संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने भन्ने मुद्दा सर्वोच्चमा, हरि फुयालको इजलासमा सुनुवाइ हुँदै – Nepal Press

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने भन्ने मुद्दा सर्वोच्चमा, हरि फुयालको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । संविधान बमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमाथिको सुनवाईका लागि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको छ ।

अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानको विपरित हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।

साथै संविधान र कानूनको आधारविना प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा नबस्ने सल्लाह दिएको भए त्यसको कार्यान्वयन नगर्न परमादेश माग गरिएको छ ।

रिट निवेदनमा संवैधानिक इजलासमा संवैधानिक नियुक्तिका विवाद हेर्न नसक्ने भए कारण उल्लेख गरी सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको वृहत पूर्ण इजलास गठन गरी गम्भीर संवैधानिक प्रश्नको निरुपण हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्धा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटको सुनुवाई पनि सोही इजलासमा तोकिएको छ ।

यस्तै, प्रधानन्यायाधीश वा न्यायाधीशको स्वार्थ बाझिने अवस्थामा त्यस्तो न्यायाधीश वा प्रधानन्यायाधीशको सट्टा निजपछिको न्यायाधीशको चयन गर्न समेत माग गरिएको छ ।

साथै सो रिटमा संवैधानिक इजलासका लागि सर्वोच्च अदालतका सबै न्यायाधीशहरु स्वत रोष्टरमा रहने व्यवस्था गर्न समेत माग गरिएको छ ।

यसो गर्दा विशेष प्रकृतिका मुद्दामा विषयविज्ञताका आधारमा न्यायाधीशहरुको चयन गर्न सहज हुने रिटमा दावी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर