४–४ वटा, लुम्बिनीमा ३ वटा र गण्डकीमा एउटा घटना भएको छ ।

तीन वर्षमा देशका जिल्लामा सामुहिक हत्या भएका छन् । अछाम, कञ्चनपुर, कालिकोट, खोटाङ, दार्चुला, दैलेख, पाँचथर, बागलुङ, बारा, बैतडी, मकवानपुर, महोत्तरी, संखुवासभा, सिन्धुलीमा एक-एकवटा तथा कैलाली, गुल्मी, धनुषा, धादिङ, रुकुम, रुपन्देहीमा दुई–दुईवटा गरी २० जिल्लामा सामूहिक हत्याका घटना भएका छन् ।

प्रहरीले नेपाल प्रेसलाई उपलब्ध गराएको तथ्यांकअनुसार सामूहिक हत्याकाण्डमा ३ वर्षभित्र ६६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये २५ पुरुष, ११ बालक, ५ बालिका २५ महिला छन् ।

कर्णाली प्रदेशको कालिकोटमा २, दैलेखमा २, रुकुममा ८ गरी १२ जनाको सामूहिक हत्या भएको थियो । गण्डकी प्रदेशको बागलुङमा ४ जनाको हत्या भएको छ । यस्तै प्रदेश १ को खोटाङमा १, पाँचथरमा ५, संखुवासभामा ६ गरी १२ जनाको हत्या भएको छ ।

प्रदेश २ को धनुषामा ४, बारामा २ महोत्तरीमा २ गरी ८ जनाको ज्यान गएको छ । बागमति प्रदेशको सामूहिक हत्याकाण्डमा धादिङमा ५, मकवानपुरमा २, सिन्धुलीमा २ गरी ९ जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेशको गुल्मीमा ३, रुपन्देहीमा ७ गरी १० जनाको हत्या भयो । सुदुरपश्चिम प्रदेशका अछाममा २ कञ्चनपुर २, कैलालीमा ४, दार्चुला ३, बैतडीमा २ गरी १३ जनाको हत्या भएको थियो ।

सामूहिक हत्या गरेको अभियोगमा कर्णालीमा ३०, गण्डकीमा १८, प्रदेश १ मा ३, प्रदेश २ मा १४, बागमतीमा ४, लुम्बिनीमा ५ सुदुरपश्चिममा १७ गरी ९१ जना पक्राउ परेका छन् ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार विभिन्न स्थानमा भएका सामूहिक हत्यामा सलग्नहरु ३६ जना अपरिचित रहेका छन् । चिनजानका व्यक्तिबाट ९ वटा घटना भएका छन् । यस्तै छिमेकबाट ६, छोराबाट ८, बाबुबाट ७ र २१ वटा घटनामा मृतक र अभियुक्तबीचको सम्बन्ध खुलेको छैन । यसैगरी भाइको छोराबाट १, श्रीमानबाट ६, ससुरा १, सामान्य चिनजान ३, सासु १, नाती २ ज्वाईबाट १ गरी १०३ जना अभियुत्तः रहेका छन् ।

अधिकांश मामुली कारण

हालसम्मको घटना हेर्दा सामुहिक हत्यामा ठूलो विवादको विषय देखिँदैन । सामान्य रिसिईबीदेखि घरायसी विवादमा यस्ता हत्याकाण्ड भएका छन् ।

प्रहरीले २५ वटा सामुहिक हत्याको घटनामा अवैध सम्बन्ध र लेनदेन, घरायसी झैझगडा, जग्गाको विवाद, जातीय भेदभाव आदि कारण हत्या गरिएको खुलेको छ । यस्तै पुरानो रिसिईवी तथा मादकपदार्थ सेवनको कारण ४ वटा सामूहिक हत्या भएको प्रहरीले जनाएको छ ।

यस्तै, रातिको समयमा तस्करी गर्ने क्रममा चेकजाँच गर्दा एउटा सामूहिक हत्या भएको छ । रिसको आवेगमा आएर दुईवटा, वृद्धभत्ताका कारण एउटा, सम्पत्ति विवादको कारण एउटा, होली खेल्ने क्रममा विवाद भएर एउटा ससुरा-बुहारीबीच अबैध सम्बन्धका कारण एउटा, व्यापार घाटाका कारण एउटा, प्रेम सम्बन्धको कारण एउटा सामुहिक हत्या भएको छ । ४ वटा घटनाको कारण अझै खुल्न सकेको छैन ।

सामुहिक आत्महत्यामध्ये ५ वटा घटनामा कुटपीट गरी मारिएको छ । यस्तै, भीरबाट खसालेर, खुकुरी प्रहार गरी, खोलामा बगाई, घरमा आगो लगाएर, घाँटी रेटेर एक–एक वटा सामुहिक हत्या भएको छ । ४ वटा घटनामा धारिलो हतियार प्रयोग भएका छन् भने दुईवटामा भरुवा बन्दुक तथा खुकुरी प्रहार गरिएको छ ।

स-साना इस्यूले सामूहिक हत्याः प्रहरी

आर्थिक लेनदेन, पारिवारिक रिसइबी, क्षणिक आवेगमा सामुहिक हत्या धेरै भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

नेपाल प्रहरीका प्रवक्ता बसन्त कँुवरले भने, ‘ससाना इस्युले ठूलो रुप लिइरहेको छ । यसले समाजमा कलह बढाइरहेको छ ।’

कुँवरका अनुसार मानिसहरु क्षणिक आवेशमा आएर सामुहिक हत्या गर्न उद्यत भएका छन् । मानसिक समस्या, बेरोजगारी, आर्थिक लेनदेन, अबैध सम्बन्धले पनि यस्ता घटनामा बढोत्तरी भइरहेको उनको भनाइ छ ।

जघन्य अपराधको घटनामा अनुसन्धान गरिरहेका डीआइजी उत्तम सुवेदी पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले आवेशमा आएर हत्या गर्ने क्रम बढेको बताउँछन् । यसअघिको अनुसन्धानले बेरोजगार, अशिक्षाजस्ता कारणले हत्या हुने गरेको देखिन्थ्यो ।

उनी भन्छन्, ‘हिजो हामीले गरिबी, दीर्घरोग, अशिक्षाले भन्थ्यौ । हिजोभन्दा अहिले ट्रेन्ड चेन्ज भो । अहिले सामाजिक विकृतिको कारण देखिदैछ ।’

मनोविद् भन्छन्ः परामर्श आवश्यक

मनोविद् स्वस्तिका पोखरेलले सामुहिक हत्याको सिलसिला रोक्न युवाहरुलाई मनोपरामर्श आवश्यक पर्न थालेको बताइन् । मानसिक तनाबले यस्ता गम्भिर खालका अपराधमा सलंग्न हुने गरेको पाइएको उनी बताउँछिन् ।

‘तनावले के गरौ कसौ गरौ हुन्छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा आफ्नो रिस शान्त गर्न हत्या गर्न पनि पछि पर्दैनन् । परिवारको बातावरणका साथै संस्कारले पनि यस्ता घटना हुन थालेका छन् ।’

पोखरेलका अनुसार मानसिक तनावको अवस्थामा जस्तोसुकै कदम पनि उठाउन तयार हुने हुँदा यस्ता व्यक्तिलाई मनोपरामर्श आवश्यक हुन्छ ।

उनी भन्छिन्, ‘सामूहिक हत्याको मुख्य कारण नै मानसिक समस्या रहेको देखिन्छ । अब हरेक परिवारका सदस्यको गतिविधि नियालेर बेलैमा समाधान खोज्नुपर्ने बेला आएको छ । नत्र यसले विकराल रुप लिन थालिसकेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर