७ प्रजिअलाई गृहमन्त्रीको टेलिफोनमार्फत निर्देशन : उद्धार तथा राहतमा बिशेष ध्यान दिनु – Nepal Press

७ प्रजिअलाई गृहमन्त्रीको टेलिफोनमार्फत निर्देशन : उद्धार तथा राहतमा बिशेष ध्यान दिनु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बाढी, पहिरो र डुवानमा परेकालाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् । उनले सोमबार विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा भएका घटनाबारे टेलिफोनमार्फत जानकारी लिने क्रममा यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरेर रातभर लगातार परेको वर्षातका कारण आएको पहिरो र बाढीको असरबारले जानकारी लिएका छन् । प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका १० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रजिअ सापकोटाले ७० वर्षका गौरी थापा र पाँच वर्षका हिमाल रोकाको मृत्यु भएको जानकारी गृहमन्त्रीलाई गराएका छन् । घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भिमकुमारी रोका घाइते भएका छन् । मनबहादुरको अवस्था गम्भीर रहेको र उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अस्पतालसम्म पु¥याएको उनले बताए ।

त्यस्तै मन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षातपछिको अवस्थाबारे जानकारी लिएका छन् । प्रजिअ अधिकारीले अहिलेसम्म जिल्लामा ३ सय ८५ घर टहरा डुवानमा परेको, २ सय ३२ जनाको उद्धार गरिएको र एउटा झोलंगे पुलमा असर पु¥याएको जानकारी मन्त्रीलाई गराएका छन् । मुख्यगरी जिल्लाका १० स्थान डुवानमा परेको जानकारी मन्त्री खाणलाई प्रजिअ पराजुलीले गराएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई पनि टेलिफोन गरेर नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका छन् । कारागारमा आइतबार अपरान्ह चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाणले त्यसबारे चासो राख्दै थप जानकारी लिएका हुन् । प्रजिअ निरौलाले चौकिदारको विरोधमा कैदीबन्दीले नारावाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाणलाई गराएका छन् । ‘नख्खु कारागारमा देखिएको अवस्थाबारे मन्त्रीज्यूले जानकारी लिनुभएको थियो,’ प्रजिअ निरौलाले भने, ‘केही अवस्था असहज देखिएको थियो । अहिले सहमतिमा सामान्य भइसकेको छ ।’

मन्त्री खाणले निरन्तरको वर्षातका कारण आएको बाढी, पहिरो र भएको डुवानको असरबारे कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग पनि जानकारी लिएका छन् । ति प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थाबारे जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सबै प्रजिअलाई गृहमन्त्रीले प्राकृत्तिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका भीम कामत विरामी भई अस्पताल लैजाने क्रममा मृत्यु भएको पनि गृहमन्त्री खाणलाई जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर