सरेश नेपाल भन्छन्– सिन्धु एमालेबाट अरुले पनि सिकुन्, एमाले छाड्नेले पछुताउनु पर्छ – Nepal Press

सरेश नेपाल भन्छन्– सिन्धु एमालेबाट अरुले पनि सिकुन्, एमाले छाड्नेले पछुताउनु पर्छ

काठमाडौं । वागमती प्रदेशमा पूर्वमन्त्री एवम् सिन्धुपाल्चोकका प्रभावशाली नेता सरेश नेपालले अहिले नेकपा एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोज्नेले पछुताउनुपर्ने भन्दै एकताका लागि सिन्धुपाल्चोक एमालेबाट सिक्नुपर्ने बताएका छन् ।

पहिलादेखि नै पार्टी एकताको पक्षमा वकालत गर्दै आएका नेता नेपालले सिन्धुपाल्चोक एमालेलाई एकढिक्का बनाएर देशभर सकारात्मक सन्देश प्रबाह गरेको बताएका हुन् ।

जनस्तरमा लोकप्रिय नेता नेपालले जिल्लाका कोही पनि जनप्रतिनिधि र पार्टी नेता एवम् कार्यकर्तालाई एमाले नछाड्न आग्रहसमेत गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले एमालेभन्दा जनमैत्री पार्टी अरु नभएको उल्लेख गर्दै कसैलाई पनि कुनै प्रलोभनमा नपर्न आग्रह गरेका हुन् ।

एकता कायम रहे जिल्लाका कुनै पनि स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा एमालेले पराजय बेहोर्नु नपर्ने भन्दै उनले भने– सही नीति, विचार, सिद्दान्त र नेतृत्व भएको पार्टी एमाले नै हो । यसको विकल्पमा अरु पार्टी हुनै सक्दैन ।

सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्यमा अत्यन्त लोकप्रिय मतका साथ विजयी भएका नेता नेपाल यसअघि वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन् । उनले आफ्नो मन्त्रीको कर्यकालमा सिन्धुपाल्चोकको विकासका लागि सक्दो पहल गरेको बताए ।

प्रदेशसभाको विकास समितिका सभापति समेत भएका नेता नेपालले सिन्धुपाल्चोकमा आफू र आफ्नो दलको पहलमा अहिलेसम्मकै सबैभन्दा धेरै बजेट परेको बताए ।

‘अल्पकालीन र दीर्घकालिन विकासका लागि उल्लेख्य बजेट पार्न सफल भएका छौं, यहाँका जनताले सबै कुरा बुझिसकेका छन्, अब एमालेलाई छाडेर कसैले अन्यत्र भोट हाल्छन् जस्तो लाग्दैन’, उनले भने, ‘अहिले विकासको जग बसालेका छौं, अर्को कार्यकालमा विकासको गति झनै बढ्नेछ ।’

पूर्व जिल्ला सभापतिसमेत भएका नेपालले आफूहरुसँग विकासको प्रष्ट खाका रहेको पनि बताए । भूमिहीन तथा सुकुम्बासीको पक्षमका विभिन्न अभियान संलग्न उनले आगामी दिनमा पनि जनताको आवश्यकता र पिरमर्का बुझेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर