काठमाडौंको फोहोर आफैं सिसडोल पुर्‍याउने नागरिक अभियान शुरु (भिडियो) – Nepal Press

काठमाडौंको फोहोर आफैं सिसडोल पुर्‍याउने नागरिक अभियान शुरु (भिडियो)

काठमाडौं । नागरिक अभियन्ताहरु आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान शुरु गरेका छन ।

नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाई अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका हुन ।

काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाई अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाई अभियन्ता राज मानवले जानकारी दिए ।

उनले वर्षात् याममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पु¥याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पारे ।

अभियन्ता मानवले भने,‘काठमाडौं महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भईरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन । त्यसमा नागरिक आफै सजग होऔं भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो । राजनीतिक दलहरुले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आएपनि यो समस्या समाधान हुन सकेन । त्यसैले काठमाडौंको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैले व्यवस्थापन गर्नुपर्छ भनेर सफाई अभियान सुरु गरिएको हो । म यस अभियानमा जुटेर नेपाललाई फोहोर मुक्त बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्दछु ।’

सफाई अभियानमा बागमती सफाई अभियान, रुद्रमती सफाई अभियान, महाराजगंज सफाई अभियानलगायतका संस्थाहरु सहभागी भएका छन । अभियानमा सहभागी भएका अभियन्ताहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्डहरु समेत प्रर्दशन गरेका थिए ।

काठमाडौंमा विगत २५ दिनयता फोहोर उठन नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दवाव परेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *