विष्णु पौडेल भन्छन्– एमाले विभाजन भएको होइन, काँचुली फेरेको हो – Nepal Press

विष्णु पौडेल भन्छन्– एमाले विभाजन भएको होइन, काँचुली फेरेको हो

रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले विभाजन नभइ पार्टीले काँचुली फेरेको बताएका छन् । आज बुटवलमा प्रेस चौतारी रूपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले विभाजन नभएर केही लोभीपापी बाहिरिएर पार्टीले काँचुली फेरेको बताएका हुन् ।

‘केही अवसर खोज्ने साथीहरु चर्न जानुभएको छ, यसले पार्टीलाई केही फरक पर्दैन’, उनले भने ।

पौडेलले माधव नेपालको पार्टीलाई विचार र दर्शनका आधारमा नभइ लोभ र अवसरका लागि केही व्यक्तिले समूह बनाएको आरोप लगाए । ‘यो भद्दा अवसरवाद हो । उहाँहरू अवसरका लागि जनताको बहुदलीय जनवादसमेत त्यागेर जानुभएको छ’ उनले भने, ‘यसैमा विद्यावारिधि गरेका साथीहरुलाई ग्लानीसमेत भएन, एमालेमा फर्केर आउन नचाहेका कारण जबज छोडेर जानुभएको हो, उहाँहरुको अन्तै विलिन हुने सोच यसबाट प्रष्ट हुन्छ ।’

एमाले फुटाउन ल्याएको अध्यादेश संसदबाट पारित गर्न उनले चुनौती दिएका छन् । पौडेलले भने– हिम्मत छ भने एमाले विभाजनका लागि ल्याइएको अध्यादेश संसदबाट पारित गर्नुहोस् ।

पूर्वअर्थमन्त्री पौडेलले आफूले ल्याएको बजेटमाथि भइरहेको संशोधन अपरिपक्व भएको बताउँदै कुनै खोट भए देखाउन आग्रह गरे । ‘बजेटमा के समस्या छ, आउनुस्, बहस गरौं, कुन विषयमा असहमति हो ?’ उनले प्रश्न गरे ।

उपमहासचिव पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताए । सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको बताए ।

पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताए । ‘पहिले यो विषय संसदमा आओस्, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भने, ‘बरु सरकार नै यसबारेमा रंगिबिरंगी छ ।’

पौडेलले नेकपा एमाले एक सिंगो र बलियो पार्टी भएर अगाडि बढ्ने बताएका छन् । अहिले छुटेर गएकालाई पनि समावेश गर्न खोजे पनि उनीहरु नआएको बताउँदै उनले आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाउँदा पनि लज्जाबोध नहुनेलाई एमालेमा बस्न ग्लानी भएको बताए ।

उनले संसद् बचाउन विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्ने जवाफ आउनु अनुचित रहेको बताउँदै ओलीलाई विश्वासको मत दिएको भए संसद् र संसद्को सम्मान कायम रहने बताए । उनले परमादेशको आधारमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको बताउँदै आफैंका कुरा मिलाउन नसक्दा सरकारले कुनै देखिने काम गर्न नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर