भू-माफियाबाट मेयरले फर्काएको कमलपोखरी- मन बहलाउने गन्तव्य (तस्बिरहरु) – Nepal Press

भू-माफियाबाट मेयरले फर्काएको कमलपोखरी- मन बहलाउने गन्तव्य (तस्बिरहरु)

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-८ बोडे नजिकै रहेको कमलपोखरी आसपासमा बिहान, बेलुकी स्थानीयको ठूलो जमघट हुने गर्दछ। ‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’का लागि स-परिवार अहिले यो पोखरी आसपासमा जाने गर्दछ्न ।

कमलपोखरी बोडेका स्थानीय मात्रै होइन अन्यत्रबाट आएका र यस क्षेत्रमा बसोबास गर्दै आएकाहरुका लागि अहिले घुमफिर गर्नेहरुका लागि एउटा आर्कषक गन्तव्य को रुपमा विकास भइरहेको छ ।

कमलपोखरी र नजिकै रहेको कुमारीपार्कमा अहिले बिहान र बेलुकी टहल्न आउने मात्रै होइन विभिन्न गितका म्युजिक भिडियाे सुटिङ पनि हुने गर्छ । मध्यपुरथिमी नगरपालिकाले पराम्परागत पोखरी र ऐतिहासिक धार्मिक स्थलहरुको संरक्षण सुरु गरेपछि अहिले कमलपोखरीको मुहार फेरिएको छ र यसको चर्चा पनि सुरु भएको छ ।

मध्यपुरथिमी नगरपालिका बोडेमा रहेको कमलपोखरी-१५ रोपनी जग्गामा फैलिएको छ । पञ्चायती समयमा पोखरी संरक्षणको जिम्मा पाएकाहरुले नै पोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा विक्री गरेपछि पोखरी लथालिंग भएको थियो ।

मध्यपुर थिमी नगरपालिकामा २०७४ को स्थानीय चुनावबाट जनप्रतिनिधि आएपछि भने सार्वजनिक जग्गाको संरक्षणको सुरुवात भयो । अहिले यो पोखरी सार्वजनिक नै भएको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

यसरी बिक्री भयो कमलपोखरीको जग्गा

२०३२/०३३ सालमा कमलपोखरी नजिकै रहेको कुमारी मन्दिर संरक्षण र त्यसको रेखदेखको जिम्मा स्थानीय कान्छी पोडेलाई दिइएको थियो । मन्दिर र पोखरी सरसफाईको जिम्मा दिए पनि भू-माफियाहरुको मिलेमतोमा कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा नक्सापास समेत बनाएर विक्री भएको मेयर श्रेष्ठले जानकारी दिए ।

भू-माफियाहरुले विभिन्न व्यक्तिलाई उक्त जग्गा विक्री गर्दै गर्दा अन्तिममा मनाङका ग्याल्पो गुरुङको नाममा कमलपोखरीको जग्गा कायम भएको स्थानीय बताउँछन् । कमलपोखरीको कित्ता नम्बर-१ को १५ रोपनी ९ आना जग्गा भू-माफियाहरुले व्यक्तिको नाममा बिक्री गरेपछि त्यतीबेला बोडे र नगदेशका स्थानीयले विरोध गरे पनि फितलो कानूनी व्यवस्थाका कारण स्थानीयको आवाज नसुनिएको बोडेका स्थानीय प्रभुनारयण श्रेष्ठले बताए ।

कुमारी मन्दिरको सरसफाई गर्दै आएकी कान्छी पोडेनीलाई भू-माफियाहरुले प्रलोभनमा पारेर २०५१ सालमा मनाङका ग्ल्याल्पो गुरुङ,तेन्जी शेर्पा, जद्योना गुरुङको नाममा पोखरीको जग्गा कायम भएको श्रेष्ठले बताए ।

पोखरीको जग्गा व्यक्तिको नाममा आएपछि जग्गाधनीहरुले पोखरीमा माटो ल्याएर भर्न खोज्दा स्थानीयले प्रतिवाद गरे । ‘धेरै पटक माटो ल्याएर यहाँ भर्न खोजे तर हामी सबै मिलेपछि उनीहरु भागे’ श्रेष्ठले विगत सम्झँदै भने, ‘अहिले मेयर मदनसुन्दर आएपछि पोखरीको संरक्षण भएको छ ।’

व्यक्तिको नाममा गएपछि पोखरीमा बस्ती बसाल्न डोजर लिएर आएकाहरुलाई आफूहरुले लखेटेको उनले बताए ।

स्थानीयतहको निर्वाचनमा एमालेका मदन सुन्दर श्रेष्ठ मेयर निर्वाचित भएपछि पोखरीको जग्गा सार्वजनिक गर्न माग गर्दै उनी आफैं अदालत गए । भक्तपुर जिल्ला अदालतले २०७५ मा पोखरीको जग्गा सार्वजनिक नै भनेर फैसला गरेपछि तत्कालै बजेट राखेर पोखरीको संरक्षण सुरु गरिएको मेयर श्रेष्ठले जानकारी दिए ।

जिल्ला अदालतले पोखरीको जग्गा सार्वजनिक नै भएको फैसला गरे पनि भू-माफियाहरुले उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरेपछि स्थानीयको साथ लिएर आफूले आन्दोलन नै गर्नुपरेको मेयर बताउँछन् ।

अदालतले पोखरीको संरक्षण कार्य नरोक्नु भनेर समेत आदेश दिएपछि स्थानीयको समेत सहभागितामा अहिले पोखरी संरक्षणअन्तिम चरणमा पुगेको मेयर श्रेष्ठले बताए ।

मध्यपुरथिमी नगरपालिकाले कमलपोखरी संरक्षण र त्यसको सुन्दरताको लागि अहिलेसम्म १ करोड बढी रकम खर्च गरिसकेको छ । पोखरीको छेउमा हिडडुल गर्न सजिलो होस भनेर फुटपाथ बनाइएको छ । यो फुटपाथमा अहिले ढलान गरे पनि यो आर्थिक वर्षमा खाली खुट्टाले समेत हिड्न मिल्ने गरेर इट्टा बिछ्याउने मेयर श्रेष्ठले जानकारी दिए ।

पोखरीको बाँकी काम पूरा गर्नका लागि यो वर्ष ६५ लाख बजेट विनियोजन भएको छ । पोखरीको फुटपाथमा सबैलाई हिड्न सजिलो होस भनेर फराकिलो बनाइएको मेयर श्रेष्ठले बताए ।

पोखरीको मध्यभागमा ८ फिट गहिराई रहेको र किनारमा ३/४ फिट मात्रै गहिराई रहेकाले कोही पोखरीमा खस्दा पनि केही नहुने गरेर पुननिर्माण गरिएको मेयर श्रेष्ठले जानकारी दिए ।

ऐतिहासिक,धार्मिक एवं साँस्कृतिक महत्व बोकेको पोखरीको संरक्षणपछि अब डुंगा संचालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा मध्यपुरथिमी नगरपालिका बनाउने योजना रहेको मेयर श्रेष्ठले जानकारी दिए ।

वर्षाको समयमा पोखरीमा पर्याप्त पानी जम्मा हुने भए पनि हिउँदमा पनि पोखरीको सुन्दरतालाई कायम नै राख्नका लागि पोखरी नजिकै तिन वटा डीप बोरिङ खनिएको उनले बताए ।

१५ पोखरी पुननिर्माण, ८ वटा काम सम्पन्न

मध्यपुरथिमी नगरपालिका भित्र धार्मिक र सास्कृतिक महत्व झल्काउने पराम्परागत २५ पोखरीहरु भए पनि त्यसको संरक्षण नहुदा नाम मात्रैको पोखरी थियो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि भने अहिले नगरपालिका भित्र रहेका २५ वटा त्यस्ता पोखरी मध्ये आठ पोखरीको पुन निर्माण सम्पन्न भएपछि अहिले पोखरीको सुन्दरता बढेको छ ।

भक्तपुर जिल्ला पोखरी नै पोखरीको जिल्ला भएपनि त्यसको संरक्षण हुन सकेको थिए मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘हामी निर्वाचित भएर आएपछि पहिलो प्राथामीकता नै पराम्परागत पोखरी संरक्षणको सुरुवात गरेका थियौं ।’

मध्यपुर थिमी नगरपालिकाले स्थानीयसँग मिलेर नगर भित्र रहेका कमलपोखरी सहित विष्णुकुण्ड निगु कयकुता,पलिस्वाँ कुमारी,दक्षिण क्वाछे पोखरी को संरक्षण सम्पन्न गरेको छ । त्यसैगरी खपलाँ, खाँसी, नछुटोल, कोलाखु वामुने, गुँला, देवु पोखरीको संरक्षण भइरहेको मध्यपुर थिमी नगरपालिकाले जानकारी दिएको छ । ऐतिहासिक पोखरी संरक्षणका लागि नगरपालिकाले १० करोड बढी खर्च गरेको छ ।


प्रतिक्रिया

One thought on “भू-माफियाबाट मेयरले फर्काएको कमलपोखरी- मन बहलाउने गन्तव्य (तस्बिरहरु)

  1. दुःख गर्ने जनता, जस लिने मेयर । तनमनधन दिएर लाग्ने जनताकाे याेगदान फेरि पनि बालुवामा पानी हाले जस्ताे देखियाे । याे मुद्दा मेयरले भन्दा पनि स्थानीय जनताले गर्दा जितेकाे हाे। हनुमन्ते खाेला फर्काउने बाचा गरेर चुनाव जितेका जनप्रतिनिधि नै सर्वाेच्च अदालतकाे निर्णय विपरीत खाेला फर्काउने कार्यमा लाग्ने । जनताकाे विश्वासमा कुथाराघाट गर्ने, तर जनताले फर्काएकाे कमलपाेखरीकाे जस अाफूले लिने खाेज्ने । मध्यपुरकाे बिडम्वना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *