ओटीटी प्लेटफर्ममा नेपाली फिल्म : न सरकारलाई कर, न निर्मातालाई भर – Nepal Press

ओटीटी प्लेटफर्ममा नेपाली फिल्म : न सरकारलाई कर, न निर्मातालाई भर

सेन्सरबिनै रिलिज गरिन्छन् स्वदेशी र विदेशी फिल्म

काठमाडौं । कोरोनाभाइरसको पहिलो लहरमा धक्का खाएको नेपाली फिल्म उद्योगलाई दोस्रो लहरले उठ्नै नसक्ने गरी प्रहार गर्‍यो । निर्माण, वितरण र प्रदर्शनको चक्रमै कोभिड महामारीले प्रहार गरेपछि कहिलेदेखि यो उद्योग महामारी अगाडिको परिस्थितिमा फर्किन्छ भन्ने कुराको टुंगो छैन ।

१७ महिना लामो समय फिल्म हेर्ने परम्परागत संस्कृति ठप्प हुँदा दर्शकले फिल्म हलको विकल्प खोज्नु स्वभाविक थियो । यस्तोमा डिजिटल प्लेटफर्मले मौलाउने अवसर पाए । यस क्रममा ओटीटी, डीटीएच र इन्टरनेटका अन्य माध्यममा दर्शकको आकर्षण बढ्यो । फलस्वरुप पछिल्लो समय केही नेपाली फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज गरिएका छन् ।

यतिबेला इन्टरनेट र स्मार्टफोनको पहुँच भएका अधिकांश नेपाली नागरिकसँग नेटफिल्क्स, स्पटीफाइ, अमेजन प्राइमजस्ता ओभर दी टप प्लेटफर्मको खाता छ । घरमै बसेर विश्व फिल्मको स्वाद चाख्न अभ्यस्त बनेका छन् दर्शक । तर, यो प्रक्रियामा एकातर्फ सरकारले ठूलो राजश्व गुमाइरहेको छ भने अर्कोतर्फ सेन्सरबिनै स्वदेशी तथा विदेशी फिल्महरु दर्शकसम्म पुगिरहेका छन् ।

महामारीमा मौलाएको ओटीटी र डीटीएच प्लेटफर्मतर्फ नेपालका फिल्म निर्माताहरुको पनि मोह बढेको छ । कतिपयले यही प्लेटफर्ममार्फत फिल्म रिलिज गरेका छन् । हल खुल्ने भएपनि व्यवसायिक लगानी र नाफा कमाउने परिस्थिति सामान्य हुने नदेखेपछि केही फिल्म निर्माता अहिले पनि ओटीटी रिलिजमै अडिग छन् ।

महामारीको पहिलो र दोस्रो लहरमा ओटीटी मौलाए पनि यसले दर्शकमा डिजिटल विभाजन ल्याएको आरोप कतिपय निर्माताको छ । यस्तो विभाजनले दर्शकीय वर्ग विभाजन हुने र भविष्यमा उद्योगलाई नै घाटा पुग्ने तर्क उनीहरुको छ । तर, ओटीटीले अभिव्यक्ति स्वतन्त्रता, कम लगानी र सिनेम्याटिक अभ्यासलाई बढावा दिने अन्य कतिपय निर्माताको छ ।

फिल्म भर्सेस ओटीटीको यो बहस अहिले पनि फिल्मकर्मीबीच चलिरहेको मात्र छैन, फिल्म रिलिजको नयाँ प्लेटफर्मलाई लिएर हुने साइवर सुरक्षा, लगानीको सुनिश्चितता र दर्शकीय सन्तुष्टिका प्रश्न पनि छेडिएका छन् ।

लकडाउनमै खुले, लकडाउनमै बन्द भए

मोबाइल सेवा प्रदायक एनसेलले सुरुमा ल्याएको आइफिल्क्स ओटीटी सेवाप्रति सुरुमा फिल्म निर्माताको आकर्षण थियो । बक्सअफिसमा हिट फिल्ममाथि ठूलै मूल्य लगानी गरेर एनसेलले केही फिल्मको डिजिटल राइट खरिद ग¥यो । २०७५ मा एनसेलले आइफिल्क्ससँग सहकार्य गरेको थियो ।

निर्माताले पनि एनसेलको पैसाको लोभमा फिल्मको राइट्स प्रदान गरे । जात्रै जात्रा, यात्रा, प्रसाद, क्याप्टेन, छक्का पञ्जा २, कबड्डी कबड्डी कबड्डी लगायतका सुपरहिट फिल्म आइफिल्क्समा प्रदर्शन भैसकेका छन् । तर, फिल्म हलमा जस्तो उछाल कमाइ यी फिल्मले ओटीटीमा गर्न सकेनन् । विडम्वना जेठ २४ गते आइफिल्क्सले सेवा बन्दको घोषणा गर्‍यो ।

एनसेलले एक वर्ष नपुग्दै सेवा बन्द गर्नु ओटीटी प्लेटफर्मप्रति ठूलो सेटब्याक थियो । ओटीटीमा एनसेल असफल भएपछि केही फिल्म निर्माताहरुको अगुवाइमा अन्य केही प्लेटफर्म त आए तर, तिनीहरु दिगोरुपमा अगाडि बढ्न सकेनन् ।

ओटीटीमा कन्टेन्ट धेरै नराखेसम्म र आफ्नै कन्टेन्ट नआएसम्म सब्सक्राइबर बढाउन सकिँदैन । हरेक पटक पैसा तिरेर दर्शकले फिल्म हेर्न झन्झट मान्नुहुँदो रहेछ ।’ यसकारण उनी आफ्नै कन्टेन्ट नभएसम्म दर्शकलाई प्लेटफर्ममा आकर्षित गर्न नसकिने निधोमा पुगेकी छिन् ।

अभिनेत्री ऋचा शर्मा र उनको टीमले निकै हल्ला गरेर चलचित्र घर नामक ओटीटी प्लेटफर्म लन्च गरे । लन्च भएको एकवर्ष नबित्दै अहिले ऋचाको ओटीटी सेवा गुमनामजस्तै छ । झन्डै ३० हजारले मात्र यो एपमा रजिस्टर गरेका छन् । तर, रजिस्टरको एक चौंथाइ पनि सब्सक्राइब भएको छैन । रजिस्टर मात्र गर्ने तर, सब्सक्राइब नहुने भएपछि यो प्लेटफर्म अहिले घाटामा छ ।

ऋचाले दीपकराज गिरीको समूहसँग सेयरिङमा फिल्म लिने सहमति गरेकी थिइन् । जसअनुसार गिरीको आमा सरस्वती मूभिजलाई पहिलो महीनामै दुई लाख रुपैयाँ दिएकी थिइन् । जुन उद्देश्यले ऋचाले ओटीटीले लन्च गरिन्, त्यसले गति लिन सकेन ।

ऋचा स्वयमको अनुभव छ : ओटीटीमा कन्टेन्ट धेरै नराखेसम्म र आफ्नै कन्टेन्ट नआएसम्म सब्सक्राइबर बढाउन सकिँदैन । हरेक पटक पैसा तिरेर दर्शकले फिल्म हेर्न झन्झट मान्नुहुँदो रहेछ ।’ यसकारण उनी आफ्नै कन्टेन्ट नभएसम्म दर्शकलाई प्लेटफर्ममा आकर्षित गर्न नसकिने निधोमा पुगेकी छिन् । ‘हामी ६ महीनाभित्रमै ओरजिनल कन्टेन्ट बनाउने तयारीमा छौं,’ उनले भनिन् ।

‘युट्युवभन्दा एप केही झन्झटिलो छ । हामीमा युट्युवमा चलचित्र हेर्ने संख्या ठूलो छ’ ऋचा भन्छिन्, ‘म के भन्न सक्छु भने दर्शकलाई युट्युब जसरी नै सहज ढंगले हेर्न मिल्ने तरिकाले एपलाई अगाडि बढाउने हो भने दर्शक यो माध्यममा पनि उल्लेख्य हुनुहुन्छ ।’

‘फिल्मकर्मीले फिल्म बनाएर राख्नुभएको छ । तर हामीले उहाँहरुको लगानी बराबरको रकम दिएर फिल्म किन्न सक्दैनौं । अब डिजिटल प्लेटफर्मले आफ्ना प्रयोगकर्ता बढाउनुपर्छ’ उनी भन्छन्, ‘भारतमा कोही कलाकारको फिल्म हेर्ने भएपनि डिजिटल प्लेटफर्म प्रयोग गर्छन् तर, हाम्रोमा त्यो छैन । हाम्रो त पाइरेसी गर्ने संस्कृति छ । पाइरेसी गरेर फिल्म हेर्नुहुन्न भन्ने ज्ञानको विकास नभएसम्म हामीजस्तो प्लेटफर्मले राम्रो विकास गर्न सक्छ जस्तो लाग्दैन ।’

लकडाउन केही खुकुलो भएपछि अभिनेता खगेन्द्र लामिछाने र सागर खरेल मिलेर ‘सिनेमा घर’ ओटीटी एप लन्च गरे । सुरुआतमा १८ वटा फिल्म रिलिज गर्ने घोषणासँगै लन्च भएको यो ओटीटी एपमा अहिले १४ फिल्म रिलिज भैसकेका छन् र ४ फिल्म रिलिज पर्खाइमा छन् । दशैं घटस्थापनामा मनोज पण्डितले निर्देशन गरेको फिल्म ‘एक’ रिलिज तयारीमा उनीहरु छन् । अहिलेसम्म यो एपमा डमरुको डन्डिबियो, कोहलपुर एक्सप्रेस, सरौंतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र लगायतका फिल्मलाई सिनेमा घर ओटीटीले रिलिज गरिसकेको छ ।

खगेन्द्र अहिलेको अवस्थामा ओटीटीप्रति ढुक्क छैनन् । उनले आफ्नो ड्रीम प्रोजेक्ट बताउने फिल्म ‘पानीफोटो’ लाई रिलिजका लागि फिल्म हल नै कुरेका छन् । ‘हामी हलमा दर्शक जाने अनुकूल समयको पर्खाइमा छौं र अहिले हेर्ने तथा पर्खने मुडमा छौं’ खगेन्द्र भन्छन्, ‘ओटीटीमा रिलिज गर्ने तयारी छैन । कोरोनाको परिस्थिती ठीक भएर दर्शक हलसम्म फर्कने वातावरण भएमात्र रिलिजबारे सोच्न सकिन्छ ।’

खगेन्द्रका अनुसार यो एपमा वर्षमा डेढ दर्जन फिल्म, वेबसिरिज, स्ट्यान्डअप कमेडी र छोटो फिल्म ५ सय रुपैयाँमा हेर्न पाइने सुविधा छ । सन् २०१६ मा बेटा भर्सनबाट ओटीटी ल्याएका खगेन्द्रले सिनेमा घर ब्रान्डमा ओटीटी लन्च गरेको चाहिँ सात महीना मात्र भयो ।

सिनेमा घरकै प्रमुख कार्यकारी अधिकृत सीइओ सागर खरेल युट्युवका कारण ओटीटीमा दर्शक बढ्न नसकेको बताउँछन् । ‘नेपाली दर्शकमाझ पैसा तिरेर हेर्ने संस्कृतिको विकास भैसकेको छैन । युट्युवमा फिल्म निःशुल्क हेर्ने बानी छ । हाम्रा फिल्मकर्मीले यो बानी नै बिगारिदिए,’ खरेल भन्छन्, ‘फिल्म युट्युवमा राख्ने चलनले हलको व्यापारलाई पनि असर पारिरहेको छ । दर्शक हलमै फिल्म नहेरी युट्युवमा फिल्म कुर्छन् । त्यसैले उनीहरु निःशुल्क फिल्म हेर्न खोज्छन् ।’

फोपी ओटीटी प्लेटफर्मका बरदान पोखरेलको भनाइ पनि लगभग समान छ । ‘फिल्मकर्मीले फिल्म बनाएर राख्नुभएको छ । तर हामीले उहाँहरुको लगानी बराबरको रकम दिएर फिल्म किन्न सक्दैनौं । अब डिजिटल प्लेटफर्मले आफ्ना प्रयोगकर्ता बढाउनुपर्छ’ उनी भन्छन्, ‘भारतमा कोही कलाकारको फिल्म हेर्ने भएपनि डिजिटल प्लेटफर्म प्रयोग गर्छन् तर, हाम्रोमा त्यो छैन । हाम्रो त पाइरेसी गर्ने संस्कृति छ । पाइरेसी गरेर फिल्म हेर्नुहुन्न भन्ने ज्ञानको विकास नभएसम्म हामीजस्तो प्लेटफर्मले राम्रो विकास गर्न सक्छ जस्तो लाग्दैन ।’

नेट टिभीका अध्यक्ष मनोज अग्रवाल महामारीकै समयमा डिजिटल प्लेटफर्मको विकास सम्भव हुने बताउँछन् । ‘चुनौतिलाई अवसरको रुपमा परिणत गर्न हाम्रो ध्यान जानुपर्छ’ उनी भन्छन्, ‘मनोरञ्जनको आयाम नै अहिले बदलिएको छ । अहिले त कोठाबाट हातहातमा पुगिसकेको छ फिल्म । बरु त्यही अनुसारको कन्टेन्ट बनाउनुपर्‍यो ।’ निर्माताले ओटीटीको वैकल्पिक बाटो अपनाउनुपर्ने उनको सुझाव छ ।

ओटीटीप्रति निर्माताको छैन विश्वास

नेपालमा ओटीटीको इतिहास निकै छोटो छ जसले गर्दा अहिलेसम्म यसले फिल्म निर्माताबीच विश्वास बटुल्न सकेको छैन । यसको सबैभन्दा पीडा सुदर्शन थापा र सन्तोष सेनलाई थाहा छ जो फिल्म रिलिज हुने आशामा १७ महीनादेखि ४ करोडभन्दा बढी लगानी फसाएर बसिरहेका छन् । फिल्म रिलिजको प्रचारकै लागि मात्रै आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ले ५० लाख खर्च गरेको सुदर्शनको भनाई छ ।

‘हल कुर्नुबाहेक तत्काल अर्को विकल्प छैन’ निर्देशक थापा भन्छन्, ‘ओटीटीबाट रिलिज गर्दा लगानी उठ्ने सुनिश्चित हुँदैन । नेपालमा दुईतीन वटा मात्र ओटीटी प्लेटफर्म छन् । तिनको बजार पनि छैन । ओटीटीमा तीन करोडको फिल्म दिँदा भोलि १० हजार मात्र उठ्यो भने के गर्ने ? पाइरेसी भयो भने के गर्ने ? कम्तीमा रिलिज गर्न सुरक्षित ठाउँ त चाहियो नि ।’

‘प्रेमगीत ३’ फिल्मबाट लिइएको दृश्यमा प्रदीप खड्का । चार करोड बजेटको यो फिल्म दुईवर्षदेखि रिलिज तयारीमा छ तर कहिले रिलिज हुने हो टुंगो छैन ।

ओटीटी प्लेटफर्म मात्र खोल्नु ठूलो कुरा नभएको बताउँदै सुदर्शन निर्माताको लगानी सुरक्षित गर्नुलाई महत्वपूर्ण मान्छन् । ‘विदेशमा जसरी उहाँहरुले फिल्म किन्न सक्नुपर्‍यो । नेपालमा जतिसुकै भरपर्दो प्लेटफर्म आएपनि फिल्म नकिनेसम्म हामीले दिने कुरा हुँदैन ।’

किरण केसीको निर्माण र शिवहरि पौडेलको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ पनि रिलिज तयारीमा छ । ‘ओटीटीमा लैजाने विचार गरेको हो तर भोलि चलेन भने के गर्ने ? प्रचार गरेर हलमा रिलिज गर्दा बरु अलिकति भएपनि चल्ने सम्भावना हुन्छ । त्यसैले अहिलेको अवस्थामा पर्खेर हेर्नुको उपाय छैन’ केसीले नेपाल प्रेसलाई भने ।

भाइरस महामारीको कारण ४ करोड लगानीमा बनेको प्रेमगीत ३ लाई होल्डमा राखेका सन्तोष सेनलाई पनि ओटीटीमा विश्वास छैन । फिल्मको पोस्टप्रोडक्सन गत महीना मुम्बईको स्टुडियोमा सकेका निर्माता सेन नेपालमा ओटीटीको पहुँच नभएको बताउँछन् ।

‘नेपाली दर्शकको ओटीटीमा पहुँच नै छैन । नेपालमा धेरै लगानी भएको फिल्मलाई ग्यारेन्टी दिएर जोखिम मोल्न सक्ने ओटीटी नै छैन । कम्तीमा पनि ओटीटीले ५० प्रतिशत न्यूनतम ग्यारेन्टी दिन सक्नुपर्छ’ निर्माता सेनको कथन छ । फिल्म रिलिजका लागि आफूले केही अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म खोजिरहेको सेन बताउँछन् ।

लकडाउनकै कारण रिलिज हुन नपाएको फिल्म ‘नीरफूल’का फिल्म निर्देशक फूलमान बल फिल्म हलभन्दा पहिले अन्तर्राष्ट्रिय बजारमा फिल्मलाई लैजाने तयारीमा छन् । तर, विश्वका अधिकांश मुलुकमा कोभिड लकडाउन कायमै भएकाले उनको यो योजना तत्काल पुरा हुने सम्भावना कम छ । नेपालमा ओटीटीमा फिल्म लैजान सम्भव नभएकाले अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी रहेको बताउँछन् । ‘अहिले कमाउने वातावरण छैन । लामो समय यसरी नै बित्यो भने विकल्प भने सोच्नुपर्छ । किनकी दर्शकहरुको बानी परिवर्तन भैसकेको हुन्छ’ बल भन्छन् ।

जसलाई ओटीटीमा विश्वास छ

खासगरि दृश्यभाषामा फिल्म बनाउन रुचाउने निर्माता तथा निर्देशक, इन्डिपेन्डेन्ट फिल्ममेकर र कम लगानीमा फिल्म बनाउने निर्माता चाहिँ ओटीटीको भविष्यप्रति आशावादी छन् । कम लगानीका फिल्मलाई ओटीटीमा रिलिज गर्दा आर्थिक जोखिम पनि नहुने भएकाले यस्ता निर्माताको आकर्षण ओटीटीप्रति छ ।

मनोज पण्डित निर्देशित फिल्म एक आगामी दशैं घटस्थापनामा सिनेमाघर एपमा रिलिज तयारीमा छ ।

यस्तै अपवाद हुन् निर्देशक मनोज पण्डित । उनी निर्देशित पल्टिकल ड्रामा ‘एक’ दशैं घटस्थापनामा सिनेमा घर, नेटटिभीजस्ता एप तथा म्याक्स, डीसहोमजस्ता डीटीएचबाट रिलिज हुँदैछ । हल खुल्न थालेपनि पण्डित ओटीटी र डीटीएच रिलिजमै अडिग छन् । किन त ? उनी भन्छन् : हल एकदमै स्टारकास्ट केन्द्रित ठाउँ हो । मेरो फिल्म स्टारडमको संरचनाभन्दा बाहिर छ । मेरो फिल्म निर्माण शैलीका लागि वैकल्पिक माध्यम नै उपयुक्त छ ।’

फिल्म हलका दर्शक र ओटीटी दर्शकले गर्ने अपेक्षा फरक हुने भएकाले पनि आफू ओटीटीमै प्रतिबद्ध भएको पण्डितको तर्क छ । ‘हलको अकुपेन्सीले प्रमोसनका लागि लाखौं पैसाको डिमान्ड गर्छ । हल भनेको निरंकुश संरचना हो । अर्कोतर्फ, हलमा फिल्म रिलिज गर्नुमा सेन्सरको लामो प्रक्रिया पुरा गर्नुपर्छ । हामीजस्ता वैकल्पिक निर्मातालाई डिजिटल प्लेटफर्म उत्कृष्ट माध्यम हो’ पण्डित भन्छन् ।

कर र कानूनको दायराबाहिर

नेपालमा कुनै पनि फिल्म हलमा रिलिज गर्नुपूर्व अनिवार्य सेन्सर बोर्डबाट स्वीकृति लिनुपर्छ । तर, डिजिटल प्लेटफर्ममा रिलिज गर्ने विषयमा कुनै कानूनी व्यवस्था छैन । केही महीनाअघि रिलिज भएको बलिउड फिल्म ‘राधे’ केही नेपाली ओटीटी र डीटीएच प्लेटफर्मबाट रिलिज भयो । फिल्मको नेपाल प्रदर्शन अधिकार खरिद गरेका गोपिकृष्ण मूभिजका प्रमुख निरज पौडेलले सेन्सरबिनै फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गरे ।

सेन्सरबिनै फिल्म रिलिज गरेको भन्दै विरोध भएपछि सञ्चार मन्त्रालयले सेन्सर प्रक्रियामा आउन निर्देशन दियो । सेन्सरपछि सो फिल्म पुनः रिलिज गरियो । ‘राधे’ विवाद ओटीटीमा सेन्सरबिनै फिल्म रिलिज हुने एउटा प्रतिनिधि घटना मात्र हो । नेपालमा नेटफिल्क्स, अमेजन प्राइम, युट्युवजस्ता विदेशी प्लेटफर्ममा प्रकाशित हुने कन्टेन्टको कतै जाँचपास हुँदैन । यस्ता कन्टेन्ट सेन्सर गर्ने नेपालमा कानून पनि छैन ।

‘यही समस्या बुझेरै हामीले ओटीटी प्लेटफर्मलाई पनि सेन्सरको दायरमा ल्याउने कानून बनाउनेबारे योजना बनाएका छौं,’ सञ्चार मन्त्रालयमा श्रव्यदृश्य शाखा हेर्ने प्रमुख शिव त्रिपाठीले नेपाल प्रेससँग भने ।

कानूनबाहेक ओटीटी प्लेटफर्मलाई करको दायरामा ल्याउनुपर्छ भन्ने आवाज पनि ठूलो छ । चलचित्र विकास बोर्डले हालै ओटीटी र डीटीएच प्लेटफर्मलाई पनि करको दायरामा ल्याउन माग गर्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई पत्र लेखेको छ । सरकारले ल्याउन लागेको प्रतिस्थापन बजेटमा ओटीटीलाई करको दायरामा ल्याउने प्रावधान समेट्न भन्दै अर्थ मन्त्रालयलाई पत्र लेखिएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।

‘ओटीटीप्रति दर्शक र निर्माता अहिले पनि ढुक्क हुन नसकिरहेकोले यो प्लेटफर्म मौलाउन नसकेको हो,’ अध्यक्ष दाहाल भन्छन्, ‘कर र कानूनको दायरामा लिएर राज्यले अब प्लेटफर्मबाट फाइदा लिन सक्नुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *