दार्चुला बाढीपीडितलाई हेलिकप्टरबाट खाद्यान्न, सय परिवारलाई सुरक्षित स्थानमा सार्न सुझाव – Nepal Press

दार्चुला बाढीपीडितलाई हेलिकप्टरबाट खाद्यान्न, सय परिवारलाई सुरक्षित स्थानमा सार्न सुझाव

कैलाली । भदौ १३ गते आएको बाढीले प्रभावित भएका दार्चुला दुहुका नागरिकहरूलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याइएको छ ।

निजाङ खोलामा आएको बाढीले एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । बाढीमा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । घटनाबाट करिब एक सय बढी नागरिक विस्थापित भएका छन् ।

उनीहरूलाई अहिले प्रदेश सरकारको पहलमा स्थानीय तह र जिल्ला प्रशासनले हेलिकप्टरबाट खाद्यान्न पुर्‍याइरहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

‘पहिलो चरणमा दुहूमा खाद्य संकट नहोस् भन्नको लागि ८० क्वीन्टल बढी चामल पठाएको छ,’ मन्त्री जोशीले नेपाल प्रेसलाई भनिन्, ‘अहिले नेपाली सेनाको हेलिकप्टरले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न पुराइरहेको छ । प्रदेश सरकारले यस अघि नै विपद् व्यवस्थापनको लागि रकम दार्चुला पठाइसेको थियो ।’

प्रदेश सरकारले पठाएको रकमबाट अहिले स्थानीय तहले खाद्यान्न खरिद गरेर बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको छ ।

बाढीबाट दूहू वडा नम्बर १ र ५ का ठूलो क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक अनुसार अहिले ३० घर पूर्ण रुपमा क्षति भएको छ भने ७० घर बस्न नमिल्ने अवस्थामा छ ।

बाढीले ५ वटा झोलुंगे पुल र एउटा मोटरेवल पुल बगाएको छ । ५ वटा लघु जलविद्युत आयोजना, दुई बिद्यालय र वडा नम्बर १ को कार्यालयमा पनि बाढीले क्षति पुराएको छ ।

घटना पछि विस्थापित भएका एक सय परिवारलाई सुरक्षित स्थलमा राख्ने बिषयमा पनि छलफल सुरु भएको मन्त्री जोशीले बताइन् ।

‘प्रमुख जिल्ला अधिकारीले सय परिवार त्यहाँ बस्न नसक्ने भन्दै प्रतिवेदन तयार गर्दै हुनुहुन्छ’ मन्त्री जोशीले भनिन् ‘हामी उहाँलाई व्यवस्थापन गर्ने विषयमा छलफल सुरु गरेका छौँ । ’

अहिले बन्थली, नरुली, गुना, सतखोला र सिमारका एक सय परिवार आफन्त तथा विद्यालयमा बसिरहेका छन् । उनीहरुको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेन्ट लगायतका बन्दोबस्तका सामाग्रीहरू समेत पठाइएकोमन्त्री जोशीले बताइन् ।

‘पहिलो चरणमा अनुगमनको नाममा हेलिकोप्टरमा पुग्नु भन्दा उहाँहरूलाई आवश्यक पर्ने समाग्रीहरु पुराउन हामीले ध्यान दिएका थियौं,’ उनले भनिन्, ‘अब उहाँहरूलाई दिगो व्यवस्थापन गर्न पहल गर्छौं । ’

भूमिसम्बन्धी अधिकार प्रदेश सरकारसँग नभएको हुँदा यस बिषयमा संघीय सरकारसँग समन्वय गर्ने उनले बताइन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पनि एक सय परिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताए ।

‘उहाँहरू आफ्ना घरमा फर्किन सक्ने अवस्था छैन कतिको त घर पनि बाढीले बगायो’ उनले भने ‘विस्थापित सबैको लागि अन्यत्र जग्गा उपलब्ध गराउनु पर्ने देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर