आइक्यान परिषद्को चुनाव शुरू, यी हुन् उम्मेदवार (सूचीसहित) – Nepal Press

आइक्यान परिषद्को चुनाव शुरू, यी हुन् उम्मेदवार (सूचीसहित)

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानको नवौं परिषदको पार्षदका लागि मतदान शुरू भएको छ । आजबाट ४ दिनसम्म सञ्चालन हुने मतदानमा यतिबेला दर्तावाल लेखापरीक्षकको मतदान भइरहेको छ ।

दर्तावाल लेखापरीक्षकको मतदान भोलिसम्म चल्ने र भोलिबाटै सीएका लागि समेत मतदान हुने आइक्यानको कार्यतालिका छ । दर्तावाल लेखापरीक्षक र चार्टर्ड एकाउन्टेन्ट लागि २/२ दिन गरी ४ दिन मतदानका लागि समय तोकिएको निर्वाचन अधिकृत अशोक कार्कीले नेपाल प्रेसलाई बताए । कार्कीका अनुसार शुक्रबार र शनिबार दर्तावाल लेखापरीक्षकका लागि मतदान हुनेछ ।

यसैगरी आइतबार र सोमबार सीएका लागि मतदान हुनेछ । मतदानमा दर्तावाल लेखापरीक्षक मतदाताको संख्या १३२७ र सीएका लागि ११५४ मतदाता उपस्थित रहने अनुमान आइक्यानको छ । सिएबाट १४६४ मतदाता रहेकोमा ११५४ बाहेक बाँकीले यसअघि नै हुलाकबाट मतदान गरिसकेका छन् ।

दर्तावाल लेखापरीक्षकतर्फका पनि १७ सयले हुलाकबाट मत पठाइसकेका छन् । २१ गते मतदान सकिएपछि २२ गते मतगणना हुनेछ ।

कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै भदौ २१ गतेसम्मका लागि मतदानको मिति तय गरिएको हो । संस्थाको सातदोबाटो, ललितपुरस्थित केन्द्रीय कार्यालय भवनमा मतदान केन्द्र तोकिएको छ । एकपटकमा २५ जना मतदाताले ४ वटा वुथमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी मतदाताले आफ्नो नामको अल्फावेटनुसार २ मिटरको दुरीमा कायम गर्ने व्यवस्था मिलाइएको आइक्यानले जनाएको छ ।

भदौ १५ गते वसेको परिषदको २६२ औ बैठकबाट निर्वाचन कार्यतालिका स्वीकृत भए बमोजिम मतदाताले मतदान गर्न दिने र पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डसमेत तोकिएको हो ।

सीएका तर्फबाट १६ जना उम्मेदवारले मतदानमा भाग लिएका छन् । जसमध्ये १० जना चुनिएर परिषद्‍मा आउँछन् । यसैगरी दर्तावाल लेखापरीक्षकका लागि ९ जना उम्मेदवार छन् । उनीहरूबाट ४ जना चुनिएर परिषद्‍मा आउँछन् । परिषदमा नेपाल सरकारले पठाएका ३ जना सहसचिव रहने व्यवस्था छ ।

सीएका तर्फबाट युद्धराज ओली, पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, विनयप्रकाश श्रेष्ठ, क्षेत्रगोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल कयाल, सतीशचन्द्र लाल, सुजनकुमार काफ्ले, प्रवीणकुमार झा, जयनारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती र सन्तोष काफ्ले उम्मेदवार रहेका छन् ।

यसैगरी दर्तावाल लेखापरीक्षकका तर्फका ९ जना उमेद्धारमा रमोद ढुंगाना, पोषराज नेपाल,  राजेन्द्रकुमार श्रेष्ठ, भोलानाथ पाठक, केशबहादुर केसी, हेमराज पौडेल, बद्रीनाथ भट्टराई, शंकर ज्ञवाली र हिमालय खत्री छन् ।

निर्वाचन अधिकृत अशोक कार्कीले मतदान प्रकृया कोभिडको उच्च सतर्कताका साथ अगाडि बढिरहको समेत जानकारी दिए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको नियममा असार अघि नै निर्वाचन हुनुपर्नेमा कोरोनाको कारणले चुनावी प्रक्रिया परिमार्जन गरेर २ महिना ढिला भएको हो । यसपटक निर्वाचित हुने अध्यक्ष इतिहासमै सबैभन्दा कम समयको लागि हुनेछन् । उनको कार्यकाल १० महिनामात्र हुनेछ ।
पार्षदले अध्यक्ष र उपाध्यक्ष चुन्नेछन् । यसअघि उपाध्यक्ष भएकाहरु नै अध्यक्ष बन्ने प्रचलन रहेकाले यो चुनावमा पार्षदमा विजयी भएमा हालका उपाध्यक्ष युद्धराज ओली अध्यक्ष बन्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर