नेकपा एसलाई ६ प्रदेशमा दलको मान्यता, को-को बन्दैछन् संसदीय दलको नेता ? – Nepal Press

नेकपा एसलाई ६ प्रदेशमा दलको मान्यता, को-को बन्दैछन् संसदीय दलको नेता ?

काठमाडौं । नेकपा एमालेबाट विभाजित नेकपा एसका प्रदेशसभा सदस्यहरूले शुक्रबारदेखि नयाँ दलीय हैसियत पाएका छन् । अब प्रदेशसभा सचिवालयले उनीहरूलाई अलग संसदीय दलको मान्यता र सुविधासमेत दिनुपर्नेछ ।

प्रदेशसभा संसदीय दलले मान्यता पाएसँगै नेकपा एसका ६ वटा प्रदेशमा नेता चयन हुने भएका छन् । गण्डकीमा भने नेकपा एसको एकजना पनि सांसद नभएकाले त्यहाँ उक्त पार्टीको अस्तित्व रहने छैन ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । १४ सांसदसहित ठूलो दल बनेको हुनाले अन्य प्रदेशमा भन्दा त्यहाँ दलको नेता चयनमा पनि प्रतिस्पर्धा छ ।

दलको नेताका लागि तारा लामा तामाङ, दीर्घ सोडारी, माया भट्ट र पूर्णा जोशीले दावी गरे पनि सन्तुलनको हिसाबले तामाङलाई दलको नेता बनाउने तयारी नेकपा एसको छ ।

कन्चनपुरबाट निर्वाचित लामा अन्तिम समयमा थप सांसदसहित नेकपा एसमा सनाखत गर्न गएका थिए । उनी साबिक एमालेको जेठ २ अघिको कञ्चनपुर जिल्ला अध्यक्ष छाडेर नेकपा एसमा लागेका कारण पनि उनलाई दलको नेता बनाउने बताइएको छ ।

कर्णाली प्रदेशमा नेकपा एसका जम्मा तीनजना सांसद छन् । केन्द्रीय सदस्य समेत रहेकाले चन्द्रवहादुर शाही नेकपा एसको संसदीय दलको नेता बन्ने भएका छन् । प्रकाश ज्वालाको सांसद पद अदालतबाट अन्तरिम आदेशमार्फत खारेज भएकाले शाहीले नेतृत्व गर्नेछन् ।

लुम्बिनीमा नेकपा एसका एकजनामात्र सांसद रमा घर्ती छन् । त्यसैले त्यहाँ उनी स्वतः दलको नेता हुनेछिन् ।

वागमतीमा नेकपा एसका १३ जना सांसद छन् । ती मध्ये सबैभन्दा सिनियर भएका कारण राजेन्द्र पाण्डे सर्वसम्मत दलको नेता चयन हुने भएका छन् । उनी अष्टलक्ष्मी शाक्यलाई हटाएर मुख्यमन्त्री बन्ने तयारीमा समेत छन् ।

प्रदेश-२ मा नेकपा एसका १३जना सांसद छन् । दलको नेता यसअघि पनि सत्रुघन महतो रहेकाले उनले नै निरन्तरता पाउने सम्भावना रहेको प्रदेशसभा सदस्य मन्जु यादवले बताइन् ।

प्रदेश-२ मा नेकपा एस २ मन्त्रीसहित सरकारमा जाने तयारीमा समेत छ । महतो आफैं सरकारमा जान चाहन्छन् ।

प्रदेश-१ मा नेकपा एसका १० जना सांसद छन् । दलको नेतामा प्रतिस्पर्धा नभएको र सर्वसम्मत रुपमै राजेन्द्र राईलाई चयन गर्ने सम्भावना रहेको केन्द्रीय सदस्य तथा सांसद राजन राईले बताए ।

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका राई माधव नेपाल पक्षका प्रदेश-१ का अहिले सिनियर नेता हुन् । उनी दलको नेता हुनासाथ भीम आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी छ ।

राईलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन अन्य दलसँग पनि छलफल भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर