नेकपा एसनिकट अनेरास्ववियूको चेतावनी- देउवा सरकारका यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ – Nepal Press

नेकपा एसनिकट अनेरास्ववियूको चेतावनी- देउवा सरकारका यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ

काठमाडौं । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गरेको भन्दै गृहमन्त्रालयले आइतबार यस्ता काम गर्नेलाई कारवाही गर्ने चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो ।

दुई दिनअघि अमेरिकी साहायता परियोजना एमसीसीविरुद्ध अभिव्यक्ति दिनेलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति निकालेको गृहले फेरि उस्तै खाले वक्तव्य निकालेपछि सरकारको सार्वजनिक आलोचना भएको छ । कतिपयले शेरबहादुर देउवा सरकार नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै आलोचना पनि गरेका छन् ।

देउवा सरकारकै सहयात्री दल हो हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) । गृहको आजको विज्ञप्ति नेकपा एसकै भ्रातृ संगठन अनेरास्ववियूको प्रदर्शनपछि आएको हो । १८ भदौमा अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडिको सडकमा नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको प्रदर्शनमा नेपाली सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय देऊ, भारतीय हस्तक्षेप मुर्दावाद लेखिएका प्लेकार्डसहित चर्का नाराबाजी गरेका थिए ।

तर, नेकपा एसनिकट अनेरास्वियूका अध्यक्ष सुदेश पराजुली गृहमन्त्रायलको यस्तो विज्ञप्ति सडकबाटै च्यातिने बताउँछन् । ‘गृह मन्त्रालयले जुन विज्ञप्ति निकालेको छ, त्यो अत्यन्तै भर्त्सनायोग्य छ,’ नेपाल प्रेससँगको कुराकानीमा पराजुलीले भने, ‘यो विज्ञप्तिको कुनै अर्थ छैन । यस्ता विज्ञप्ति सडकबाटै च्यातिन्छ ।’

१८ भदौमा अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडिको सडकमा नेपालमा भारतीय हस्तक्षेप बढेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आफ्नो पार्टीको सर्मथन भएपछि गलत काम गरे जोसुकैविरुद्ध आन्दोलनमा उत्रिने पराजुलीको चेतावनी छ। ‘हामी अनेरास्ववियू दबाब, जागरण र प्रतिपक्ष आन्दोलनको नेता संगठन हो,’ उनी भन्छन्, ‘शेरबहादुर देउवाले गलत काम गर्नुभयो भने यसका विरुद्धमा हामी देशभरी आन्दोलनमा उत्रिन्छौं ।’

यसले सत्ता गठबन्धनमा असर पार्ला नि भन्ने प्रश्नमा पराजुली राष्ट्रघाती काम जुनसुकै सरकारले गरे पनि विरोध गर्ने बताउँछन् । ‘हामी स्पष्ट छौं-यो सरकारले राम्रो काम गर्छ, जनपक्षीय काम गर्छ भने हामी त्यसको समर्थनमा हुन्छौं,’ उनको भनाइ छ, ‘सरकारले राष्ट्रघाती काम गर्छ, जनविरोधी काम गर्छ भने त्यसका विरुद्धमा हामी छौं । हामी हिजोदेखिकै यो भूमिकालाई निखारता दिँदै आएको संगठन हो । सत्तामा शेरबहादुर देउवा हुनुहोस् या केपी ओली गलत कामका विरुद्धमा हाम्रो संगठन उपयुक्त ढंगले लड्छ ।’

अमेरिकी साहायता परियोजना (एमसीसी) मा आवश्यक परिमार्जन भएमात्रै आफूहरूले त्यसलाई स्वीकार गर्ने उनको भनाइ छ । ‘एमसीसी कुनै हालतमा पारित गर्नुहुँदैन,’ पराजुलीले भने, ‘हाम्रा पार्टीका वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको जुन प्रतिवेदन छ, त्यसका आधारमा परिमार्जन भयो भने त्यसलाई स्वीकार गर्न सकिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर