सुदूरपश्चिममा यसरी झर्‍यो नेकपा एसको सनाखत १३ बाट १० मा – Nepal Press

सुदूरपश्चिममा यसरी झर्‍यो नेकपा एसको सनाखत १३ बाट १० मा

दावी गरिएझैं सनाखत भए एमाले भन्दा नेकपा एस ठूलो दल बन्ने

कैलाली । सुदूरपश्चिम प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टलाई मंगलबार ११ बजे नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत हुने जानकारी गराइएको थियो । ११ बजेपछि उनलाई आन्तरिक तयारी भइरहेको भन्दै १ बजे र अर्को समय ३ बजे जानकारी गराइयो ।

तीन बजे सम्म पनि प्रदेश निर्वाचन कार्यालयमा सांसदहरू पुगेका थिएनन् । त्यो बेला निर्वाचन कार्यालय जानको लागि सांसदहरू आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीको क्वाटरमा थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी जोशी नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य हुन् । त्यहाँ जोशीसहित सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्व मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले थिए ।

त्यहाँ पुग्न बाँकी रहेका प्रदेश सभा सदस्य तारा लामा तामाङ, कुलवीर चौधरी र अर्थ राज्य मन्त्री अर्चना गहतराज प्रदेश सभा पुगेका थिए ।

गहतराज र चौधरी गाडी भित्रै बसे भने तामाङले सभामुख अर्जुन बहादुर थापालाई भेटे । त्यस लगत्तै अन्तरिक मामिला तथा कानून मन्त्रालयबाट १० सांसद प्रदेशसभा पुगे । त्यहाँ अरु तीन सांसद थिए । केहीबेर पछि तामाङ, चौधरी र गहतराज सहित सांसदहरू सनाखतको लागि निर्वाचन कार्यालय हिँडे ।

सबै भन्दा पहिले आन्तरिक मामिला तथा कानून मन्त्री सवार स्कारपियो थियो । त्यसपछि अन्य मन्त्री तथा सांसदहरू थिए । जिल्ला प्रशासन कार्यालय अघिबाट भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी सवार गाडी फर्कियो ।
यता निर्वाचन कार्यालयमा पत्रकारहरू सांसद कुरेर बसिरहेका थिए । केही बेरपछि निर्वाचन कार्यालयमा पनि सबै भन्दा पहिले कानून मन्त्री जोशी पुगिन् । त्यसपछि क्रमशः सांसद आउने क्रम सुरु भयो । तर, ५ बज्दा सम्म दीर्घ सोडारी, तारा लामा तामाङ, अर्चना गहतराज निर्वाचन कार्यालय पुगेनन् । तामाङसँगै रहेका चौधरी भने अन्तिम समयमा निर्वाचन कार्यालय पुगेका थिए ।

तीन सांसद किन गएनन् सनाखत गर्न

प्रदेश सभाबाट निर्वाचन कार्यालयतर्फ आइरहेका तीन सांसद किन निर्वाचन कार्यालय पुगेनन् भन्ने चासोको बिषय भएको छ । आवश्यक कागजात नभएको हुँदा तीन सांसद मंगलबार निर्वाचन कार्यालय नआएको नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य पूर्णा जोशीले बताइन् । उनले भनिन्, ‘निर्वाचन कार्यालयले डकुमेन्ट सबै अनिवार्य चाहिन्छ भनेपछि उहाँहरुले आज सनाखन गर्न पाउनु भएन।’

मंगलबार निर्वाचन कार्यालय नआएका सांसद तामाङले भने दल रोज्न हतार गर्ने बेला नभएको बताए । ‘२२ गतेसम्म सनाखत जहिले गरे पनि हुन्छ’ उनले भने ‘आजै गर्नुपर्छ भन्ने छ र ?’

मंगलबार निर्वाचन कार्यालय नपुगेका दीर्घ सोडारीले पनि प्राविधिक कारणले मंगलबार सनाखत गर्न नपुगेको बताए । उनले अर्काे दिन तीन जना भन्दा बढीले सनाखत गर्ने दाबी गरे । ‘प्राविधिक कारणले उहाँहरू दुई जना नजानु भएको हो, मैले पनि सँगै सनाखत गरौँला भने’ सोडारीले भने, ‘हामी तीन जना मात्रै होइन धेरै हुन सक्छौँ ।’

नयाँ अंक गणित

५३ जना प्रदेश सभासदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माओवादीबाट एमाले गएका झपट बोहरालाई कारबाही गरेपछि ५२ सांसद छन् । ५२ जना मध्ये एमालेका २५, माओवादी केन्द्रका १३ काँग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

सभामुख बाहेक २४ जना मध्ये यसअघि ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना सांसद थिए । माधव नेपालको नेतृत्वमा खुलेको नेकपा एकीकृत समाजवादीमा मंगलबार १० जनाले सनाखत गरेपछि यो संख्या १३ पुग्ने दावी गरिएको छ ।

यस अघि नेपाल पक्षमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व राज्य मन्त्री प्रकाश रावल र अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्कबहादुर कुँवर नयाँ पार्टीमा जान नसकिने बताइसकेका थिए । पूर्व सामाजिक विकास मन्त्री केही समय अघिसम्म एकीकृत समाजवादीमा खुलेपछि मंगलबारबाट एमाले छोड्न नसक्ने बताएका छन् ।

एकीकृत समाजवादी पार्टीले दावी गरेझैँ थप ३ सांसदले सनाखत गरे माओवादीकै हाराहारीमा सबै भन्दा ठुला दुई दल बन्ने छन् । १२ सांसद सहित दोस्रो दल काँग्रेस, ११ सांसद सहित तेस्रो दल एमाले र २ सांसद सहित जनता समाजवादी पार्टी जसपा चौथो दल बन्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर