सेयरबजारमा असामान्य उछाल, १६२ अंकले बढ्यो नेप्से – Nepal Press

सेयरबजारमा असामान्य उछाल, १६२ अंकले बढ्यो नेप्से

काठमाडौं । हिजो किर्तिमानी अंकले घटेको सेयर बजारले आज फेरि नाटकीयरुपमा असामान्य उछाल लिएको छ । एकै दिन नेप्से १६१.९४ अंकले बढ्दा बजारमा सकारात्मक सर्किटब्रेक नै लगाउनुपर्यो । यो अहिलेसम्मकै सबैभन्दा ठूलो अंकको वृद्धि भएको लगानीकर्ताले बताएका छन् ।

हिजो एक सय ८ अंकले सेयर बजारमा गिरावट आएको थियो । आज बजार खुल्दा नेप्से २८१८ बिन्दूमा थियो भने बन्द हुँदा २९८०।७८ विन्दुमा पुगेको छ । यो ५।७४ प्रतिशतको वृद्धि हो । अहिलेसम्म एकै दिन यति ठूलो अंकको वृद्धि भएको थिएन ।

आज कारोबार भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ । ५० भन्दा बढी कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश फाइनान्स कम्पनी र हाइड्रोपावर छन् ।

आज सबै समूह उप-सूचक उच्च अंकले बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ९.९२ प्रतिशतले बढेको छ । यसैगरी हाइड्रोपावरको ९.११, फाइनान्स समूहको ९.११ प्रतिशत, अन्य समूहको ८.३८ प्रतिशत, लगानी समूहको ६.८३ प्रतिशतले बढेको छ । आज ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.२ प्रतिशतले बढ्न पुगेको छ ।

राष्ट्र बैंकले सेयर धितोकर्जाको सिमा परिवर्तन गरेपछि सेयरबजारमा उथलपुथल आएको विश्वास गरिएको छ । आज अर्थमन्त्री जनार्दशन शर्माले राष्ट्रबैंकका गभर्नरलाई बजारलाई प्रभावित तुल्याउने गरी ल्याइएको नीति फिर्ता गर्न निर्देशन दिएका छन् । त्यसको प्रभाव बजारमा परेको हुन सक्ने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *