प्रभुराम शर्मा आजबाट नयाँ प्रधानसेनापति – Nepal Press

प्रभुराम शर्मा आजबाट नयाँ प्रधानसेनापति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिए । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

समारोहमा रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिकारूपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैबाट औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उनलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी हुन् । नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजाअर्चना गर्नेछन् । उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदवहाली, रथीबृन्दलाई सम्बोधन र सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्षे कार्यकाल आजै सकिएको छ । 

महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाईल्याण्ड र पाकिस्तानबाट प्रतीरक्षा तथा बंगलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम प्राप्त गरेका छन् ।

युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशन अन्तरगत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका थिए ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर