जेठ २ मा भेटिए एमाले सिन्धुपाल्चोकका नेता, विपक्षीसँग लड्न एकजुट हुने उद्‍घोष – Nepal Press

जेठ २ मा भेटिए एमाले सिन्धुपाल्चोकका नेता, विपक्षीसँग लड्न एकजुट हुने उद्‍घोष

चौतारा । नेकपा एमाले औपचारिक रुपमा २०७५ जेठ २ मा फर्कने निर्णय गरेपछि सिन्धुपाल्चोकमा पहिलो पटक जेठ २ को निर्णय कार्यान्वयन गर्दै अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ ।

नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौ सम्र्पक मञ्च प्रतिनिधि सभा -१ को आयोजनामा भएको भेलामा यसअघि अध्यक्ष केपी ओली समूहमा रहेका र माधव नेपाल समूहमा रहेका दुवै पक्षका नेताहरू एउटै मञ्चमा थिए ।

‘पार्टीले औपचारिक रूपमा नै जेठ २ मा फर्कने भएपछि हामीले त्यसको कार्यान्वयन र पार्टीलाई एकढिक्का बनाउनका लागि अगुवा कार्यकर्ता भेलाको आयोजना गरेका हाौं’ एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवहरि सापकोटाले भने ।

सिन्धु-काठमाडौ सम्पर्क मञ्चको आयोजनामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका सासंद् अरुण नेपाल, पूर्व लेखा आयोगका सदस्य सरेश नेपाल, जिल्ला सचिव कमल नेपाल लगायत एमाले जिल्ला तहका नेताहरूको भेलामा सहभागिता थियो ।

भेलामा सहभागी एमालेका नेताहरूले अब विगतलाई भुलेर जेठ २ अघि जस्तो सम्बन्ध थियो, त्यो भन्दा उन्नत सम्बन्ध नेता र कार्यकर्ताहरूबीच बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

‘हिजो दुवै पक्षबाट कमीकम्जोरीहरू भएका छन्, अब त्यसलाई शिक्षाको रूपमा लिएर एमालेलाई एक ढिक्का बनाएर लैजानुको विकल्प छैन’ एमाले पोलिटव्युरो सदस्य अरुण नेपालले भने ।

वागमती प्रदेशभित्रका एमालेको जेठ २ अघिको संरचनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रले एक समिति बनाएको जानकारी दिँदै नेता नेपालले त्यसको प्रतिवेदन आएपछि जिल्ला तहमा पार्टी र जनवार्गीय संगठनहरुको गतिविधि तीव्र रूपमा अघि बढ्ने नेता नेपालले जानकारी दिए ।

एमाले जिल्ला सचिव एवम लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले पनि अब सिन्धुपाल्चोक एमाले जेठ-२ अघिको संरचनामा गएकाले त्यही अनुसारका गतिविधि अब सुरु गरिने बताए । ‘हामी अब एकतावद्ध एमालेका कार्यक्रम लिएर बस्ती बस्तीमा पुग्ने छौँ,’ नेपालले भने- ‘विगतका गल्तीलाई शिक्षाको रूपमा लिनेछौँ ।’

एमाले जिल्ला सदस्य एवम बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले अबको निर्वाचनमा सिन्धुपाल्चोकमा मुख्य प्रतिष्पर्धा कांग्रेस र माओवादीसँग हुने भएकाले अब आफ्नाहरू विरुद्ध लड्ने र आरोप प्रत्योरोप छाडेर विपक्षीहरुसँग लड्नु पर्ने बताए ।

‘चुनाव आउदैछ,अरूसँग लड्नु पर्ने एमालेका नेताकार्यकर्ताहरू आफ्नै सँग लडेर बसेका छन् अब त्यो बन्द गर्नुपर्छ,’ मेयर शेर्पाले भने ।

एमाले जिल्ला कमिटी सदस्य एवम जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले माओवादीका नेताहरुले अहिले पनि एमालेका नेता कार्यकर्ताहरूलाई माधव नेपालको पार्टीमा जान उक्साइरहेको बताए ।

श्रेष्ठले भने- ‘तपाँइहरूले एमालेको चिन्ता लिन छाडिदिनुहोस, आफ्नो पार्टी बलियो बनाउन लाग्नुहोस । माओवादीका केही लोकप्रिय भन्न रुचाउने नेताहरूले अहिले हाम्रा नेता कार्यकर्ताहरुलाई किन एमालेमा बसेको,अर्काे पार्टीमा जानु पर्दैन ? भनिरहेका छन् । हिम्मत भए एक्लै हामी सँग प्रतिष्पर्धा गर्नुहोस् ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष एवम एमाले जिल्ला कमिटीका सदस्य भुपेन्द्र श्रेष्ठले आफूहरूले पालिकास्तरमा एमालेलाई एकतावद्ध बनाउने कार्यक्रमहरु राखेको बताउँदै सिन्धु-काठमाडौ सम्पर्क मञ्चले उपत्यकामा बस्नेहरुलाई एमालेको पक्षमा एकबताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

चार जनप्रतिनिधि मात्रै नेकपा एसमा

निर्वाचन आयोगले भदौ २२ सम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दल रोज्ने अन्तिम समय सीमा दिएको छ ।शुक्रबार सम्म स्थानीय तहका दुईजना जनप्रतिनिधिहरूले मात्रै नेकपा एस रोजेका छन् ।

राष्ट्रिय सभाका सदस्य सिंहबहादुर रसाइली,वागमती प्रदेश सदस्य इन्द्रमाया गुरुङले यसअघि नै नेकपा एस रोजिसकेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिमध्ये मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल र चौतारा साँगाचोकगढी नगरपालिका-१० का वडाअध्यक्ष बेलबहादुर महतले मात्रै जिल्ला निर्वाचन कार्यालयमा आएर नेकपा एसको पक्षमा सनाखत गराएका छन् ।

२२ गते सम्म अरू जनप्रतिनिधिहरू पनि आफूहरुको पक्षमा सनाखत गर्न आउने तयारी भइरहेको नेकपा एसका नेता सोम सापकोटाले जानकारी दिए ।

स्थानीय निर्वाचनमा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । ‘मेलम्ची नगरपालिकाकी उपप्रमुख बाहेक अरू सबै स्थानीय तहका जनप्रतिनिधिहरू एमालेमा नै रहनु हुन्छ’ एमाले जिल्ला सदस्य समेत रहेका बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर