विद्या: भ्रम र यथार्थ – Nepal Press

विद्या: भ्रम र यथार्थ

विद्याको अर्थ हुन्छ, ज्ञान, विज्ञान, शिक्षा, तथा तत्वज्ञान (समस्त ब्रह्माण्डमा भएका तत्वहरुको संरचना, गुण तथा तिनीहरुको कार्य)माथि तर्क गर्नु । कुनै पनि पदार्थमाथि सही या गलत छुट्याउने कलाको विकास गर्नु नै शिक्षा वा विद्या हो ।

आधुनिक युगमा विद्यालाई शिक्षा पनि भनेर बुझ्ने गरिएको छ । शिक्षा कुनै पनि व्यक्तिको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने एक सशक्त माध्यम हो, जसले व्यक्तिपिच्छे फरक कल्पना शक्तिको विकास गर्दछ ।

कल्पना शक्तिको विकासले नै संसारमा नयाँ–नयाँ कुराको विकास हुन पुगेको छ । भौतिक, आर्थिक, संचार, मानवीय तथा सामाजिक तथा सांस्कृतिक रुपान्तरणलगायतका विकास भइ एकीकृत विश्वको निर्माण हुनपुग्छ ।

विद्याले जहिले पनि वैद्य ज्ञानको अपेक्षा गरेको हुन्छ, यसले नकारात्मक प्रयोगको अस्वीकार गरेको हुन्छ । विद्याको माध्यमबाट नयाँ विषयमा कल्पना शक्तिको विकास हुन गइ नौलो कुरा पत्ता लगाउन सकेको अवस्था नै वास्तविक विद्या प्राप्तिको अवस्था हो ।

विद्या प्राप्तिले मानिसको स्वभाव नरम बनाउनुका साथै सोचनशील व्यक्तित्व निर्माण गर्दछ । तर कतिपय मानिसहरु विद्या आर्जन गर्नेबितिकै आफूलाइ विद्वान् वा ज्ञानी भएको भन्ने ठान्छन्, त्यस्तो अवस्थामा मानिसलाइ आत्मकेन्द्रित र अहंकारी बनाउँछ ।

पूर्वीय दर्शनमा विद्या दिने गुरुलाई उच्च स्थानमा राखिएको छ । जसअनुसार जन्म दिने बाबु–आमा र गुरुलाइ समान दर्जा दिइएको छ र विद्यादानलाई सबैभन्दा उत्तम दान मानिएको छ ।

तसर्थ विद्या दिने गुरु ज्ञानी हुनुपर्छ, कुनै पनि विषयमा नयाँ मार्गदर्शन गर्न विद्यार्थीलाई उत्प्रेरित गर्न सक्ने हुनुपर्दछ, नयाँ खोजको शुरुवात गर्नसक्ने व्यक्तित्व निर्माणको आधार तयार गर्नसक्ने किसिमको, कुनै लोभलालच नभएको हुनुपर्दछ ।

वर्तमान शिक्षा कस्तो छ ?

वर्तमान शिक्षा निश्चित पाठ्यक्रममा आधारित भएर सर्कसमा कुनै प्राणीलाई तालिमप्राप्त बनाएजस्तो रटान लगाउने खालको छ । वैज्ञानिकका सिद्दान्तहरुको व्यवहारिक अभ्यास तथा नयाँ कुराको अनुसन्धान गर्न प्रेरित गर्ने किसिमको शिक्षा देखिँदैन ।

शिक्षा दिने काममा वर्गीय विभाजन स्पष्ट देखिन्छ । एउटै विद्यालयमा हुने–नहुने, विविध जातजाति, संस्कृति, पेशाका अभिभावकका छोरोछोरीको उपस्थितिमा सप्तरंगी फूल फुल्नुपर्ने हो, तर सो हुन नसकी शिक्षा लिने कार्य समेत भेदभावयुक्त भएको छ ।

शिक्षाले कुनै पनि विद्यार्थीको बहुआयामिक विकास गर्न सकेको देखिँदैन । हरेक व्यक्तिको फरक क्षमता, दक्षता तथा कल्पनाशक्ति रहेको हुन्छ । उक्त रुचिअनुसारको शिक्षा वर्तमान समयमा हुनसकेको देखिँदैन । शिक्षा व्यापार गर्ने एक विधाको रुपभन्दा माथि उठ्न सकेको देखिँदैन ।

हाम्रो वैदिक परम्पराअनुसार जीवनको पहिलो चरणमा गुरुकुलमा बसेर ब्रह्मचर्यमा रही नीतिशास्त्र, खगोलशास्त्र, गणितशास्त्र, राज्यरक्षा लगायतका विभिन्न शास्त्रको अध्ययन पश्चात् एक सुसंस्कृत सभ्य तथा आदर्शतम् व्यक्ति बनेर व्यवहारिक जीवन (अध्ययन, अनुसन्धान तथा शिक्षाको व्यवहारिक प्रयोग)मा प्रवेश गर्ने गर्दथे ।

तर हालको शिक्षा एक आयामिक मात्र देखिएको छ, सुसंकृत, सभ्य तथा कल्पनाशील व्यक्तिको उत्पादन गर्न सकेको देखिँदैन तथा अनुसन्धानमूलक र पूर्ण व्यवस्थित प्रयोगशाला पनि छैनन् ।

गुरुहरु पनि अस्थायी रुपले भञ्ज्याङ्को पाटीमा आएर एकछिन सुस्ताएर जाने बटुवा जस्ता देखिन्छन् । शिक्षा पनि व्यापारमा सीमित जस्तो देखिएको छ । शिक्षालय व्यक्तिको सर्वाङ्गीण विकास गर्ने किसिमका नभइ किराना पसल खोलेका व्यापारी प्रकृतिका छन्, जसले स्पष्ट रुपमा वर्गीय विभेदको सृजना गरेको छ ।

शिक्षालय कस्तो हुनुपर्छ ?

शिक्षालयका सम्बन्धमा विचार गर्दा केही पक्षहरुलाइ ध्यान दिनुपर्ने हुन्छ । शिक्षाप्रतिको राजनैतिक विचारधारा, राज्यले शिक्षालयमा गर्ने आर्थिक लगानी, शिक्षालय वरिपरिको वातावरण, गुरु–विद्यार्थी सम्बन्ध तथा भौतिक पक्ष लगायतका विषयवस्तु पर्दछन् ।

शिक्षालय शताब्दीयौदेखि ज्ञानको मन्दिरको रुपमा विकसित भएको छ । शिक्षा लिने मुख्य आधार शिक्षालय नै हो । तसर्थ यो राजनीतिक उपस्थिति विनाको, जाति, धर्म,सम्प्रदायबाट परै राखी हुने–नहुने, उच–नीचलगायतका कुनै पनि विभेदको झल्को नआउने किसिमको समानता तथा समतामा आधारित हुनुपर्दछ ।

हालको हाम्रो अवस्था मद्यनजर गर्दा शिक्षा दिने गुरुहरु धेरैजसो अन्य क्षेत्रमा असफलता हासिल गरेपछि शिक्षण पेशा अपनाएको देखिन्छ । कोही मेडिकलका परीक्षामा असफलता मिलेपछि त कोही इन्जिनियरिङ् भने कोही युरोप तथा अमेरिका लगायतका विकसित देशका वैदेशिक यात्रा असफल भएपछि र अन्य पेशामा आवद्द हुन नसक्दा गुरु बन्ने प्रवृत्ति देखिन्छ ।

यसको अलावा राजनीतिक संगठनका झण्डा बोकेर हिँड्ने गुरुहरु । जुन कुरा विद्या लिने र विद्या प्रदान गर्ने कामको उपहास हो । तसर्थ शिक्षालयमा उच्च दक्षता हाँसिल गरेका अनुभवी तथा अनुसन्धानकेन्द्रित र विद्यार्थीलाई उच्च मनोबलयुक्त बनाउने गुरु हुन जरुरी छ ।

शिक्षालय शहरको भीडभाडभन्दा पर शान्त वातावरणमा अवस्थित हुनुपर्दछ । ठूलो क्षेत्रफल, चराको चिरविर, वरिपरि बगैँचा, प्रशस्त खेल मैदान, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, कम्प्युटर प्रशिक्षण, सभाकक्ष, स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै गुरुहरुको मायालु वातावरणमा गुरुको वरिपरि बसाएर सानो घरमा राखेर थोरै संख्याका विद्यार्थीबिच अध्ययन–अध्यापन गर्नु–गराउनु पर्दछ ।

यसको अतिरिक्त आवासीय भयो भने त झन् हाम्रो पूर्वीय दर्शनले राखेको मान्यताअनुरुपको शिक्षालय निर्माण गर्न सकिन्छ, जहाँबाट अपार ज्ञान प्राप्त हुन्छ ।

विद्वानहरुको विचार के छ ?

रुसो– रुसोले शिक्षामा बालकको अन्तरनिहीत शक्ति, सामाजिक वातावरण र भौतिक वातावरण गरी तीन चीज महत्वपूर्ण हुनेकुरा उल्लेख गरेका छन् । यी तीन कुराको समन्वय भयो भने आदर्श शिक्षा प्राप्त हुने उनको भनाइ रहेको छ ।

शिक्षामा सरकारले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने उनको जोड रहेको छ । नैतिक शिक्षा, शारीरिक शिक्षा, भुगोल, इतिहास, यौन शिक्षा सीपको शिक्षा, ओद्योगिक एवं यान्त्रिक कलालगायतका शिक्षा स्वतन्त्र रुपले दिनुपर्ने, जसले गर्दा बालकको सर्वाङ्गीण विकास हुनपुग्दछ भन्ने उनको धारणा रहेको छ । अनुभवद्वारा सिक्नुलाई नै सिकाइको महत्वपूर्ण विधि मानेका छन् ।

महात्मा गान्धी– शोषणविहीन समाजको निर्माण गर्न सबै व्यक्ति शिक्षित हुनुपर्ने कुरामा महात्मा गान्धी आफ्नो विचार राख्छन् । बालकको शरीर, मन र आत्माको विकास गर्ने मुख्य तत्वको रुपमा शिक्षालाई लिएका छन् ।

उनले अंकहरुको ज्ञान तथा बालककको शारीरिक, मानसिक तथा बौद्दिक विकास गर्नेखालको शिक्षा हुनपर्छ तथा विद्यार्थीले अनुशासन तथा ब्रह्मचर्यमा रहेर ज्ञान हाँसिल गर्नसक्ने कुरा बताएका छन् ।

यसका अतिरिक्त प्रौढ शिक्षा, साक्षरता, महिला शिक्षाबारे समेत उल्लेख गरेका छन् । शारीरिक विकास, मानसिक तथा बौद्दिक विकास, व्यक्तिगत एवं सामाजिक विकास, सांस्कृतिक विकास, नैतिक र चारित्रिक विकास, व्यावसायिक विकास, आध्यात्मिक विकास शिक्षाको लक्ष्य हुनुपर्ने उनको राय रहेको छ ।

शिक्षा कस्तो हुनुपर्छ ?

शिक्षाको मतलब बालकलाई सारा किताबका ठेली बोकाएर उसको मस्तिष्कमा लाद्ने नभएर जीवनका बाधा तथा मुस्किल हटाउने क्षमता विस्तार गरी अनुसन्धानात्मक बनाउनु हो । भोक त हरेक प्राणीलाई लाग्छ, खाने भोकको अतिरिक्त विद्यार्थीलाई ज्ञानको भोक जगाउन सक्नु पर्दछ, शिक्षाले । तालिम त जनावरले पनि लिएर मानिसका केही कामहरु गरेको देखिन्छ ।

यसको अलावा मानिसले त नयाँ कुराको खोज गर्नसक्ने तथा समाजमा आफ्नो अधिकार र कर्तव्य बोध गर्न सक्ने बन्नु आवश्यक हुन्छ । मानिसको सबल शरीर, स्वच्छ तथा प्रपंच रहित परोपकारी बुद्दिमान मनको विकास गराउने खालको शिक्षा हुनु पर्दछ जसले गर्दा राष्ट्रको उत्थान हुनगइ सुसंस्कृत तथा भेदभावरहित एकीकृत समाजको निर्माण हुनपुग्छ ।

पूर्वीय दर्शनको आध्यात्मिक शिक्षालाई सिकाइको एकपाटो बनाउनु आजको प्रमुख आवश्यकता बनेको छ । जसले गर्दा नैतिकवान्, राष्ट्रप्रेमी, आत्मसम्मानयुक्त बनाउन सहयोग गर्दछ । चरणबद्द रुपले विभिन्न तहका विद्यार्थीलाई समयानुकुल शिक्षालाई सुधार गरी लैजानु आजको आवश्यकता हो ।

एउटा बालक भनेको अनन्त सम्भावना बोकेको कुनैपनि फलको विउ जस्तै हो, जो एउटा सानो दलबाट ठूलो रुखको रुपमा विकास भएर धेरै फल दिन्छ । त्यसका लागि उपयुक्त मलजलको आवश्यकता रहन्छ ।

विद्यार्थीको शारीरिक र मानसिक विकास गरी आत्मालाई गति प्रदान गर्ने र मानवताको प्रसार गर्नुका साथै नयाँ कुराको खोज र आविष्कार गर्नसक्ने आधार प्रदान गर्नुपर्दछ शिक्षाले ।


प्रतिक्रिया

2 thoughts on “विद्या: भ्रम र यथार्थ

  1. Lekh Khoja mulak xa esko awadharana think xa .Yao bichar ko karyanan garna mudramukhi aartha byabastha badhak xa. Aam mamishko soach nabadaliea samma siksha samhhav chaina . Lekh ma “aatmakendrit”eak sabdhako aartha galat prayaog bhaeko chha. .thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *