श्रीमानको गोडाको पानी, नखाँदा के हानि ? – Nepal Press

श्रीमानको गोडाको पानी, नखाँदा के हानि ?

युगौ‌देखि मनाइँदै आएको तीज फेरि हाम्रो घर–आँगनमा आइसकेको छ । आज राति अबेरसम्म ‘दर’को रुपमा मीठो–मसिनो परिकार खाने र भोलि पतिको दीर्घायूको कामनासहित ब्रत बस्ने चलन छ ।

पतिलाई परमेश्वर मान्ने र पितृसत्ताको जयजयकार गरिने यो पर्व विगतदेखि वर्तमानसम्म उस्तै छ । रुप बदलिए पनि सार बदलिएको छैन । समय धेरै पर पुगे पनि चिन्तन बदलिँदो रहेनछ ।

बाहिर जतिसुकै समानताको चर्को–चर्को आवाज उठे पनि मन र मस्तिष्कभित्र बसेका चिन्तनहरु अनेक बहानामा बाहिर छरपस्ट हुँदा रहेछन् ।

तीजमा श्रीमानको गोडा धोएर पानी पिउने चलन अझसम्म जिउँदै छ । हिन्दू धर्ममा यो त सामान्य कुरा हो भन्ने गरिन्छ । श्रीमान–श्रीमतीबीच आपसमा प्रेम तथा आत्मीयता प्रदर्शन गर्न गोडा धोएर जल खाने प्रचलन रहेछ ।

यो परम्परा सायद हिन्दूको पनि आर्य खस जातिमा मात्र हुन्छ कि जस्तो लाग्छ । स्तम्भकारले आफ्नो परिवारमा न हजुरआमाले यस्तो गरेको देख्नुपर्यो, न आमाले ।

आमाले न आफुले त्यस्तो गरिन् न छोरीलाई यस्तो संस्कार सिकाइन् । न छुइ हुँदा छोइछिटो गरिन् न छोरीलाई छोइछिटो गर्न सिकाइन् । मात्र सफा हुन र आराम गर्न सिकाइन् ।

कसैले नुहाएको पानी शीरमा छर्केको र गोडाको पानीले नुहाउने गरेको पनि देखिन्छ, सामाजिक सञ्जालहरुमा । यो एउटा आस्था र परम्परा नै हो भनिन्छ । श्रीमानको गोडा धोएर पानी खाने परम्परा सदियौंदेखिको भएकाले धेरैलाई स्वीकार्य भएको हु्न सक्छ । तीजपछि गोडा धोएको पानी खानु श्रीमानप्रतिको उच्च सम्मान हो र विरोध गर्नेहरु संस्कारविरोधी हुन् भनेर चित्रण गर्ने गरिएको छ । तर त्यो होइन ।

हामीले हाम्रा पितृसत्तात्मक चिन्तनहरु हरेक क्षेत्रमा पाउने गर्छौं । घर भित्रदेखि घर बाहिरका धेरै क्षेत्रहरुमा र यो संस्कारले पुरुष बर्चस्वको जयजयकार हुन्छ । अहिले त झन् मज्जाले आरती नै भएको देखिन थालेको छ ।

तीजमा गोडा धुने सन्दर्भमा हामीकहाँ चार प्रकारका पुरुषहरु भेटिन्छन् । पहिलो– हाम्रो सदियौंदेखि चलिआएको संस्कार हो, खाउ न त भनेर गोडा तेर्साउने । दोस्रोे, गोडाको पानी पनि खान्छन् ? अहिलेको युगमा पनि कहाँ यस्तो गर्न मिल्छ भन्दै पन्छिने । तेस्रो– व्रत बसे पनि फलाहार खाएर बस, व्रत बसेर मेरो आयु लम्बिने होइन, स्वास्थ्य बिग्रेर तिम्रो चाहिँ आयु छोटिन सक्छ भनेर सम्झाउने । र, चौंथो– व्रत नबसे पनि सदियौंदेखि चलिआएको चलन हो, रातो सारी चाहिँ लगाउ है भन्ने ।

यसरी चार प्रकारको चिन्तन भएका पुरुषहरु पाइन्छन् । अहिले सामाजिक संजाल फेसबुकमै पनि दुईखाले पुरुषहरु देखिन्छन् । पहिलो– आफू बिवाहित हो कि अबिवाहित भन्ने जानकारी दिन नै हिच्किचाउने, श्रीमतीको फोटो सार्वजनिक नगर्ने । दोस्रो– श्रीमतीलाई खुशी राख्न बेलाबखत फोटो सार्वजनिक गर्ने ।

कसलाई कस्तो सहज लाग्छ त्यही गर्ने हो र गरिरहेका छन् । कति मानिसहरु वैवाहिक जीवनलाई नै विसर्जन गरेर एकल बसेका हुन्छन् । कोही पनि ब्यक्तिले आफ्नो हुँदाहुँदैको दाम्पत्य जीवन छुटाएर एकल हुन चाहेको हुँदैनन् । तर, कोही पनि व्यक्ति रहरले बेघर हुँदैनन् ।

गोडा धोएरै बसेका पनि कतिको दाम्पत्य जीवन टुक्रिएको देखिन्छ । गोडा नधोएका कतिको जीवन सरल र राम्रो पनि देखिन्छ । यसर्थ, श्रीमानको गोडाको पानी नखाँदैमा दाम्पत्य सम्वन्धमा केही हानि होला भन्ने लाग्दैन ।

हामी यो पितृसत्तात्मक समाजमा महिलामाथि मात्र हिंसा हुन्छ र त्यो पनि पुरुषले नै गर्छन् भन्ने मानसिकतामा छौं । यहाँ महिलाहरु हिंसामा परे भने समाचार बन्छ, तर पुरुषहरु पनि महिला हिंसामा परेका थुप्रै घटना भेटिन्छन् । तर ती सार्वजनिक हुँदैनन् ।

किनकि श्रीमतीको दबदबा सहेर बस्ने श्रीमानलाई समाजले हेयका दृष्टिले हेर्छ । जोइटिङ्ग्रेको संज्ञा दिन्छ । तर, श्रीमानको दबदबा सहेर बस्ने श्रीमतीलाई ‘पोइटिङ्ग्रे’ भनिँदैन । बरु, संस्कारी बुहारी, संस्कारी श्रीमती भनिन्छ ।

हामीले एकाइसौं सताब्दीको युगलाई समानताको युग बनाउनै पर्छ । यो पुरुषले महिलालाई र महिलाले पुरुषलाई हेप्ने, हिंसा गर्ने युग होइन ।

तसर्थ एकले अर्कालाई देखावटी मात्र होइन, पर्वमा मात्र होइन, सधैंभरी सम्मान गर्न सकौं । कसैलाई देखाउनको लागि आडम्बरी होइन, हृदयबाट नै प्रेम गरौं । अनि बन्ने छ समतामूलक समाज ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *