नेपाल भर्सेस भारतः शुरूआती ११ मा तीन खेलाडी परिवर्तन, अञ्जन विष्ट बेन्चमा – Nepal Press

नेपाल भर्सेस भारतः शुरूआती ११ मा तीन खेलाडी परिवर्तन, अञ्जन विष्ट बेन्चमा

काठमाडौं । भारतविरुद्ध केही बेरमा शुरू हुने दोस्रो मैत्रीपूर्ण खेलको शुरूआती ११ मा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन खेलाडी परिवर्तन गरेका छन् । बिहीबारको टोलीबाट अब्दुल्लाले सुमन अर्याल, नवयुग श्रेष्ठ र अञ्जन विष्टको स्थानमा मनिष डाँगी, आशिष लामा र सुजल श्रेष्ठलाई शुरूआती-११ मा समावेश गरेका छन् ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप आयोजित दुई मैत्रीपूर्ण खेलको पहिलो खेल बिहीबार १-१ गोलको बराबरीमा सकिएको थियो । अञ्जन विष्टले ३६औं मिनेटमा गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा नेपालमाथि हावी बनेको भारतका लागि सब्स्टिच्युट खेलाडी अनिरुध थापाले ६०औं मिनेटमा गरेको गोलसँगै स्कोरलाइन बराबरीमा आएको थियो ।

बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा पहिलो मैत्रीपूर्ण बराबरीमा टुंगिएको थियो । नेपाली समयअनुसार ५ः३० बजे दशरथ रंगशालामा हुने यो खेल दुई मैत्रीपूर्णमध्ये दोस्रो हो ।

यस्तै भारतीय टोलीमा सात खेलाडी परिवर्तन भएको छ । मुख्य प्रशिक्षक इगोर स्टिम्याकले दोस्रो रोजाइका गोलकिपर अमरिन्दर सिंह, प्रितम कोटल, सेरिटोन फर्नान्डेज, अनिरुध थापा, बिपिन सिंह, रहिम अली र ललेङ्मावियालाई मैदानमा उतारेका छन् ।

यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा अनिरुध थापाले ४६औं मिनेटमा मैदानमा प्रवेश गरेर भारतका लागि बराबरी गोलसमेत फर्काएका थिए ।

नेपाली टोली :

किरण चेम्जोङ (कप्तान), सुजल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटी, आयुष घलान, मनिष डाँगी, तेज तामाङ, सुमन लामा र आशिष लामा ।

भारतीय टोली :

अमरिन्दर सिंह (गोलकिपर), प्रितम कोटल, सेरिटोन फर्नान्डेज, चिङलेनसना सिंह, सुवाषिस घोस, अनिरुध थापा, ललेङ्माविया, बिपिन सिंह, रहिम अल, मनविर सिंह र सुनिल क्षेत्री ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर