गणितमा भीम आचार्य फेरि फेल- शेरधनले थपे, राजेन्द्रले टपे – Nepal Press
प्रदेश १

गणितमा भीम आचार्य फेरि फेल- शेरधनले थपे, राजेन्द्रले टपे

काठमाडौं । भदौ ९ गते बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सामुन्ने प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भीम आचार्यलाई भनेका थिए- ‘अहिले त यो पनि मेरो, त्यो पनि मेरो भन्नुहुन्छ । तर, हिसाबमा तपाईं कमजोर हुनुहुन्छ है कमरेड । तपाईंको हिसाब पहिले पनि फेल भइसकेको छ ।’

एक साता नपुग्दै शेरधनले भनेजस्तै भयो । मुख्यमन्त्री बन्दै गर्दा भीम आचार्यले ज-जसलाई आफ्नो पक्षमा राख्न सक्ने हिसाब सुनाएका थिए, तीमध्ये अधिकांश प्रदेशसभा सदस्यले नेकपा एसको पक्षमा सनाखत गरेपछि आचार्यको सरकार अल्पमतमा परेको छ ।

एमालेको एकता बलियो हुने र सरकार पनि पार्टीकै निरन्तर रहने अपेक्षासहित राईले आचार्यका लागि मुख्यमन्त्री पद छाडिदिएका थिए । तर, साढे २ वर्षअघिजस्तै यसपटक पनि भीम आचार्य गणितमा फेल भए ।

२०७४ सालमा संसदीय दलको निर्वाचन हुँदा आचार्यको हिसाब शेरधनभन्दा ९ सांसद बढी हुने थियो । माधव नेपाल पक्षका नेता आचार्य प्रदेश संयोजक पनि भएकाले समानुपातिकमा आफ्ना निकटस्थलाई सांसद बनाएका थिए।

प्रत्यक्षतर्फ पनि ओली पक्षभन्दा नेपाल पक्षका सांसद धेरै थिए । आचार्यसँग संसदीय दलको नेतामा चुनाव लड्दा शेरधन अल्पमतमा थिए । तर, आचार्यको गणित फेल भयो र ५१ सांसदमध्ये २६ मत पाएर शेरधन मुख्यमन्त्री बने ।

भीम आचार्यलाई मुख्यमन्त्रीको सफल कार्यकालको कामनासहित बधाई दिँदै शेरधन राई ।

आचार्यले २४ मत पाउँदा अहिले नेकपा एसमा लागेका राजन राईको मत बदर भएको थियो । आचार्यलाई माधव नेपाल समूहकै नेता जीवन घिमिरेलगायतले मत दिएनन् । घिमिरे पछि शेरधनको सरकारमा मन्त्री पनि भए । तर, पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि घिमिरे प्रचण्ड-माधव पक्षमा लागेर राजीनामा दिए ।

अब राजेन्द्र राईले १० सांसदसहित नेकपा एस रोजेपछि आचार्य र जीवन घिमिरेसहितको तेस्रो धारले ९ सांसदमात्र जोगाउन सकेको छ । आचार्य पक्षको भन्दा एकजना भने पनि बढी सांसद लैजाने राजेन्द्रको योजना सफल भएको छ ।

तत्कालीन नेकपाको गुटबन्दीदेखि नै अलग धारमा रहेका र नेकपा एमाले ब्युँतिएपछि पनि ६ महिनादेखि सँगै नरहेका आचार्य र राई अहिले एकै ठाउँमा छन् । तर, आचार्य हिसाब बिग्रिदा बिग्रिदै निकै कमजोर बनेर एमालेको मूलधारमा फर्किएका छन् भने राई मुख्यमन्त्री गुमाएर पनि पार्टीभित्र बलियो बनेका छन् ।

२६ सांसदको समर्थन पाएर मुख्यमन्त्री बनेका राई नेकपा विभाजनपछि तत्कालीन माधव नेपाल पक्षका ६ जना सांसदलाई आफूतिर तानेर थप बलियो बने । उनले माओवादीका प्रदेशसभा सदस्य टंक आङबोहाङलाई समेत आफूतिर ताने ।

आजको शक्ति सन्तुलन फेरिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५१ सिटसहित एकल बहुमतमा रहेको एमाले अब ४१ सिटसहित अल्पमतमा झरेको छ । हिजो भीम आचार्य र राजेन्द्र राई माधव नेपाल समूहमा हुँदा १९ सांसद उनीहरूसँग थिए ।

अब राजेन्द्र राईले १० सांसदसहित नेकपा एस रोजेपछि आचार्य र जीवन घिमिरेसहितको तेस्रो धारले ९ सांसदमात्र जोगाउन सकेको छ । आचार्य पक्षको भन्दा एकजना भने पनि बढी सांसद लैजाने राजेन्द्रको योजना सफल भएको छ ।
१० बुँदे सहमति कार्यन्वयन हुने भएपछि स्थायी कमिटीका १० सदस्य एमालेमा बसेसँगै प्रदेश १ का तत्कालीन माधव नेपाल समूहका ९ सांसदमात्र एमालेमा रोकिएका छन् ।

मध्यमार्गी धारका रुपमा एमालेमा रहेको समूहबाट भीम आचार्य, जीवन घिमिरे, बलबहादुर साम्सोहाङ, लक्ष्मण तिवारी, सावित्रा जोशी, यशोदा अधिकारी, होमकुमारी साँवा, लीलाबल्लभ अधिकारी एमालेमा रहेका छन् । सभाामुख प्रदीप भण्डारी पनि आचार्यनिकट मानिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर