अर्थमन्त्रीको दबाबमा सेयर कर्जासम्बन्धी निर्णय राष्ट्र बैंकले फिर्ता नलिने – Nepal Press

अर्थमन्त्रीको दबाबमा सेयर कर्जासम्बन्धी निर्णय राष्ट्र बैंकले फिर्ता नलिने

काठमाडौं । पछिल्ला केही दिनमा नेपालको सेयर बजारमा निकै ठूलो पहिरो आयो । सेयर लगानीकर्ताका नेताहरूले यसका लागि राष्ट्रबैंकलाई जिम्मेवार ठहर्‍याउँदै गभर्नरको राजीनामासमेत माग्न भ्याए । यही लहैलहैमा अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई फोन गरे ।

राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिमार्फत सेयर धितोकर्जासम्वन्धी नीतिमा केही फेरबदल गरिएको थियो । त्यसैको नकारात्मक प्रभाव सेयरबजारमा परेको ठूला लगानीकर्ताले दावी गरेका छन् । उनीहरूले राष्ट्रबैंकलाई सो नीति सच्याउन दबाब दिइरहेका छन् । यही मेसोमा गर्भनरलाई अर्थमन्त्रीले फोन गरेर सेयर बजारलाई प्रभावित तुल्याउने निर्णय नलिन निर्देशन दिएका थिए ।

तर, अर्थमन्त्रीले विषय नबुझी हचुवामा दिएको निर्देशन कार्यान्वयन नहुने राष्ट्र बैंक उच्च स्रोत बताउँछ ।

‘अर्थमन्त्रीले दबाब दिँदैमा निर्णय फिर्ता हुँदैन,’उच्च स्रोतले भन्यो, ‘न त केही लगानीकर्ताले हो-हल्ला गरेको भरमा हामी ब्याक हुन्छौं । पर्याप्त गृहकार्य गरेर नै हामीले सेयर कर्जासम्बन्धी नीतिमा परिमार्जन गरेका हौं ।’

लामो गृहकार्यपश्चात लिएको यो निर्णयले दीर्घकालमा आम सेयर लगानीकर्ताको हित हुने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । साथै, बैंक तथा वित्तीय संस्थाको पक्षबाट हेर्दा पनि यो निर्णय सही रहेको उनको जिकिर छ ।

हिजो १०८ अंकले बजार घट्दा आज लगानीकर्ता अन्योलमा थिए । तर, बजारमा कारोबार हुनसाथ उच्च अंकले बढ्यो र पुनः ओरालो लाग्न पुग्यो । अर्थमन्त्रीले गभर्नरलाई निर्देशन दिएको समाचार बाहिरिनासाथ आज पुनः बजार उच्च अंकले बढेको छ । हिजो १४७ अंकसम्मको गिरावट आएर पुनः सम्हालिदैं १०८ अंकको गिरावटमा बन्द भएको बजार आज १६१.९४ अंकले बढेको छ ।

‘केही व्यक्तिले मात्र करोडौ र अर्बौंको सेयर धितोकर्जा ओगट्ने प्रवृत्ति छ । त्यो पनि एकपटक नभएर पटक-पटक गरेर लिने भएकाले यस्तो कर्जा सीमित व्यक्तिको कब्जामा गयो । अनि, उनीहरूले नै ठूलो परिमाणमा सेयर लगानी गरेर बजारमा आफ्नो नियन्त्रण कायम गरिरहेका छन्,’ ती अधिकारीले भने ।

सेयरबजारमा हालीमुहाली गर्न नपाएर केही लगानीकर्ता राष्ट्रबैंकको विरोधमा उत्रेको उनी बताउँछन् । साना लगानीकर्ताहरू भने यो नीतिबाट खुसी भएको उनको दावी छ ।

सीमित व्यक्तिले बैंकबाट ठूलो रकम सेयर धितो कर्जा लिएर बजारमा लगानी गर्ने गरेका छन् । राष्ट्रबैंकले यसमा अंकुश लगाउन खोजेको हो । स्रोतका अनुसार अहिले उक्त प्रावधानलाई कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले एकीकृत निर्देशन तयार पारिरहेको छ ।

‘एकीकृत निर्देशन तयार पारिरहेको बुझेर केही लगानीकर्ता नियोजितरूपमा नै त्यसलाई रोक्न सकिन्छ कि भन्ने आशयले आन्दोलनमा उत्रिएका हुन् । तर, कुनै हालतमा पनि राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि हट्दैन,’ स्रोतले भन्यो ।

राष्ट्र बैंकले कुनै लगाम नलगाइकन स्वतन्त्रपूर्वक छोड्ने हो भने कुनै दिन सेयर बजार उठ्नै नसक्ने गरी पछारिने राष्ट्र बैंकका अर्का अधिकारी बताउँछन् ।

अहिले राष्ट्र बैंकले लगाएको सेयर धितोकर्जाको सीमाभन्दा बढी कारोबार गर्नेको संख्या एक सयभन्दा केही बढी छ । तर, सेयर बजारमा ५/६ लाख लगानीकर्ताले प्रत्यक्ष दोस्रो बजारमा लगानी गरेका छन् । तिनै १०० को हाराहारी लगानीकर्ताले समग्र सेयर बजारलाई चाहेको दिशामा हिँडाउने क्षमता राख्छन् ।

‘साना लगानीकर्ताले आत्महत्या गर्ने दिन आउँन सक्छ, त्यसलाई रोक्नका लागि कर्जामा सीमा लगाएका हौं,’ उनले भने ।

अहिले राष्ट्र बैंकले लगाएको सेयर धितोकर्जाको सीमाभन्दा बढी कारोबार गर्नेको संख्या एक सयभन्दा केही बढी छ । तर, सेयर बजारमा ५/६ लाख लगानीकर्ताले प्रत्यक्ष दोस्रो बजारमा लगानी गरेका छन् । तिनै १०० को हाराहारी लगानीकर्ताले समग्र सेयर बजारलाई चाहेको दिशामा हिँडाउने क्षमता राख्छन् ।

हिजो १०८ अंकले बजार घट्दा आज लगानीकर्ता अन्योलमा थिए । तर, बजारमा कारोबार हुनसाथ उच्च अंकले बढ्यो र पुनः ओरालो लाग्न पुग्यो । अर्थमन्त्रीले गभर्नरलाई निर्देशन दिएको समाचार बाहिरिनासाथ आज पुनः बजार उच्च अंकले बढेको छ । हिजो १४७ अंकसम्मको गिरावट आएर पुनः सम्हालिदैं १०८ अंकको गिरावटमा बन्द भएको बजार आज १६१.९४ अंकले बढेको छ । यो अंक अहिलेसम्मकै उच्च वृद्धि हो ।

गत आर्थिक वर्षमा सेयर धितोकर्जा दोब्बरले बढेपछि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोकर्जामा सीमा तोक्दै कडाइ गरेको हो । अहिलेको व्यवस्थाअनुसार सेयर धितोकर्जा प्रतिऋणी कुल १२ करोड र वित्तीय संस्थाबाट ४ करोड रूपैयाँसम्म मात्र लिने व्यवस्था छ ।

गभर्नरले लाखौंको लगानीलाई जोखिम पारेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । आजमात्रै पूँजीबजार विकास संघर्ष समितिलगायत अन्य लगानीकर्ताले गभर्नरको राजीनामा माग गर्दै राष्ट्र बैंकअघि प्रदर्शन गरे ।

सेयर विश्लेषक मुक्ति अर्यालले ५० प्रतिशत मार्जिन कर्जा हुनुपर्नेमा जोड दिए । ‘अर्बौंको लगानी गरेका लगानीकर्तालाई १२ करोडसम्म मात्र ऋण लिन पाउने भनिएपछि बजारमा ठूलो उतारचढाव आएको छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग पसिंघलगायतले सेयर कर्जाको कडाइलाई लिएर विरोध जनाएका छन् । तर, गभर्नर महाप्रसाद अधिकारी सेयर धितोकर्जाले उद्योग तथा व्यवसायका लागि लिने कर्जालाई कुनै असर नपार्ने बताउँछन् ।

अहिले सेयर धितोकर्जामा १८० दिनको औसत मूल्यका आधारमा ऋण दिनुपर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत अर्थिक वर्षको जेठसम्ममा मार्जिन प्रकृतिका कर्जा ८७.६ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर