वृद्ध नेताका कथा सुनौं, कार्यकारीको बोझबाट हटाऔं – Nepal Press

वृद्ध नेताका कथा सुनौं, कार्यकारीको बोझबाट हटाऔं

गुरुत्वाकर्षणको पहुँचभन्दा माथि पुगेपछि धरातलमा फर्किन अतिरिक्त प्रायोजन गर्नु पर्छ । हाम्रो देशका दलका विशिष्ट नेताहरूले गुरुत्वाकर्षणको पहुँचभन्दा माथि आफूलाई उकाली सक्नु भयो । उहाँहरूसँग रोमाञ्चक उद्देश्यमूलक प्रेरणादायी अनुभव छ ।

त्यो बेलामा उहाँहरुले गर्नु भएको त्याग, अठोट र संघर्षको सर्वकालिक महत्व छ । ऊ बेलाको त्यो रोमाञ्चक स्मरणले बुढेसकालमा, आजको यथार्थको गुरुत्वाकर्षणभन्दा माथि पुगिसकेको बेलामा पनि उहाँहरूलाई धर्तीमा गाँसिन, माटोमा जोतिन र अख्तियारी खेलाउने लोभले थिचेको थिच्यै गर्छ ।

युग कृत्रिम वौद्धिकताले ‘लैस’ भइसक्यो । हप्किन्सले तर्साएको विश्वमा युवा पंक्तिलाई हतारोबाहेक केही छैन । बहुमुखी क्षमता र बहुआयामिक सूचनाले लैस, तन्नेरीको बहुमत भएको मुलुकमा उहीं आफ्नो बेलामा आफूले थालेको सानो, अनुशासित, वस्तुगत आधारभन्दा पनि आदर्श सपनाको लागि प्राण ‘न्यौछावर’ गर्ने गोपनीयतावादी ढाँचाको टेको टेकेर २१ औंं शताब्दी हाँक्ने सुन्दर सपनाका यी आरोहीलाई कसरी खुसी राख्ने ? तिनको विगतको सम्मानलाई कसरी प्रेरणाको ‘बही’मा लेखांकन गर्ने ?

आजको ज्वलन्त समस्या यही हो । शरीर कमजोर भइसक्यो, स्मरण शक्ति पुरानो हार्ड–डिस्कमा कुजिएको छ । बारम्बार पदमा आसीन हुँदा बुनेका कति सुन्दर योजना र सपना कहिल्यै लागू गर्न उहाँहरुले सक्नु भएन । तर त्यही अमूल्य तृष्णाले बस्न टिक्न दिएको छैन ।

कसरी सम्झाउने ती भेट्रानहरूलाई ? आदेश गरेर, सम्झाएर र ठेलेर काम बन्नेवाला छैन । ती वरिष्ठ महामनाहरूले शासक चिन्नु भयो, शासितले पाएको दुःखबाट द्रवित हुनु भयो । उहाँहरुको त्याग र बलिदानलाई जनताले पत्याए । आन्दोलनको नेतृत्व गर्नु भयो । जब शासनमा पुग्नु भयो अनि बल्ल थाहा भयो कि उहाँहरूसँग पुरानो शासनको प्रतिदान, संरचना र संस्कारकै औजार मात्र रहेछ ।

शब्द, पोसाक, ढाँचा, ढर्रा, प्रकृया र भंगीमा जनताभन्दा शासकलाई विशिष्ट देखाउन रचना गरिएका संस्कार हुन भन्ने पनि उहाँहरुले ठम्याउन सक्नु भएन । अघिपछि साइरन बजाउँदै हिँड्ने सुरक्षा फौजको जमात, पाइलैपिच्छे सम्माननीय माननीयको वचन अभिषेक किन गरिन्छ ? कानुन नियम विनियम कार्यविधिको खुड्किले प्रकृयाको जन्जाल किन सिर्जना गरिन्छ ? माननीयज्यू, सम्माननीयज्यू, जो मर्जी हजुर, हस हजुर, जस्ता शाब्दिक अलंकारले शशीभूत बनाएर आफूलाई किन मन्दिरको मूर्ति सरह सजाइन्छ ? भन्ने पत्तै पाउनु भएन ।

उहाँहरुले सिद्धान्त र सपना त स्वदेशी विदेशी दार्शनिक विचारकबाट र जनतासँग घुलमिल गर्दा राम्रोसँग थाहा पाउनु भयो । तर जुन शासनको अन्त्यका लागि लड्नु भएको थियो त्यो शासनले आफूलाई विशिष्ट र जनतालाई रैती बनाउन जे जस्ता प्रकृया कार्यविधि र संस्कार सिर्जना गरेको थियो, त्यसलाई चिन्ने र उल्टाउने जुक्ति न पढ्न पाउनु भयो, न जान्न पाउनु भयो ।

सारा गडबड यहीँबाट सुरु भयो । पुराना शासकको सबै ढर्रामा आफ्नो सम्मिलन हुँदा हुँदा अब त्यो ढर्राको लालचले वशीभूत हुने गरी खुदै रूपान्तरित हुनु भयो । जब पदमुक्त हुनु भयो, अनि बल्ल थाहा भयो हलुको अनौपचारिक पोसाक लगाएर, खुलस्त कुराकानी गर्न र स्वतन्त्र विचरण गर्न पाउनुको आनन्द ।

तथापि अहिले पनि उही पुरानो क्षुधाले पुनर्जागृत भएर उहाँहरूलाई चिमोटी रहन्छ, ‘पहिले गर्न नसकेको काम गर्नै पर्छ । आफ्नो एउटा पदचिह्न त छोड्नै पर्छ ।’

खासमा त्यहीं विषादले अरूलाई खसालेर, तोडेर, फोडेर जे गरेर भएपनि पद बहाली त गर्नैपर्ने ठाउँमा उहाँहरूलाई पर्याइदिएको छ । कस्तो होला त्यो तृष्णा जसले दुई तिरबाट डोर्याउँदै भएपनि झगडाको पक्ष बन्न ठाउँ कुठाउँसम्म पुग्न बाध्य पार्छ ।

पुराना शासकको सबै ढर्रामा आफ्नो सम्मिलन हुँदा हुँदा अब त्यो ढर्राको लालचले वशीभूत हुने गरी खुदै रूपान्तरित हुनु भयो । जब पदमुक्त हुनु भयो, अनि बल्ल थाहा भयो हलुको अनौपचारिक पोसाक लगाएर, खुलस्त कुराकानी गर्न र स्वतन्त्र विचरण गर्न पाउनुको आनन्द ।

पांग्रे कुर्सीमा घिसारिएर भएपनि ‘मै हुँ देश बनाउने’ भन्नुपर्ने पार्छ । आजको युगमा हाम्रो जस्तो थुप्रै देशमा नेता–व्यवस्थापन प्रमुख समस्या बनिरहेको बेलामा सम्मानित विगत र असान्दर्भिक वर्तमान भएका नेताहरूलाई आजको पुस्ताको लागि प्रेरणाको स्रोत र आफूलाई अनुगृहीत नागरिक बनाइ राख्न के गर्ने होला भन्ने सन्दर्भमा प्रस्ताव गरें, पार्टी कथालयको ।

वृद्ध पुस्ताले भोगेको अनेक कष्ट र उपलब्धिको महाभारत छ । त्यसलाई विभिन्न शीर्षकमा वर्गीकरण गर्न सकिन्छ । जस्तै विभाजन र एकीकरण, सँगी–साथीको बलिदान, भूमिगत जीवनको विशिष्ट सम्झना, जेल जीवन, प्रेरणा र अध्ययन, परिवार सँगको मिलन विछोड आदि ।

शीर्षकपिच्छे उहाँहरुको रहरअनुसारका व्यक्तिलाई प्रवचन दिन लगाउन सकिन्छ । त्यसलाई डी–कोड गरौं र प्रकाशन गरौं । काम लाग्छ । उहाँहरुबाट आजको युग हाकिन्नँ । कसले सम्झाइदियोस् कि आजको युग नियन्त्रण होइन सहजीकरणको युग हो । आदेश होइन उत्प्रेरणाको युग हो । नियन्त्रण होइन नियमनको युग हो । नतिजामूलक प्रशासन र क्षमता अनुसारको पारिश्रमिकको युग हो ।

राज्यसँग राष्ट्रिय अर्थतन्त्रको ३ प्रतिशतभन्दा कमको बजेट हुन्छ तर त्यसले बाँकी ९७ प्रतिशतका लागि इन्जिनको काम गर्न सक्नु पर्छ । मानिसको सिर्जनशीलता कानूनको दफाबाट, अधिकारीको आदेशबाट, नेताको हुकुमबाट निर्देशित गर्न खोज्ने हो भने भैँसी आहाल बसे जस्तो गरी युग आहालमा थचारिएर बस्छ ।

गरिबको हुर्मत लिएको छ हाम्रो राज्यले । सरकारी कार्यालयमा पुग्ने अदना नागरिक पियन चौकीदारलाई दुःख बिसाउँछ, हाकिमको कोठामा पस्ने हिम्मत गर्दैन । विकासलाई भौतिक विकासको मात्र अर्थमा बुझिन्छ । बजेट पठाउने सरकारले, टेन्डर जारी गर्ने कर्मचारीले र विकास गरिदिने ठेकेदारले । कहिले जागिर नजाने कर्मचारी, सरकारी संरक्षणमा रहने नेता र कर राजश्वको तालमेलमा कमाउने व्यवसायी अनि उनीहरू र मंत्री बीचका विचौलिया ।

वृद्ध नेताको आदर्श सपना ध्वस्त पार्ने कुरामा लाग्नु हुन्न । आखिर पृथ्वीको ज्यूँदो आयु अबको ५–६ सय वर्ष मात्र हो ।

अनेक आवरणमा विचौलिया । भत्काउन सिध्याउन सिद्धहस्त पुराना वृद्ध पुस्ताले अबको युग हाँक्न त के कुरा चिन्न पनि सक्दैन । उनीहरूले गर्दा हामी यति कुरा निर्धक्क भन्नसक्ने भयौं । अझै पनि संस्थालाई व्यक्तिसँग मात्र गाँसेर हेर्ने र वृद्ध पुस्ताको फेर समातेर मात्र राजनीतिज्ञ बन्न खोजी रहने हो भने त्यो भन्दा निस्सार जिन्दगी के होला ?

वृद्ध नेताको आदर्श सपना ध्वस्त पार्ने कुरामा लाग्नु हुन्न । आखिर पृथ्वीको ज्यूँदो आयु अबको ५–६ सय वर्ष मात्र हो ।

नेपाल जलवायु परिवर्तनको सर्वाधिक चपेटामा परेको मुलुक हो । हप्किन्सले ७ कारणले पृथ्वीको विनाश–गाथा प्रमाणित गरेर गएका छन् । वैदिक मान्यता र सबै धार्मिक विश्वासअनुसार पनि प्रलय अवश्यम्भावी छ । उहाँहरुको सम्मान गरौं ।

तन्नेरी सपनालाई यथार्थमा अनुवाद गर्न हतारो लाग्नु पर्छ । उहाँहरुसँग संघर्षको ओजिलो गाथा छ । कायाकल्प गर्ने सपना छ । तर सपनालाई यथार्थमा परिणत गर्नसक्ने व्यवस्थापकीय ज्ञान छैन र प्रशासकीय औजारको पहिचान पनि छैन ।

त्यसैले कथालयमा उहाँहरुको गर्विलो कथाको प्रेरणादायी अभिलेख गरौं। उहाँहरूलाई प्रवचक बनाऔं, पाठ पारायण बनाऔं, कार्यकारीको बोझबाट मुक्त गरौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *