पीएनजीसँगको दोस्रो एकदिवशीय खेल आज – Nepal Press

पीएनजीसँगको दोस्रो एकदिवशीय खेल आज

काठमाडौं । कोरोना महामारीका कारण डेढ वर्षपछि शृंखला खेलेको नेपालले पपुवा न्युगिनीसँग दोस्रो एकदिवशीय क्रिकेट आज खेल्दैछ । नेपालले एकदिवशीय क्रिकेटमा पहिलोपल्ट दिन/रातमा खेल खेल्दैछ ।

पहिलो खेलमा दुई विकेटको जित हासिल गरेको नेपाल आजको खेल पनि जितेर शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । यो खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ ।

ट्वान्टी–२० विश्वकप र आईसीसी विश्व क्रिकेट लिग टूको तयारीमा रहेको पीएनजीले नेपाल र अमेरिकासँग २/२ खेलको शृंखला खेलेको हो । त्यसमध्येको अन्तिम खेल आज हुँदैछ ।

नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले ट्वान्टी–२० तर्फ सिंगापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवशीय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो ।

जुन नेपाली टिमका लागि नयाँ अनुभव हुनेछ । टिमका धेरै खेलाडीले डे नाइट खेलको अनुभव लिन पाएका छैनन् । त्रिकोणात्मक सिरिज हुने मैदानमा नै यो खेल हुनेछ ।

पछिल्लो पटक खुट्टाको चोटका कारण प्रशिक्षण नगरेका उपकप्तान दिपेन्द्रसिंह ऐरीले यो खेल गुमाउने पक्का छ । गुल्सन झा पनि खेल्ने निश्चित भएको छैन ।

ओमानको चर्को गर्मी, त्यसमा पनि दिउँसो हुने पहिलो खेल नेपाली खेलाडीका लागि अर्को चुनौती देखिएको छ । नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

नेपालले पीएनजीसँग अहिलेसम्म ५० ओभरको खेलमा पाँच पटक खेलेको छ । जसमा तीन खेल पीएनजीले जितेको छ भने दुई खेल नेपालको पक्षमा आएको छ । पहिलो पटक यी दुई टिम सन् २००५ मा विश्वकप छनोट अन्तर्गत खेलको थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *