सुर्खेतका २१८ जनप्रतिनिधिमध्ये ११ जना नेकपा एसमा, पालिका प्रमुख र उपप्रमुख एमालेमै – Nepal Press

सुर्खेतका २१८ जनप्रतिनिधिमध्ये ११ जना नेकपा एसमा, पालिका प्रमुख र उपप्रमुख एमालेमै

सुर्खेत । नेकपा एमाले विभाजन भएसँगै प्रादेशिक राजधानी समेत रहेको सुर्खेतका केही वडा अध्यक्ष र सदस्य नेकपा एसमा खुलेका छन् । प्रदेश निर्वाचन आयोगको कार्यालयमा ११ जनप्रतिनिधिलेसनाखत गरेको कार्यालय प्रमुख दुर्गा प्रसाद चालिसेले बताए । उनका अनुसार वीरेन्द्रनगरबाट तीन वडाअध्यक्ष र पाँच सदस्यसहित आठ जना, भेरीगंगा नगरपालिकाका एक जना सदस्य र चौकुने गाउँपालिकाका एक जना वडाअध्यक्षले सनाखत गरेका छन् ।

एमालेले स्थानीय तहको निर्वाचनमा ४३ ओटा वडामा विजय प्राप्त गरेको थियो । तीन ओटा स्थानीय तहमा प्रमुख उपप्रमुख जितेको एमाले विभाजन हुँदा यो समाचार तयार पार्दासम्म चार वडा अध्यक्ष र सात सदस्यहरुले मात्रै सनाखत गरेका छन् । सुर्खेतमा एमालेले सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र लेकबेशी नगरपालिकामा विजय हात पारेको थियो । सिम्ताका अध्यक्ष कविन्द्र कुमार केसी,उपाध्यक्ष चन्द्रकला शाही, लेकवेशीका नगरप्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्ति छन्तेल, चौकुनेका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना पनि एमालेमै बसेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल पनि एमालेमै बसेकी छिन् । नयाँ दलमा वीरेन्द्रनगर नगरपालिकाका तीन ओटा वडाअध्यक्ष प्रवेश गरेका छन् । नयाँ दलमा सनाखत गरि सहभागि भएका वडा अध्यक्षमा वडा नं. ८ का थम्मप्रसाद गौतम, वडा नं. १० का रत्न बुढा र वडा नं. १२ का लोकप्रसाद चालिसे रहेको श्रोतले जानकारी दियो ।

अन्य वडा सदस्यमा वडा नं. दुइका टोपबहादुर रास्कोटी, नौ का जीवन ढकाल, १० का सुनिता चौधरी, वडा नं. १२ का रामकुमार दर्लामी, १५ कि लक्ष्मी ज्ञवालीले आयोगको कार्यालयमा गइ सनाखत गरेका हुन । सुर्खेतमा एमालेका जनप्रतिनिधिको संख्या २१८ रहेको एमाले सुर्खेतका नेता कुलमणि देवकोटाले बताए ।

नेकपा समाजवादीका अध्यक्ष मोहन बडुवालले अपेक्षा गरेअनुसार जनप्रतिनिधिले सनाखत नगरेको बताए । ‘यद्यपी भोली हाम्रो लागि समय बाँकी छ । तलको कार्यकर्ता हाम्रै पक्षमा छन् । केहि जनप्रतिनिधिले मात्रै सनाखत गर्नु भएको छ ।’ उनले भने, ‘पर्सीमात्रै हामी सबैको नाम सार्वजनिक गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर