लुम्बिनीमा दुई जिल्लाका सबै जनप्रतिनिधि एमालेमै, कुन जिल्लाका कतिले रोजे नेकपा एस ? – Nepal Press

लुम्बिनीमा दुई जिल्लाका सबै जनप्रतिनिधि एमालेमै, कुन जिल्लाका कतिले रोजे नेकपा एस ?

रुपन्देही । लुम्बिनी प्रदेशमा एमाले विभाजनको असर न्यून छ । १२ जिल्ला रहेको प्रदेशका दुई जिल्लामा एमालेबाट जितेका कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेनन् ।

एकीकृत समाजवादी रोज्नेमा वडा सदस्यहरु धेरै छन् । प्रदेशभर तीन स्थानीय तहका उपप्रमुखले मात्रै एकीकृत समाजवादी रोजेका छन् ।

कुन जिल्लामा कति जनप्रतिनिधिले रोजे नेकपा एस ?

रुपन्देहीमा ३७० मध्ये सात जनाले एमाले छाडे

रुपन्देहीका १६ स्थानीय तहमा एमालेबाट निर्वाचित ३ सय ७० जनप्रतिनिधिमध्ये ७ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

रुपन्देहीका १६ स्थानीय तहमा निर्वाचित ८४५ जनप्रतिनिधिमध्ये नेकपा एमालेबाट ३७० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एकीकृत समाजवादी रोज्नेमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमादेवी काफ्लेसहित बुटवल उपमहानगर पालिकाका ३ जना वडा सदस्य, तिलोत्तमा नगरपालिकाका १ जना वडा सदस्यले सोमबार सनाखत गरेका थिए ।

मंगलबार देवदह नगरपालिका वडा नं ७ का महिला सदस्य सरस्वती पोखरेल र दलित महिला सदस्य सितादेवी विकले पनि नेकपा एसमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दाङमा उपाध्यक्षसहित २१ वडा सदस्यले छाडे एमाले

दाङमा स्थानीय तहका २१ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । ती मध्ये एक गाउँपालिका उपाध्यक्ष, एक वडाध्यक्ष र अन्य सबै वडा सदस्य हुन् ।

गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी, घोराही ४ का वडाध्यक्ष भीमबहादुर सार्कीसहित १७ जना वडा सदस्यले एमाले छाडेका हुन् ।

त्यसैगरी जिल्ला समन्वय समिति सदस्य सावित्रा रिजाल र तिलाकुमारी बुढाले पनि एकीकृत समाजवादी रोजेका छन् । एमालेबाट दाङमा २ सय ९ जना निर्वाचित भएका थिए ।

बाँकेमा एक वडाध्यक्षसहित ११ जना समाजवादीमा

बाँकेमा १ वडाध्यक्षसहित ११ जनप्रतिनिधि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । बैजनाथ गाउँपालिका वडा नं ४ का वडाध्यक्ष र १० जना अन्य वडा सदस्यसहित ११ जनाले एमाले छोडेका हुन् ।

पश्चिम नवलपरासीमा एक वडाध्यक्षबाहेक सबै एमालेमै

पश्चिमनवलपरासीमा एक जना मात्र जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । नेकपा एसको पक्षमा सनाखत गर्नेमा बर्दघाट नगरपालिका–९ का वडाअध्यक्ष चन्द्रकान्त चापागाई छन् ।

वडा नं. २ का सदस्य कृष्णप्रसाद पाण्डेले सुरुमा सनाखत गरे पनि पछि फिर्ता लिएका छन् ।

जिल्लामा ७ स्थानीय तह छन् । तीमध्ये नेकपा एमालेका एक मेयर, दुई उपमेयर तथा एक–एक जना गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित एक सय २५ जना जनप्रतिनिधि छन् ।

अर्घाखाँचीमा उपाध्यक्षसहित ६ जना नेकपा एसमा

अर्घाखाँचीमा पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम र ५ नम्बर वडा सदस्यसहित ६ जना एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएका छन् ।

पाणिनिबाट उपाध्यक्षसहित एक वडा सदस्य, शितगंगाबाट २ वडा सदस्य, सन्धिखर्कबाट १ वडा सदस्य र मालारानीबाट १ वडा सदस्य समाजवादीमा सनाखत गरेको सो पार्टीका नेता रामबहादुर चौहानले बताए ।

प्युठानमा उपमेयरसहित ७ जनाले छाडे एमाले

प्युठानमा ६ जना जनप्रतिनिधिले एमाले छाडेका छन् । प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्य, वडा सदस्य चित्रकली नगरकोटी र राजेन्द्र केसीले एमाले छाडेर नेकपा एस रोजेका छन् ।

यसैगरी सरुमारानी गाउँपालिकाको कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले एकीकृत समाजवादी रोजेका हुन् । नौबहिनी गाउँपालिका १ का २ जना वडा सदस्यले पनि एकीकृत समाजवादी रोजेका छन् ।

रोल्पाका पाँचजना नेकपा एसमा

रोल्पामा १ वडाध्यक्ष र ४ जना वडा सदस्यसहित ५ जना एमालेबाट समाजवादीमा लागेका छन् ।

यहाँबाट एमालेको साबिका जिल्ला अध्यक्ष हरि घर्ती एकीकृत समाजवादीमा लागेपनि अन्य धेरै जनप्रतिनिधि भने एमालेमै रहेका छन् ।

त्यसैगरी पूर्वीरुकुमका १७ जना जनप्रतिनिधि रहेको एमालेबाट एक वडाध्यक्ष र ३ वडासदस्य गरी ४ जना समाजवादीमा लागेका छन् ।

बर्दियाका ६ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।

पूर्वीनवलपरासी र गुल्मीमा एमालेबाट चुनाव जितेका कोही पनि जनप्रतिनिधि नेकपा एसमा लागेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर