वरीयतामा उक्लिने भारतको धोको, नेपाल गोलको भोको – Nepal Press
नेपाल-भारत म्याच प्रिभ्यू

वरीयतामा उक्लिने भारतको धोको, नेपाल गोलको भोको

काठमाडौं । भारतविरुद्धको फुटबल भन्नासाथै नेपाली फुटबल समर्थकका मुख रसाइहाल्छन् । नेपाली टिम र खेलाडीहरूले पनि सबैभन्दा बढी दबाब भारतविरुद्ध खेल्दा नै महसुस गर्छन् । त्यसैले यी दुई टिमको म्याच, चाहे मैत्रीपूर्ण नै किन नहोस्, दर्शकका लागि प्रतिक्षित नै हुन्छ ।

करिब चार वर्षपछि भारतसँग नेपालले भोलि मैत्रीपूर्ण खेल खेल्दैछ । सन् २०१७ जुन ६ मा मुम्बई फुटबल एरिनामा भारतसँग २-० गोल अन्तरले पराजित भएको नेपाल भोलिको खेलमा घरेलु समर्थकसामु जितको खोजीमा हुनेछ ।

फिफा वरीयतामै आफूभन्दा ६३ स्थान माथि रहेको टोली त्यसमाथि पनि कमजोर इतिहासविरुद्ध नेपालका लागि जित भने छैन । फिफा डेटमा हुने भएकाले यी दुई खेलको नतिजाले वरीयतामा प्रत्यक्ष प्रभाव पर्नेछ । त्यसलाई ध्यानमा राखेर मैत्रीपूर्ण खेल भए पनि भारत जितका लागि कुनै कसर बाँकी छाड्ने पक्षमा छैन ।

भारतले नेपालविरुद्धको खेलका लागि शुरूआती चरणमा कप्तान सुनिल क्षेत्रीलाई टोलीमा राखेको थिएन । तर, अन्तिम समयमा सर्वाधिक गोलकर्ता समेत रहेका कप्तान सुनिललाई समेटेर टोली पठाउनुले त्यसलाई पुष्टि गर्छ । नेपाली टिमका लागि सबैभन्दा ठूलो चुनौती पनि उनी नै हुन् ।

नेपालले सन् २०१५ मा भारतविरुद्ध अन्तिम गोल गरेको थियो । लामो समयको गोल खडेरी चिर्दै नेपाली युवा स्टार विमल घर्ती मगरले नेपालका लागि गोल गरेका थिए । भलै नेपाल त्यो खेलमा ४-१ गोलको नतिजामा पराजित भएको थियो । ‘एसीएल टिएर’ बाट पीडित विमल अहिले उपचारका लागि कतारमा छन् ।

आसन्न एसियन कपको ‘ड्र’सार्वजनिक हुनुअघि भारत प्यालेस्टाइनलाई पछाडि पार्न चाहन्छ । यदि, अहिले एसियन टोलीको वरीयतामा आफूभन्दा एक स्थान माथि रहेको प्यालेस्टाइनलाई पछाडि पार्नसके भारत पोट-१ मा पर्नेछ । जसको फलस्वरूप भारत एसियाका उत्कृष्ट टोलीसँग खेल्नबाट पन्छिन सक्छ ।

त्यसैले भारतले नेपालविरुद्ध जितका लागि हरसम्भव प्रयास गर्ने निश्चित छ । बुधबार भएको प्रि-म्याच प्रेस कन्फरेन्समा भारतीय टोलीका कप्तान क्षेत्रीले नेपालविरुद्धको खेल कठिन र महत्त्वपूर्ण रहेको बताएका थिए ।

‘नेपाल जुनसुकै लयमा भए पनि भारतलाई सधैँ कठिन हुन्छ,’ उनले भने, ‘भोलिको खेलमा पनि हामीले नेपाललाई कमजोर आँकेका छैनौं ।’

अन्तिम खेलमा गोल गर्ने दुवै खेलाडीबिना भारत

अन्तिमपटक २०१७ मा मुम्बई एरिनामा भएको खेलमा नेपालविरुद्ध गोल गरेका दुवै खेलाडीबिना भारतीय टोली उत्रिने छ । त्यो खेलमा डिफेन्डर सन्देश झिङ्गन र जेजे लालपेख्लुवाले एक/एक गोल गरेका थिए । जेजे पछिल्लो समय भारतीय टोलीमा छैनन् भने सन्देश युरोपेली फुटबलका लागि क्रोएसिया पुगेका छन् ।

चार वर्षअघिको त्यो खेलमा नेपालले भारतलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर, सन्देशले ६०औं र जेजेले ७८औं मिनेटमा गोल गरेका थिए । सोही खेलमा विराज महर्जनले ६८औं मिनेटमा रातो कार्ड पाउँदा नेपालले १० जनामा खेल सकाएको थियो ।

भारतविरुद्ध अन्तिम गोल गरेका विमलबिना नेपाल

नेपालले सन् २०१५ मा भारतविरुद्ध अन्तिम गोल गरेको थियो । लामो समयको गोल खडेरी चिर्दै नेपाली युवा स्टार विमल घर्ती मगरले नेपालका लागि गोल गरेका थिए । भलै नेपाल त्यो खेलमा ४-१ गोलको नतिजामा पराजित भएको थियो । ‘एसीएल टिएर’ बाट पीडित विमल अहिले उपचारका लागि कतारमा छन् ।

र, नेपाल भोलि भारतविरुद्ध मैदानमा उत्रिँदा भारतविरुद्ध गोल गरेका विमल टोलीमा हुने छैनन् ।भारतविरुद्धका पछिल्ला पाँच भेटमा नेपालले गरेको त्यो एक मात्र गोल हो । ती पाँच खेलमा भारतले भने नेपालविरुद्ध ९ गोल गरिसकेको छ ।

नेपाल र भारतबीच भोलिको खेल साँझ ५:३० बजे दशरथ रंगशालामा शुरू हुनेछ । उक्त म्याचमा कोरोनाविरुद्धका सुरक्षा मापदण्डसहित दर्शकलाई प्रवेश दिइने भनिएको छ । घरेलु दर्शकबीचको खेल्दा नेपाली टिमलाई अतिरिक्त ऊर्जा प्राप्त हुने विश्वास लिन सकिन्छ ।

नेपाली टोलीः

किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरूङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ

भारतीय टोलीः

सुनिल क्षेत्री (कप्तान), अमरिन्द्र सिंह, धिरज सिंह मोराङ्थेम, गुरप्रित सिंह सन्धु, प्रितम कोटल, चिङ्लेनसाना सिंह कोन्साम, मन्दर राओ देसाइ, आकाश मिश्रा, राहुल भेके, सुभासिस बोस, सेरिटोन फर्नान्डेज, ललेङ्गमाविया, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्राडोन फर्नान्डेज, लिस्टोन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह वाङजाम, जेकसन सिंह, प्रोनाए हेल्डर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *