झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी – Nepal Press

झलनाथ खनालसहित ६ जनाको सनाखत अवैध रहेको एमालेको दावी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले झलनाथ खनालसहित ६ जनाले पार्टी फुटाउन गरेको सनाखत अवैध भएको दावी गरेको छ ।

एकीकृत समाजवादीलाई छुट्टै दलको मान्यता दिने आयोग निर्णयविरुद्ध सर्वोच्च गएको एमालेले दल दर्ता गर्दा झलनाथ खनालको हस्ताक्षर नभएको भन्दै हस्ताक्षर नै नभएका व्यक्तिको सनाखत गर्नु कानूनविपरीत भएको भनेको हो ।

‘विपक्षी झलनाथ खनालको सम्बन्धमा निर्वाचन आयोगको उक्त निर्णयको दोस्रो पानामा निज केही समयदेखि भारतस्थित एपोलो अस्पतालमा उपचाररत रहेको र भारतस्थित नेपाली राजदूतावासबाट सनाखत गर्न अनुरोध गरेको र मिति २०७८।०५।०४ को छुट्टै दल दर्ताको निवेदनमा सूचीमा निजको नाम समावेश भएको भनी लेखिएको छ,’ रिटमा भनिएको छ, ‘जबकी निजले शुरू छुट्टै दल दर्ताको निवेदन २०७८।५।२ मा दर्ता भएकोमा समेत निजको दस्तखत छैन । यसरी शुरु निवेदनमा दस्तखत नै नभएका व्यक्तिको हाल आएर सनाखत गराउन मिल्दैन ।’

आयोगले नै शुरू निवेदनमा नाम नभएको कारणले सनाखन नगराएको भन्दै एमालेले शुरू निवेदनमा नाम नहुनु र शुरू निवेदनमा हस्ताक्षर नहुनुमा कुनै फरक नभएको तर्क गरेको छ ।

यस आधारमा प्रदीप नेपाल, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत यादव , रविन्द्र वैठा धोवी र खगेन्द्र चुडालको समेत सनाखत कानूनसम्मत नभएको दावी रिटमा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *