टीकटकमार्फत चरित्रहत्या बढ्दो, नेपालमा कार्यालय नहुँदा प्रहरीलाई समस्या – Nepal Press

टीकटकमार्फत चरित्रहत्या बढ्दो, नेपालमा कार्यालय नहुँदा प्रहरीलाई समस्या

काठमाडौं । चचित टीकटक स्टार स्मारिका ढकालले केही साताअघि श्रीमान्‌सँग डिभोर्स गरेको खबर सार्वजनिक भयो । त्यससँगै उनमाथि अनेक नकारात्मक टिका-टिप्पणीहरू हुन थाले ।

टीकटकमा चर्चित भएकै कारण श्रीमान्‌लाई छोडेकोजस्ता थुप्रै आरोपहरू उनले खेपिन् । आपत्तिजनक गालीगलौज गर्नेदेखि फोटो बिगारेर चरित्र हत्याको प्रयाससमेत भएपछि उनले प्रहरीमा उजुरी गर्ने चेतावनीसमेत दिएकी छन् ।

टीकटकमा केही दिन अमृता तामाङले आफ्नै नामको अकाउन्टमा आफ्नो फोटो अपचिरित युवकसँग जोडिएको देखिन् । उक्त फोटोको क्याप्सनमा आफूले ती युवकसँग भागेर विवाह गरेको लेखिएको थियो । दुई छोरीकी आमा अमृतालाई यो फोटोले निकै अप्ठ्यारोमा पार्‍यो ।

अमृताले मनोरञ्जनका लागि टीकटक त खोलेकी थिइन् । तर, उनकै नाममा खोलिएको यो अकाउन्ट भने नक्कली थियो । यो पोष्ट आएपछि विदेशमा बसेका श्रीमान्‌ले समेत उनलाई विभिन्न प्रश्न गरेर मानसिक तनाव दिन थाले । आफन्तले समेत फोन गरेर टर्चर दिएको उनी बताउँछिन् । अन्ततः उनले आफ्नो तस्बिर दुरुपयोग गरर चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

यी दुई प्रतिनिधि घटनामात्र हुन् । पछिल्लो समय नेपालको युवापुस्तामा टीकटक जति लोकप्रिय बनेको छ, त्यति नै यसले समस्याहरू पनि सिर्जना गरिरहेको छ । टीकटकमार्फत धेरैले गाली बेइज्जती सहनुपरेको छ ।

विद्यालय बन्द हुँदा धेरै बालबालिका टीकटकमा समय बिताउँछन् । यही मौकाको फाइदा उठाएर बालबालिकामाथि दुव्र्यवहार गर्ने, चरित्रहत्या गर्ने घटना पनि बढेको साइबर ब्यूरोले बताएको छ । युवायुवतीहरूको चरित्रहत्या गरिएको भनेर प्रहरीमा उजुरी दर्ता हुने क्रम बढेको छ ।

केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा आफनो चरित्रहत्या गर्न खोजिएको भन्दै उजुरी गर्नेको चाप बढी थियो । अहिले त्यो चाप टीकटकतिर सरेको प्रहरी अधिकारी बताउँछन् । खासगरी लकडाउनपछि टीकटकको प्रयोगकर्ता हवात्तै बढेका छन् । त्यससँगै यसको दुरुपयोग पनि बढेको छ । टीकटककै केहीको हातमा हतकडी लागेको छ भने कोही आत्महत्या गर्ने अवस्थामा समेत पुगेका छन् ।

उजुरीमा बढोत्तरी

साइबर ब्यूरोका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्रहत्या गरेको भन्दै ३ हजार ४५१ वटा उजुरी परेका थिए । यस्तै टीकटकमा चरित्रहत्या गरेको भन्दै ७० वटा उजुरी परेका थिए ।

यस आर्थिक वर्षको साउन महिनामा मात्रै फेकबुकको कारण ३३८ वटा र टीकटकका कारण १५ वटा उजुरी परेका छन् । ब्यूरोका अनुसार पछिल्लो समय फेकबुकसगँसँगै टीकटकको उजुरी लिएर आउनेहरूको संख्या बढेको छ ।

हालसम्मको उजुरी हेने हो भने फेसबुककै बढी देखिन्छ । ८९ प्रतिशत फेसबुकको छ भने बाँकी टीकटक र युट्यबको रहेको छ ।

सूचना नदिँदा कारबाहीमा समस्या

साइबर ब्यूरोले सामाजिक सञ्जालका उजुरी लिएर ब्यूरो नै धाउनुपर्ने बाध्यता हटाएको छ । अहिले साइबर ब्यूरोमा मात्र नभई नजिकको प्रहरी कार्यालयमा पनि यस्ता खालको उजुरी गर्न सकिन्छ ।

प्रहरी कार्यालयमा उजुरी गरेपछि ब्यूरोसम्म आइपुग्ने च्यानल छ । पीडितले इमेलमार्फत पनि उजुरी गर्नसक्ने व्यवस्था मिलाएपछि विदेशमा भएका नेपालीले पनि उजुरी गर्ने गरेका छन् । प्रमाणसहित निवेदन पठाएमा प्रहरीले एक्सन लिन्छ । घटना दर्ता गर्ने वितिकै उनीहरुलाई दर्ता नम्बर दिइन्छ ।

सम्बन्धित ठाउँमा अनुसन्धान भइसकेपछि पीडितलाई जानकारी दिने गरिएको छ । कार्यालय आउनैपर्छ भन्ने छैन ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको जस्ता उजुरी ब्यूरोमा आउने गरेता पनि पीडितले पूरा जानकारी नदिँदा कारवाही गर्न अप्ठ्यारो हुने व्यूरोका प्रहरी अधिकृतहरु बताउँछन् ।

एक अधिकारीले भने, ‘हामीले घटनाको प्रकृति कस्तो छ भन्ने हेरेर उहाँहरूलाई खबर दिन्छौ । तर, पीडितले पर्याप्त सूचना नदिँदा समस्या पर्ने गरेको छ ।’

कतिपयलाई भने उजुरी गर्नुपर्छ भन्ने जानकारी नै नभएको उनको भनाइ छ ।

‘कतिपय केसहरूमा भने पीडितले उजुरी दिन्छन्, पछि आफैं फिर्ता लिन्छन्,’ उनले भने ।

प्रविधिको गलत प्रयोगमा बालबालिका पनि फस्ने गरेको पाइएको छ । विद्यालय बन्द हुँदा सामानिक सञ्जालमा रमाएका बालबालिकाहरु झन् बढी पिडित हुन थालेका छन् ।

ब्यूरोको अनुसार बढी उजुरी गर्नेहरुमा १३ वर्षको उमेर समूहदेखि ३५ वर्षसम्मका छन् । प्रायजसो उजुरी लिएर महिलाहरू नै बढी आउँछन् । फेक आइडी बनाएर उसैको भिडियो अपलोड गरी त्यसलाई मोडिफाई गरेर राखिदिने जस्ता घटनाहरु बढेका छन् ।

साइबर ब्यूरो भन्छ – एप्सको कार्यालय नहुँदा समस्या

विभिन्न प्राविधिक झण्झटको कारण अपराधी सजिलै कारबाहीको भागीदार बन्न नसकेको स्वयम् प्रहरी अधिकृतहरू नै स्वीकार्छन् ।

साइबर ब्यूरोले नेपालमा टीकटकको कार्यालय नहुँदा कतिपय मुद्दाको लागि टीकटकको अफिसमा पत्र लेखेर पठाउने गरिएको छ । उजुरीहरूको ब्यूरो र सामाजिक सञ्जालको आधिकारिक कार्यालयको संयन्त्रबाट पनि अनुसन्धान गर्ने गरिएको ब्यूरोका वरिष्ठ उपरिक्षक एव प्रवक्ता नविन्द अर्यालले नेपाल प्रेसलाई बताए ।

प्रवक्ता अर्यालले भने, ‘हामीले हाम्रै संयन्त्रबाट पीडकलाई पत्ता लगाउँछौं र आवश्यक पर्‍यो भने टीकटकलाई पत्र पनि पठाउँछौ ।’

ब्यूरोबाट आधिकारिकरूपमा सूचना उपलब्ध गराइदिन माग गर्दै सामाजिक सञ्जालको कार्यालयमा पत्रचार गर्ने गरिएको छ ।

उनले भने, ‘त्यस्ता कतिपय उजुरीहरु टीकटकको अफिसमा पठाइदिने गरेको छौ । हामीले कस्तो खालको उजुरी हो भनेर बुझ्छौं । उजुरी गर्नेहरूले पनि आफूमाथि भएको दुव्र्यवहारको पूर्णविवरण खुलाउन नचाहँदा कारबाही गर्न समस्या भइराखेको छ ।’

ब्यूरोले विदेशमा भएको आरोपीलाई पक्राउ गर्न इन्टरपोलको सहयोग पनि लिने गरेको छ । सामाजिक सञ्जालमा कसैको चरित्रहत्या गरेको पाइएमा वित्तीय कारोबार ऐन २०६३ को परिच्छेद ९ को दफा ४७ अनुसार त्यस्ता व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन्छ ।

प्रवक्ता अर्याल भन्छन्, ‘त्यस्तो किसिमको केसलाई टेकओभर गर्छौ । र टीकटकसँग पत्राचार गरेर सूचना आइसकेपछि त्यो विषयको मुद्दा हेरेर सरकारी वकिलसँग समन्वय गरेर अगाडि बढ्छौं ।’

सामाजिक सञ्जाल फेसबुक टीकटक, युट्युब, इन्स्टाग्राम लगायतको सामाजिक सञ्जाल नेपालबाहिरबाट सञ्चालित छन् । ती एप्सहरुको कर्पोरेट अफिस नेपालमा छैन ।

उनी भन्छन्, ‘हामीले थप आधिकारिक सूचनाका लागि पत्राचार गर्छौं । तर, उनीहरूले समयमै जवाफ नपठाइदिँदा यदाकदा ढिलो हुन्छ ।’

चरित्रहत्या गर्नेहरूलाई कारवाहीका लागि यो आर्थिक वर्षमा करिब ८९ वटा मुद्दा दर्ता भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर