ओलीको आरोप- सत्ता गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका र देश विखण्डन चाहने तत्व छन् – Nepal Press

ओलीको आरोप- सत्ता गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका र देश विखण्डन चाहने तत्व छन्

सभामुख गठबन्धनको मतियार भएको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका र विखण्डकारी तत्व भएको आरोप लगाएका छन् ।

बुधबार एमाले संघीय संसदीय दलको बैठकलाई बानेश्वरमा सम्बोधन गर्दै ओलीले यस्तो गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने दावी गरे ।

‘यस गठबन्धनभित्र लोकतन्त्रविरुद्ध हतियार उठाएका तत्व छन्,’ ओलीको भनाइ छ, ‘यस गठबन्धनभित्र राष्ट्र विखण्डन गर्न चाहने, साम्प्रदायिक तत्व छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्ने तत्व छन् । यस्ता तत्वबाट लोकतन्त्रको रक्षा हुँदैन ।’

ओलीले सभामुखले सभामुखको गरिमा सुहाउँदो काम नगरेको समेत टिप्पणी गरे। ‘सभामुखको गरिमा उहाँले कायम गर्नु भएको छैन’, उनले भने, ‘सभाखुका टेबलबाट षड्यन्त्र हुन्छ । उहाँले गठबन्धनको मतियारको रूपमा काम गर्नुभयो ।’

उनले राजनीतिक रुपमा विभेद गरेको समेत आरोप लगाए। ओलीले भने, ‘हाम्रा साथीहरू धेरे ठाउँमा निस्कासनमा परेका छन् । तर, ह्वीप उल्लघंन गर्नेलाई हामीले कारवाही गर्दा यसरी अड्काइन्छ । यो धेरै ठाउँमा प्रकट भएको छ ।’

उनले छापामार शैली र धोकापूर्ण ढंगले मध्यरातमा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको आरोप लगाए। अध्यादेशको निर्माणका कानूनमन्त्रालयलाई छलेर कपटपूर्ण ढंगले काम भएको ओलीको दावी थियो ।

‘अध्यादेश तयार गर्नलाई कानून मन्त्रालयको परामर्श पनि चाहिन्छ,’ उनले भने, ‘मध्यरातमा अधिवेशन अन्त्य भयो । भोलिपल्ट बिहान अध्यादेश आयो ।’

ओलीले थपे, ‘अध्यादेशको मस्यौदा त मन्त्रालयले तयार गर्ने हो । मस्यौदा तयार गर्ने भनेको बूढानीलकण्ठ, कोटेश्वर वा खुमलटारमा होइन । मन्त्रालयमा हो । अत्यन्तै कपटपूर्ण तरिकाले अध्यादेश ल्याइयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर