सहिद परिवारको पीडाः छोरी क्यान्सरसँग लड्दै, नेताले दिन्छन् आश्वासन मात्रै – Nepal Press

सहिद परिवारको पीडाः छोरी क्यान्सरसँग लड्दै, नेताले दिन्छन् आश्वासन मात्रै

जनकपुरधाम । पछिल्लो समय जनकपुरमा मधेस आन्दोलनका सहिद परिवार, घाइतेले नियमितजसो प्रदर्शन गरिरहेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वास्ता नगरेपछि भदौ ११ गते जनकपुरस्थित उद्योग वाणिज्य संघमा आयोजित जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी अभिमुखीकरण कार्यक्रममा उनीहरुले प्रदर्शन गरे ।

प्रदर्शनमा दर्जनौ सहिद परिवार एवम् घाइते सहभागी थिए । उनीहरुले सम्झौताअनुसार करारको जागिरको म्याद थप नभएको, नियुक्तिपत्र नपाएको लगायत गुनासो राखे । तर सर्लाहीस्थित कबिलासी नगरपालिका ९ सलैनपुरकी सहिद परिवार मिनादेवी साहको माग अरुको भन्दा फरक थियो । उनको पीडाले प्रदर्शनमा सहभागी र प्रदर्शन हेर्न गएकाहरुलाई भाबुक बनायो ।

माग सम्बोधनको आश्वासन दिन प्रदर्शनस्थलमा पुगेका प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव पनि मिनादेवीको पीडा सुनेर भकानिए । क्यान्सरपीडित छोरी अस्पतालमा भर्ना भएको र प्रदेश सरकारले सहयोग गर्छु भनेर पटक–पटक आश्वासन दिए पनि पूरा नभएको उनको गुनासो थियो ।

मिनादेवीको पीडा सुनेपछि पूर्वमन्त्री यादवले भनेका थिए, ‘तपाईंले अहिलेसम्म पैसा पाउनु भएन ? तपाईंका लागि पैसा त निस्किसकेको छ सायद ।’ पैसाको लागि ३/४ महिनादेखि मुख्यमन्त्री कार्यालय धाइरहेको भनेपछि पूर्वमन्त्री यादवले ‘अब तत्कालै पाउनुहुन्छ’ भन्ने आश्वासन दिए ।

पूर्वमन्त्री यादवले भनेअनुसार प्रदर्शनकारी कार्यक्रमको टेन्टभित्र छिरे । मुख्यमन्त्री राउत पनि त्यहीं आइपुगे ।

मुख्यमन्त्री राउतले आफ्नो स्वकीय सचिव दीपक यादवलाई फोन गरेर मिनादेवीको चेक बनेको छ कि छैन भनेर सोधेका थिए । स्वकीय सचिव दीपकले चेक बनिसकेको भन्दै ‘लिन आउनु पर्यो नि’ भन्ने जवाफ दिए । तर स्वाकीय सचिवले आफ्नो फोन नै रिसिभ नगरेको मिनादेवीले बताइन् ।

मिनादेवीका श्रीमान रामनारायण साह २०६३ सालको पहिलो मधेस आन्दोलनका सहिद हुन् । उनकी १८ वर्षीया छोरी करिश्मा साह क्यान्सरले थलिएकी छन् । करिश्माको उपचार अहिले काठमाडौंको भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।

छोरी करिश्माको उपचारमा अहिलेसम्म ६ लाख रुपैयाँ मिनादेवीले खर्चिसकेकी छन् । उनी भन्छिन्, ‘अहिलेसम्म खर्च भएको सबै रुपैयाँ ब्याजमा साहुबाट ऋण लिएको छु ।’

‘श्रीमान शहिद भएपछि घरमा कमाउने कोही रहेनन् । छोरा छैनन् । तीन छोरी छन् । त्यसमा पनि एक छोरीलाई क्यान्सर भएपछि अहिले घर न घाटको बनेँ’, उनले पीडा सुनाइन् ।

उनले थपिन्, ‘मेरो श्रीमान जस्ता सहिदहरुको बलिदानीले जो कुर्सीमा बसे, उसैले आज आफूहरुलाई हप्काउने गरेको छन् ।’ ‘कसले हप्कायो भन्ने जिज्ञासमा उनले भनिन्, ‘छोरीलाई क्यान्सर भएपछि सहयोगका लागि मुख्यमन्त्री कहाँ पुगेको थिएँ । अनि उहाँले झुठो रिपोर्ट बनाएर रुपैयाँ माग्न आएको भन्दै हप्काउनु भएको थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर