एक महिनामा करिब चार हजार अपराध, अपराधमा संलग्न पाँच सय पक्राउ – Nepal Press

एक महिनामा करिब चार हजार अपराध, अपराधमा संलग्न पाँच सय पक्राउ

काठमाडौं । साउनमा मात्रै करिब ४ हजार अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार साउनमा ३ हजार ९ सय १६ वटा अपराधका प्रहरी कार्यालयमा दर्ता भएका हुन् ।

सातवटै प्रदेश, काठमाडौं उपत्यका र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)मा गरी उक्त अपराधका घटना दर्ता भएका हुन् ।

दैनिक एक सय २६ वटा मुद्धा दर्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार सामाजिक अपराधका ८ सय ९१ वटा घटना दर्ता भएका छन् ।

त्यस्तै ज्यान मार्ने उद्योगसम्बन्धी ७ सय १८ वटा, संगठित आर्थिक अपराधका ५ सय ४४, आत्महत्याका ५ सय २ वटा, महिला बालबालिका विरुद्धका ४ सय ६६, चोरीका २ सय ९६, सवारी साधनसम्बन्धी १ सय ३२ र विविधतर्फ ३ सय ६७ वटा मुद्दा दर्ता भएका छन् ।

हातहतियार तथा खरखजानासम्बन्धी २५ वटा, बाल यौन दुराचाराका २५ वटा, अपहरण वा शरीर बन्धकसम्बन्धी १४ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएका छन् ।

उनका अनुसार आत्महत्याका ५ सय २ वटा घटनामध्ये झुण्डिएर ४ सय २२, विष खाएर ७३, पानीमा डुबेर ३, हाम फालेर २, हातहतियार औजारबाट १ र आगो लगाएर १ जनाले ज्यान गुमाएका छन् ।

अपराधमा संलग्नमध्ये ७६ प्रतिशत पक्राउ

साउन महिनामा दर्ता भएका कूल ३ हजार ९ सय १६ वटा अपराधमा ४ हजार ९ सय २ अभियुक्त संलग्न छन् । उनीहरूमध्ये ४ हजार ५ सय २८ पुरुष र ३ सय ७४ महिला छन् ।

अपराधमा संलग्नमध्ये ३ हजार ७ सय १६ जना पक्राउ परेका छन् भने १ हजार १ सय ८६ जना फरार रहेका छन् । अपराधमा संलग्नमध्ये ७६ प्रतिशत अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।

साउन महिनामा अदालतबाट सजायँ तोकिएका १ हजार १ सय १९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूलाई ६ सय ३ वर्ष ५३ महिना ८६ दिन कैद सजायँ तोकिएको छ । साथै जरिवानाबापत बिगो रकम ११ करोड ३० लाख ४९ हजार ८ सय ४७ रुपैयाँ असुल भएको छ ।

यसै अवधिमा विभिन्न शीर्षकमार्फत ३६ करोड ४७ लाख ६५ हजार ३ सय ३१ रुपैयाँ राजश्व संकलन भएको छ । जसमध्ये अवैध मालसामान बरामद्बाट ११ करोड ७६ लाख २० हजार ७ सय ७३ रुपैयाँ संकलन भएको छ ।

सवारी दुर्घटनामा परी एक सय ६० को मृत्यु, पाँच सय बढी घाइते

साउन महिनामा भएका १ हजार ८ सय १८ वटा सवारी दुर्घटनामा परी १ सय ६० जनाको मृत्यु भएको छ भने ५ सय ४० जना गम्भीर घाइते भएका छन् । औसतमा देशभर प्रतिदिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

साउन महिनामा नै कूल ३ सय ६१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा ५ सय ५६ जना पक्राउ परेका छन् । साथै ३ सय ३५ किलो ८ किलो गाँजा, १८ दशमलव ९ किलो चरेश, ८९ ग्राम हेरोइन र ७ ग्राम अफिम बरामद् भएको छ ।

त्यस्तै ५८ नाल हातहतियार, विभिन्न हतियारमा लाग्ने ९७ राउण्ड गोली र ६ थान म्यागजिन पनि बरामद् भएको छ । अवैध हातहतियार सहित ३९ जना पक्राउ परेका छन् ।

साउन महिनाभर ४ सय ३९ विपद्का घटनामा २३ जनाले ज्यान गुमाएका छन् भने ६९ जना घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *