एक परिवारले १२ करोडभन्दा बढी सेयर कर्जा लिन नपाउने – Nepal Press

एक परिवारले १२ करोडभन्दा बढी सेयर कर्जा लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जामा कडाइ गरेको छ ।

यसअघि एक परिवारका सबै सदस्यको नामबाट जति पनि मार्जिन कर्जा लिन पाउने व्यवस्थामा केन्द्रीय बैंकले यसमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले हालै एकीकृत निर्देशन २०७७ संशोधन गर्दै एकाघर परिवारले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक वित्तीय संस्थाबाट कुल १२ करोड मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

एकाघर परिवारले उक्त सीमाभन्दा बढी कर्जा लिएको भए घटाउदै लैजान निर्देशनमा भनिएको छ । उक्त सीमा नाघेका ऋणीले अब थप मार्जिन कर्जा लिन पाउने छैनन् । केन्द्रीय बैंकले तोकेको सिमा भन्दा बढी मार्जिन कर्जा लिएका ऋणीलाई कर्जा घटाउन केन्द्रीय बैंकले भुक्तानी अवधिसमेत तोकेको छ । भदौ ८ गते वा कर्जा लिएको १ वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधिभित्रमा सीमाभन्दा बढी लिएको कर्जा भुक्तानी गर्न निर्देशनमा उल्लेख छ ।

‘यो निर्देशन जारी हुनुपूर्व (२०७८-५-८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा भएको भए त्यस्तो कर्जालाई क्रमिकरूपमा घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नुपर्नेछ’ , निर्देशनमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एकाघर परिवारका विषयमा मौन भएपनि एकिकृत निर्देशिन संशोधनमार्फत भने उक्त व्यवस्था गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर आक्रमकरूपमा मार्जिन कर्जा विस्तार गरेपछि यसले वित्तीय जोखिम बढाएको भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।

गत आर्थिक वर्ष मार्जिन प्रकृतिको कर्जा १११ प्रतिशतले बढेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व २०७७/७८ मा मार्जिन प्रकृतिको कर्जा ५६ अर्ब बढेर १ खर्ब ६ अर्ब रूपैयाँ प्रवाह भएको छ ।

यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । केन्द्रीय बैंकको निर्देशनका कारण बजारमा गिरावट शुरू भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर