डेब्यूट्यान्ट चम्किँदा नेपाल २–० ले अगाडि – Nepal Press

डेब्यूट्यान्ट चम्किँदा नेपाल २–० ले अगाडि

काठमाडौं । राष्ट्रिय टोलीमा डेब्यू खेलमै प्रीती राई र सबिता रानाले गरेका गोलसँगै बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले २–० को अग्रता बनाएको छ । दशरथ रंगशालामा जारी खेलको १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

विमला चौधरीले दायाँतर्फबाट दिएको लामो क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेकी सबिताको राष्ट्रिय टोलीमा पहिलो खेल निकै यादगार बन्यो । उनले ६ यार्ड बक्सभित्रबाट सुन्दर हेडर प्रहार गर्दै गोल गरेकी थिइन् ।

भ्रमणकारी बंगलादेशमाथि हाबी बनेको नेपालका लागि २३औं मिनेटमा अर्की डेब्यूट्यान्ट प्रीतीले दोस्रो गोल गरिन् । उमेर समूहको कप्तानी गर्दै राष्ट्रिय टोलीमा पहिलो पटक आइपुगेकी प्रीतीले सरु लिम्बुले दिएको पासमा शानदार गोल गरिन् ।

सेन्टर लाइन नजिकबाट सरुले दिएको पास रिसिभ गर्दै प्रीतीले १८ यार्ड बक्स बाहिरबाट सुन्दर गोल गर्न सफल भएकी थिइन् । वान् भर्सेज वानमा मौका पाएकी १६ वर्षीया प्रीतीले बंगलादेशकी गोलकिपर रुप्ना चक्मालाई बिट् गर्दै उत्कृष्ट गोल गरेकी थिइन् ।

नेपालको दबाबमा रहेको बंगलादेशका लागि ३५औं मिनेटमा कप्तान सबिना खातुनको पासमा मोसाम्मत सोप्नाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पोष्टको दायाँतर्फबाट बाहिरिएको थियो । त्यसबाहेक बंगलादेशले गोलका लागि सुन्दर मौका बनाउन सकेको छैन ।

एएफसी वुमेन्स एसियन कप छनोटको तयारीमा रहेका दुवै टोलीले अभ्यास स्वरुप आज र आइतबार दुई मैत्रीपूर्ण खेल खेल्दै छन् । उज्वेकिस्तानमा हुने एएफसी वुमेन्स एसियन कप २०२२ को छनोटमा नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्स र २१ मा हङकङसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *