विवेकशील-साझाको समानान्तर वैठक आज, अध्यक्षको चर्चित दस्तावेज पारित गर्ने संस्थापन पक्षको तयारी – Nepal Press

विवेकशील-साझाको समानान्तर वैठक आज, अध्यक्षको चर्चित दस्तावेज पारित गर्ने संस्थापन पक्षको तयारी

काठमाडौं । वैचारिक विवादमा रुमल्लिएको विवेकशील-साझा पार्टीका दुई पक्षले समानान्तररुपमा बोलाएको केन्द्रीय समिति वैठकहरु आज बस्दैछन् । डेढ घन्टाको अन्तरमा बोलाइएका वैठकले केन्द्रीय सदस्यहरुको कित्ताकाट गर्ने र पार्टीलाई औपचारिक विभाजनतर्फ धकेल्ने छ ।

अध्यक्ष रवीन्द्र मिश्रले आज साढे १२ बजेका लागि केन्द्रीय समिति वैठक बोलाएका थिए । त्यसलाई काउन्टर दिँदै संयोजक मिलन पाण्डेले आजै ११ बजेका लागि वैठक डाकेका छन् ।

एकै दिन लगभग एकै समयमा भर्चुअल वैठक बोलाइएपछि केन्द्रीय सदस्यहरुले आफ्नो कित्ता स्पष्ट पार्नैपर्ने अवस्था आइपरेको छ । यद्यपि, केही केन्द्रीय सदस्यहरु दुवै वैठकमा सहभागी हुन सक्ने वा दुवै वैठकमा अनुपस्थित रहन सक्नेछन् ।

विवेकशील साझामा हाल १ सय ३० सदस्यीय केन्द्रीय समिति रहेको छ । साझा र विवेकशील पार्टीबीच एकता गर्दा दुवै पक्षबाट ६५/६५ जना राखेर केन्द्रीय समिति बनाइएको थियो । तर, पछिल्लो विवादमा दुवैतर्फका केन्द्रीय सदस्य यताउता छ्यासमिस भएका छन् ।

मिश्र नेतृत्वको संस्थापन पक्षले आफूहरुसँग स्पष्ट बहुमत रहेको दावी गरेको छ । पाण्डे समूह भने धेरै केन्द्रीय सदस्यहरु तटस्थ रहेकाले दुवैतर्फ बहुमत नपुग्ने बताउँछ ।

संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति वैठकमा अध्यक्षद्वारा सार्वजनिक गरिएको बहुचर्चित राजनीतिक दस्तावेजमाथि छलफल गर्ने एकसुत्रीय एजेन्डा छ । स्रोतका अनुसार बहुमत केन्द्रीय सदस्यहरुको समर्थनमा आजै आफ्नो दस्तावेज पारित गराउने तयारी अध्यक्ष मिश्रले गरेका छन् ।

‘हामीसँग केन्द्रीय समितिमा स्पष्ट बहुमत रहेकाले अध्यक्षको दस्तावेज पारित गराउन कुनै समस्या छैन,’ संस्थापन पक्षका एक नेताले बताए ।

अर्कोतर्फ असन्तुष्ट पक्षले भने ‘पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशाबारे’ छलफल गरिने जनाएको छ । वैठकले अध्यक्षको दस्तावेजको भर्त्सना गर्ने वा त्यसलाई खारेज गरेको निर्णय लिन सक्ने बताइएको छ ।

साथै, पार्टीका प्रवक्तामाथि कारवाही गर्ने र अर्को प्रवक्ता नियुक्त गर्ने सम्भावना रहेको असन्तुष्ट पक्षका एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर