जेठ २ मा फर्कियो रामेछाप एमाले, आनन्दले शान्तिलाई सुम्पिए अध्यक्षको जिम्मेवारी – Nepal Press

जेठ २ मा फर्कियो रामेछाप एमाले, आनन्दले शान्तिलाई सुम्पिए अध्यक्षको जिम्मेवारी

मन्थली । नेकपा एमाले रामेछाप २०७५ जेठ २ अघिको अवस्थामा फर्किएको छ । प्रदेशसभा सदस्य समेत रहेका शान्ति प्रसाद पौडेल माधव नेपाल समूह छाडेर एमालेमै बस्ने भएपछि उनी अध्यक्षमा पुनर्बहाली भएका छन् ।

नेकपा एकीकरणपछि माओवादीले अध्यक्ष पाउँदा पौडेल सचिव भएका थिए । सर्वोच्चको फैसलाले एमाले ब्युँतिए पनि पुस ५ पछि साविक नेकपाको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरिया चुनिएसँगै एमालेको नेतृत्व उनीहरुकै हातमा थियो ।

पौडेल एमालेमै क्रियाशील भएसँगै सोमबार बसेको पदाधिकारी बैठकले १० बुँदे सहमतिअनुसार पार्टीका जिल्ला तथा स्थानीय संरचनाहरुलाई अघि बढाउने निर्णय गरेको जिल्ला अध्यक्षबाट सचिवको जिम्मेवारीमा फर्किएका आनन्द श्रेष्ठले जानकारी दिए ।

सोमबारबाटै शान्ति पौडेल एमाले अध्यक्षको जिम्मेवारीमा फर्किएका छन् । जेठ २ अघिका जिल्ला इन्चार्ज देवशंकर पौडेल नेकपा एसमा लागेका कारण जिल्ला इन्चार्जको जिम्मेवारीमा भने कैलाश ढुंगेलकै निरन्तरता भएको छ ।

ढुंगेलको उपस्थितिमा बसेको बैठकले भदौ २६ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको छ । अब एमाले जिल्ला अध्यक्ष पौडेल, उपाध्यक्ष प्रेम तामाङ, सचिव आनन्द श्रेष्ठ र उपसचिव झम्क कँडेल बहाल भएका छन् ।

रामेछापबाट केन्द्रीय सदस्य देवशंकर पौडेल, मन्थलीका मेयर रमेश बस्नेत र एकजना वडाध्यक्षसहित केही व्यक्ति नेकपा एसमा सामेल भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर