सेलेव्रिटी तीज : घरमै दर खानेदेखि भर्चुअल गेट-टुगेदरसम्म – Nepal Press

सेलेव्रिटी तीज : घरमै दर खानेदेखि भर्चुअल गेट-टुगेदरसम्म

महामारीले बिथोल्यो कलाकारको तीज

काठमाडौं । कोरोनाभाइरस महामारीले चाडपर्व मनाउने स्टाइलमा परिवर्तन आएको छ । भीडभाड गर्ने, दर खाने, नाचगान गर्नेजस्ता विगतका शैलीमा यसपटक बदलाव देखिएको छ । सीमित संख्यामा उपस्थित भएर नाचगान गर्नेदेखि भर्चुअलरुपमा तीज मनाउने ट्रेन्ड कोरोना महामारीपछि देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले भीडभाड नगरी तीज मनाउन आग्रह गरेको छ । महामारीले गर्दा पर्व मनाउने विगतको शैली खलबलिएको छ । कुनैबेला नेपाली फिल्म र संगीत क्षेत्रमा धुमधामपूर्वक तीज मनाउने, दर खाने र नाचगान गर्ने कार्यक्रम आयोजना हुन्थे । तीजमा फिल्म रिलिज गर्न निर्माताहरुबीच होड हुन्थ्यो । तर, महामारीले गर्दा यसबेला तीज सुस्ताएको छ ।

फिल्म क्षेत्रको यसवर्षको तीज भर्चुअलदेखि सीमित आयाममा खुम्चिएको छ । कुनैबेला आफ्नै घर र ब्यांक्वेटमा तीज कार्यक्रम आयोजना गर्ने सेलेव्रिटीसँग अहिले कुनै योजना छैन । विगतका तीजमा करिश्माको गोदावरीस्थित घरमा भव्य जमघट हुन्थ्यो । सेलेव्रिटी भेला भएर दर खान्थे र हर्षोल्लास मनाउँथे । यसपटक करिश्मासँग न त तीजको योजना छ न त तीज सेलिव्रेसन गर्ने परिस्थिती पनि ।

नेपाल प्रेससँग कुरा गर्दै कलाकारले आफूहरुको तीज योजना सामान्य रहेको र घरपरिवारमै सीमित भएर मनाउने बताएका छन् । कतिपयले भर्चुअलरुपमा मनाउने योजना बुनेका छन् । कोरोना कहरमा तीजको रौनकतमा उत्साह आउन नदिन कलाकारले सानोतिनो गेट-टुगेदर पनि बोलाएका छन् । तीज मनाउनेबारे केही सेलेव्रिटीले नेपाल प्रेससँग कुरा गरेका छन् ।

करिश्मा मानन्धर

यसअघि तीजमा करिश्माले गोदावरीस्थित घरमा कलाकार र नजिकका साथीहरुलाई बोलाएर तीज मनाउँथिन् । प्रायः पर्वमा उनको घरमा कलाकारको जमघट हुन्थ्यो । यसवर्ष भने उनले तीज मनाउने कुनै योजना बनाएकी छैनन् । भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तयारीमा करिश्मा जुटेकी छिन् । बिजनेसको जिम्मा छोरी कविता र घरको काम पति विनोदलाई दिएर करिश्मा अहिले परीक्षा तयारीमा छिन् । तीजको दिनमा आफू निकट साथीभाइलाई बोलाउने र दर खाने उनको तयारी छ ।

दीपाश्री निरौला

महामारीको कारण घरपरिवारसँगै तीज मनाउने दीपाश्रीको योजना छ । विराटनगरबाट उनका बुवा र दिदी काठमाडौं आइपुगेकाले यसपटक घरमै रहेर मनाउने दीपाको तयारी छ । नेपाल प्रेससँग कुरा गर्दै उनले यसपाली भर्चुअल माध्यमबाट तीज मनाउने बताइन् । ‘पशुपतिनाथको दर्शन गरेर तीज मनाउने योजना गरिरहेकी छु । पहिला तीज आउनु अगाडि नै दर खाने कार्यक्रम आयोजना गरिन्थ्यो भने यस वर्ष भर्चुअलमा सीमित हुनेछौं’ दीपाश्रीले बताइन् ।

वर्षा शिवाकोटी

कोरोना महामारीले गर्दा वर्षाले तीजको कुनै योजना बनाएकी छैनन् । घरमा बसेर आफन्तसँग भेट्घाट गरेर तीज मनाउने उनको योजना छ । ‘विगतको जस्तो भेटघाट गर्ने समय पनि छैन । त्यसकारण कतै नगई परिवारसँग बसेर सेलिब्रेट गर्ने योजना रहेको छ’ उनले भनिन् ।

टीका प्रसाईं

तीज मनाउने तयारी नगरे पनि परिवारसँग दर खाने, व्रत बस्ने र आफन्तसँग भेटघाट गर्ने तयारीमा गायिका टीका छिन् । ‘धेरैजनासँग भेटघाट गर्ने योजना छैन । कोरोना महामारीले गर्दा टाढा जान सक्ने अवस्था पनि छैन । जो जहाँ छौं त्यही बसेर भर्चुअल माध्यमबाट कुराकानी गरेर तीज मनाउने योजना छ’ नेपाल प्रेससँग उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर