कांग्रेस सिन्धुपाल्चोकः नेतृत्वका लागि दुवै पक्षको आ-आफ्नै दाउ, को-को छन् आकांक्षी ? – Nepal Press

कांग्रेस सिन्धुपाल्चोकः नेतृत्वका लागि दुवै पक्षको आ-आफ्नै दाउ, को-को छन् आकांक्षी ?

दुई समूहबीच तीव्र विवाद भएको सिन्धुपाल्चोक कांग्रेसमा नयाँ नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । अझैसम्म क्रियाशील सदस्यता विवाद नटुंगिएको सिन्धुपाल्चोकमा पूर्वसभापति एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामाले दुई समूहको नेतृत्व गरेका छन् ।

कांग्रेस सिन्धुपाल्चोकमा १३औ जिल्ला अधिवेशन देखि नै संस्थापन र इतर पक्षबीच विवाद थियो । पछिल्लो समय उक्त विवाद झन् बढेको छ । यहाँ पूर्व जिल्लासभापति समेत रहेका बस्नेत र लामाले केन्द्रमा बेग्लाबेल्लै क्रियाशील सदस्यको सूची बुझाएका थिए ।

क्रियाशील सदस्य विवादकै कारण केही समयअघि कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सदस्य छानबिन समितिका सदस्यलाई हात हालेको आरोप लागेपछि कांग्रेस केन्द्रले अर्को छानबिन समिति समेत गठन गरेको थियो । जिल्ला सभापति विकास लामा क्रियाशील सदस्यको सूची सार्वजनिक हुनुपर्ने मागसहित पार्टी मुख्यालयमा धर्नासमेत बसेका थिए ।

विवादबीच पनि आगामी नेतृत्वका लागि आकांक्षीहरुले तीव्र ‘लबिङ’ सुरु गरेका छन् । नेतृत्व सर्वसम्मत चयन गर्न नेताहरु लागे पनि सहमतिको सम्भाबना भने न्यून छ । ‘हामी सर्वसम्मत रुपमा नेतृत्वसँगै पदाधिकारी टुंगो लागाउन छलफलामा छौं’ जिल्ला सभापतिका आकांक्षी समेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवम गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले भने ।

उम्मेदवार छान्न दुवै पक्षलाई सकस

कांग्रेस सिन्धुपाल्चोकमा संस्थापन र संस्थापनइतर पक्षबीच जिल्ला नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतले गरिरहेका छन् भने संस्थापन इतर पक्षबाट जिल्ला सभापति विकास लामालगायतका नेताहरुले गरिरहेका छन् ।

जिल्लामा तेस्रो पक्ष नेता कृष्ण सिटौलाको प्रभाव न्यून छ । यद्यपि, त्यस पक्षको नेतृत्व नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले गरिरहेका छन् । यहाँ संस्थापन पक्षविरुद्ध अरु समूह एक भएर अधिवेशनमा जाने तयारी भइरहेको कांग्रेसका नेताले बताएका छन् ।

अघिल्लो जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल समूहबाट भुपेन्द्रबहादुर थापा र विकास लामा तथा देउवा पक्षबाट हरिशरण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा थिए । पहिलो चुनावमा नै कुनै पनि उमेदवारहरुले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनमा भुपेन्द्र थापाले समेत विकास लामालाई समर्थन गरेका थिए ।

१४ औं अधिवेशनमा तीनै अनुहारले दोहोरिने रहर गरेका छन् । यसपालि केही नयाँ अनुहारसमेत जिल्ला नेतृत्वको दौडमा छन् ।

संस्थापनइतर पक्षका सबैको समर्थन पाए भूपेन्द्र थापा पनि उम्मेदवार हुने तयारीमा छन् । तर संस्थापन पक्ष(बस्नेत) समूहले भने थापालाई वडामा नै हराउने प्रयास गरेको कांग्रेस नेताको दाबी छ ।

संस्थापनइतर पक्षबाट वर्तमान सभापति विकास लामाले नै दोहोर्याउन खोजेका छन् । तर उनको लागि पनि अहिलेको समय प्रतिकुल रहेको उनी निकटका नेताहरुले बताउँदै आएका छन् ।

‘अहिले नेतृत्वमा रहेको व्यक्ति चुनावमा गएर पराजित भए भने राम्रो सन्देश जाँदैन, त्यसैले हामी अरुलाई नै सभापति बनाउनु पर्छ भन्ने अभियानमा छौं’, संस्थापनइतर पक्षका एक जिल्ला नेताले भने ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवम गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङ अहिले संस्थापनइतर पक्षबाट सभापतिका लागि कडा दाबेदारका रुपमा हेरिएका छन् ।

जिल्लाभर कार्यकर्ताहरुसँग राम्रो पहुँच भएका लामाले आफ्नो टिमभित्र एकजना मात्रै उमेदवार बनाएर मैदानमा आउनका लागि लबिङ गरिरहेका छन् । ‘हामी छलफलमा नै छौं, क्रियाशील सदस्य सार्वजनिक भएको छैन, यो सार्वजनिक भएपछि मात्रै नेतृत्वको विषयमा बहस हुन्छ’, तामाङले भने ।

यो समूहबाट पूर्व जिल्ला सचिव कृष्ण न्यौपाने, आइतमान तामाङ पनि सभापतिका आकांक्षी हुन् । क्षेत्रीय सभापति तामाङलाई योपटक पुन क्षेत्रीय सभापतिमा नै राख्ने योजना पनि उक्त समूहको रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

संस्थापन पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कसलाई अघि सार्छन् प्रष्ट छैन । अघिल्लो पटक आफूले उठाएका उम्मेदवार पराजित भएपछि उनी यसपटक जित्ने उम्मेदवारको खोजीमा छन् । यद्यपि, उनलाई अघिल्लो अधिवेशनमा पराजित हरिशरण श्रेष्ठलाई नै उम्मेदवार बनाउनुपर्ने दबाब बढेको बुझिएको छ । श्रेष्ठले भने फेरि उम्मेदवार हुने नहुनेबारे मुख खोलेका छैनन् ।

देउवा समूहबाट यो पटक प्रेमध्वज लामाले बाजी मार्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ । त्रिभुवन विश्वविद्यालयका प्रध्यापक समेत रहेका लामाले पनि मुख भने खोलेका छैनन् । तर बस्नेतले अघि सार्ने उम्मेदवार श्रेष्ठ र लामामध्ये एक हुने स्रोतको दाबी छ । संस्थापनइतर पक्षबाट तामाङ समुदायबाट उम्मेदवार हुँदा आफ्नो टिमबाट पनि तामाङ नै उम्मेदवार बनाउने गृहकार्य बस्नेतले गरेका छन् ।

सिन्धुपाल्चोकमा क्षेत्र नम्बर एक बाट करिब ८ हजार ५ सय र दुईबाट पनि ७ हजार ५ सय क्रियाशील सदस्यको सूची केन्द्रमा पठाइएको छ । सदस्यको आधारमा न्यूनतम १६ देखि बढीमा ३६ जनासम्म प्रतिनिधिहरु वडाबाट निर्वाचित भएर क्षेत्र र केन्द्रमा आउने छन् ।

क्षेत्र नम्बर एकबाट बाह्रविसेको १ र ६, लिसंखुपारको ७ बाट सबैभन्दा बढी प्रतिनिधि आउनेछन् । जहाँबाट ३६ जना प्रतिनिधि आउने कांग्रेसले जानाएको छ ।

क्षेत्र नम्बर १ को सभापतिमा भने वर्तमान सभापति बालकृष्ण बस्नेतलाई नै संस्थापन पक्षबाट अघि बढाउने तयारी भएको छ । २ मा भने अहिलेसम्म क्षेत्रीय सभापतिको लागि कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।


प्रतिक्रिया

One thought on “कांग्रेस सिन्धुपाल्चोकः नेतृत्वका लागि दुवै पक्षको आ-आफ्नै दाउ, को-को छन् आकांक्षी ?

  1. बिकस लामा ले नै नेतुर्ता लिनुपर्छ फेरि पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर