प्रदेशसभामा नेकपा एसको शक्ति २३ प्रतिशत-प्रदेश २ र सुपमा एमालेभन्दा ठूलो, गण्डकीमा नील (सूचीसहित) – Nepal Press

प्रदेशसभामा नेकपा एसको शक्ति २३ प्रतिशत-प्रदेश २ र सुपमा एमालेभन्दा ठूलो, गण्डकीमा नील (सूचीसहित)

काठमाडौं । प्रदेशसभा सदस्यले विभाजित दल रोज्न पाउने एक दिन बाँकी रहदा नेकपा एमालेबाट निर्वाचित ५३ जनाले नेकपा एस रोजेका छन् । सात प्रदेशमा एमालेबाट निर्वाचित २३३ प्रदेशसभा सदस्यमध्ये माधव नेपाललाई ५४ जनाले साथ दिएका हुन् ।

दल रोज्न पाउने समय अझै एक दिन बाँकी छ तर अब यो संख्यामा सर्किट ब्रेक लागेको छ । प्रदेश २ मा ढुलमुल रहेका २ जना सुदूरपश्चिममा ४ जनाले अन्तिम घडीमा नेकपा एस रोजेसँगै अब एमाले छाड्ने प्रदेशसभा सदस्यको संख्यामा सर्किट लागेको छ ।

संघीय संसदमा एमालेका १५५ मध्ये ३० जनाले नेकपा एसमा सनाखत गर्दा करिब २० प्रतिशत सांसद पुगेका थिए भने प्रदेशसभामा करिब २३ प्रतिशतले एमाले छाडेका छन् । स्थानीय तहमा भने यो संख्या निकै कम हुने देखिन्छ ।

एमालेलाई प्रदेशसभामा सबैभन्दा क्षति प्रदेश २ र सुदूरपश्चिममा भएको छ भने गण्डकीमा एकजना पनि नेकपा एसमा सनाखत गर्न गएनन् । लुम्बिनीमा एकजनाले मात्र एमाले छाडेका छन् ।

एमालेबाट विभाजित नेकपा एस प्रदेश २ र सुदूरपश्चिममा एमालेबाट ठूलो दल बनेको छ । वागमती र प्रदेश १ मा एमालेको सरकार ढाल्ने हैसियत नेकपा एसले बनाएको छ भने कर्णालीमा यसअघि नै एमालेलाई सत्तामा जानबाट नेकपा एसले रोकिसकेको थियो ।

१० बुँदे कार्यन्वयनसँगै माधव नेपाल छाडेर एमालेमै बसेका मध्यमार्गी धारका नेताका कारण एमाले प्रदेश १ र वागमतीमा ठूलो क्षतिबाट जोगिएको छ । प्रदेशसभा सदस्यका कारण सरकार ढले पनि संगठनमा एमालेलाई क्षति कम भएको छ ।

संघीय सांसद भन्दा प्रदेश सांसद धेरै नेकपा एसमा समाहित हुनुको एउटा कारण अब सबै प्रदेशमा सो पार्टीले मन्त्री पाउने भएर पनि हो । दोस्रो कारण चुनावका बेला केपी ओलीले संघीय संसदमा आफू निकट धेरैलाई टिकट दिएपछि माधव नेपाल पक्षले प्रदेशमा टिकट पाउँदा उनीनिकटको संख्या बढ्यो ।

यदि मध्यमार्गी नेताहरू पनि विभाजनमै सहभागी हुन्थे भने यो संख्या बढेर करिव ३५ प्रतिशत पुग्ने थियो । मध्यमार्गी नेताका कारण प्रदेश १ मा कम्तीमा ९ जना, वागमतीमा कम्तीमा १० जना, गण्डकीमा १ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा कम्तीमा ३ जना रोकिएका छन् ।

प्रदेश १

प्रदेशसभामा एमालेका ५१ जना सांसद थिए, विभाजनपछि नेकपा एसमा १० जना गएका छन् । भीम आचार्य र योगेश भट्टराई एमालेमै रहेका कारण ९ जना प्रदेशसभा सदस्य नेकपा एसमा जानबाट रोकिएका छन् ।

त्यस्तै आचार्य र भट्टराई एमालेमै बस्दा ताप्लेजुङ, उदयपुर, सुनसरी, तेह्रथुम र ओखलढुंगामा अध्यक्ष पनि माधव नेपाल समूह छाडेर एमालेमा रोकिएका छन् भने स्थानीय तहमा समेत एमालेलाई फाइदा भएको छ ।

प्रदेश २

प्रदेश २ मा प्रदेशसभातर्फ एमालेलाई क्षति भएको छ । नेकपा एसमा १३ जना सांसदले सनाखत गर्दा एमालेमा ८ जनामात्र बाँकी रहेका छन् । तर, स्थानीय तहमा भने नेकपा एसतर्फ कम जनप्रतिनिधिमात्र खुलेका छन् ।

नेकपा एमाले विभाजनमा नजाने मध्यमार्गी नेताहरूको प्रभाव प्रदेश २ मा भने देखिएन । हिजो माधव नेपाल समूहमा जो जो थिए उनीहरू सबै नेकपा एसमा समाहित भएका छन् ।

वागमती

वागमती प्रदेशमा नेकपा एसले अष्टलक्ष्मी शाक्यको सरकारलाई अल्पमतमा पारिसकेको छ । ५६ जनामध्ये १३ जना प्रदेशसभा सदस्यले नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

मध्यमार्गी धारको प्रभाव भने यो प्रदेशमा देखिएको छ । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अरुण नेपाललगायतका नेता एमालेमै रहँदा सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, काठमाडौं, ललितपुर, सिन्धुलीलगायतका जिल्लामा नेकपा एसमा जानबाट धेरै नेता कार्यकर्ता र जनप्रतिनिधि रोकिएका छन् ।

गण्डकी

नेकपा एमाले विभाजनको सबैभन्दा कम असर गण्डकीमा परेको छ । गण्डकी प्रदेशसभामा २७ जना सांसद रहेको एमालेका एकजना पनि नेकपा एसमा गएनन् । विगतमा माधव नेपाल समूहमा रहेका ईन्द्रलाल सापकोटासमेत एमालेमै बसेपछि गण्डकी प्रदेशसभामा नेकपा एसको प्रतिनिनिधत्व नहुने भएको छ ।

साविक जेठ २ को एमाले र त्यसपछिको नेकपा हुँदाका एकजना पनि जिल्ला अध्यक्ष नेकपा एसमा गएनन् । स्थानीय तहमा जनप्रतिनिधि पनि नेकपा एसमा सनाखत गर्न अत्यन्तै न्यूनमात्र गएका छन् ।

लुम्बिनी

नेकपा एमालेका सबैभन्दा धेरै स्थायी कमिटी सदस्य रहेको लुम्बिनीमा घनश्याम भुसाल, गोकर्ण विष्ट, युवराज ज्ञवालीलगायतका नेता एमालेमै बसेपछि धेरै जनप्रतिनिधि र नेता कार्यकर्ता नेकपा एसमा जानबाट रोकिएका छन् ।

३७ जना प्रदेशसभा सदस्यमध्ये मन्त्री बन्न पाउने भएपछि एकजना रमा घर्तीमात्र नेकपा एसमा सनाखत गर्न गएकी छन् । माधव नेपाल पक्षका अर्का सांसद विष्णु पन्थी भने एमालेमै रोकिएका छन् ।

कर्णाली

माधव नेपाल पक्षको सबैभन्दा राम्रो प्रभाव भएको मानिने कर्णालीमा प्रदेशसभा सदस्यमध्ये ४ जनाले यसअघि नै फ्लोर क्रस गरेर पद गुमाइसकेका छन् । थप तीनजनाले सनाखत गरेर नेकपा एस रोजेपछि अब एमालेको संख्या १३ मा झरेको छ ।

कर्णालीका जिल्ला अध्यक्ष र स्थानीय जनप्रतिनिधिहरू भने कमैमात्र माधव नेपाल पक्षमा उभिएका छन् ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा माधव नेपालको शक्ति भीम रावलको भन्दा बढी देखियो । प्रेम आलेले उनलाई साथ दिएका कारण नेकपा एस एमालेभन्दा ठूलो पार्टी बन्न सफल भएको छ ।

एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये १४ जनाले नेकपा एस रोजेका छन् । संघीय संसदका ७ जना लिएर ओली छाडेका आलेले प्रदेशसभामा पनि नेकपा एसलाई एमालेभन्दा ठूलो बनाउन कम्तीमा ४ सांसद थपेका छन् ।

सुदूरपश्चिममा भीम रावलका कारण नेकपा एसमा जानबाट ३ जनामात्र रोकिएका छन् ।

नेकपा एस रोज्ने प्रदेशसभा सदस्यहरू

प्रदेश १

१. राजेन्द्र राई

२. राजन राई

३. पदमकुमारी गुरुङ

४. सरिता थापा

५. सुनिता चौधरी

६. उपेन्द्र घिमिरे

७. कृष्णकुमारी राई

८. गणेश काङवाङ

९. खिनु लङ्वा लिम्बु

१०. सावित्री रेग्मी

प्रदेश २

१. शत्रुधन महतो

२. अशोक यादव

३. प्रमोद यादव

४. मदनसेन श्रीवास्तव

५. नागेन्द्र यादव

६. गोविन्द न्यौपाने

७. रवीन्द्र बैठा

८. मञ्जु यादव

९. हसिना खातुन

१०. बेची लुङ्गेली

११. डिल्ली उप्रेती

१२. सुन्दर विश्वकर्मा

१३. सीता गुरुङ

वागमती

१. राजेन्द्र पाण्डे

२. मुनु सिग्देल

३. वसुन्धरा हुमागाईं

४. लक्ष्मण लम्साल

५. राजेन्द्रमान श्रेष्ठ

६. पार्वती सिलवाल

७. ईन्द्रमाया गुरुङ

८. माधव पौडेल

९. वसन्त मानन्धर

१०. रमा आले मगर

११. कुसुमकुमार कार्की

१२. कृष्ण खनाल

१३. मीना नेपाल ज्ञवाली

गण्डकी

शून्य

लुम्बिनी

१. रमा घर्ती

कर्णाली

१. चन्द्रबहादुर शाही

२. देवी वली

३. पदम रोकाय

सुदूरपश्चिम

१. पूर्णा जोशी

२. कुलवीर चौधरी

३. सुशील बुढाथोकी

४. लालबहादुर खड्का

५. माया भट्ट

६. चुनकुमारी चौधरी

७. अमर साउद

८. मना साउद

९. दुर्गा विक

१०. बलबहादुर सोडारी

११. तारालामा तामाङ

१२. दीर्घ सोडारी

१३. प्रकाश रावल

१४. माया बोहरा तामाङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर