निर्मल पुर्जाको पाकिस्तान डायरीः तालिवान छल्न टेन्टमा बास – Nepal Press

निर्मल पुर्जाको पाकिस्तान डायरीः तालिवान छल्न टेन्टमा बास

तालिवानी हमला र उसले अफगानिस्तान कब्जा गर्न गरेका हरसैन्य अभ्यासका कारण धेरै नेपाली प्रताडित भए ।

अफगानिस्तानमा मात्रै होइन, विगतमा पाकिस्तानी तालिवानका कारण पनि नेपालीले ज्यान गुमाए, सास्ती भोगे ।

पाकिस्तानी तालिवानका कारण तनाव झेल्ने धेरै नेपालीमध्येका एक हुन्, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ।

चितवनबाट बेलायती गोर्खा सैनिक र बेलायतको स्पेशल फोर्सहुँदै आरोहणमा आएका पुर्जाले तालिवानी तनाव छल्न अपनाएका केही तरिका रोचक छन् ।

बेलायती फौजी पृष्ठभूमीका र विश्वभर चर्चा पाएका आरोही पुर्जालाई तालिवानले मार्न सक्थे । किनकि, उनीहरुले बेलायती फौजीलाई मन पराउँदैनथे । उनले मारिनबाट जोगिन अपनाएका तरिकबारे आत्मकथा ‘बियोन्ड पोसिबल’मा सविस्तार बयान गरेका छन्, जुन सन् २०२० मा प्रकाशित भएको छ ।

पुर्जा ती आरोही हुन्, जसले सन् २०१९ मा ६ महिना ६ दिनमा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला १४ चुचुरामा पाइला टेकेका थिए । सुरुमा सन् २०१९ को अप्रिल २३ मा अन्नपूर्ण चुचुरो चढेका पुर्जाले अन्तिममा सन् २०१९ कै अक्टोबरमा चीनको सिसापाङ्मा चुचुरो चढेर कीर्तिमानी कायम गरे ।

सन् २०२१ को जनवरी १६ मा १० नेपालीले पहिलोपटक ८६११ मिटर अग्लो विश्वको दोस्रंो शिखर माउन्ट के टु विन्टर सिजनमा चढेर बनाएको रेकर्डका एक सदस्य पनि हुन्, पुर्जा । पुर्जाले आफ्नो पुस्तकमा सन् २०१९ मा तालिवानको तनावबारे रोचक प्रशंगहरु उल्लेख गरेका छन् ।

१९७ पृष्ठमा पुर्जा लेख्छन्, ‘समग्रमा पाकिस्तानको नांगा पर्वतमा चढ्नुको मेरो सबैभन्दा ठुलो तनाव चाहि मेरो टीम तालिवानको आतंकवादी आक्रमणले बढारिने हैन भन्नेमा थियो । पाकिस्तानी साथीहरुसँग मेरो धेरै मज्जाको अनुभव थियो । तर, तालिवानको आक्रमण बास्तविक सरोकारको बिषय प्रोजेक्ट पोसिबलको योजना बन्दैबाट बनेको थियो ।’

पृष्ठ २०१ मा उनी लेख्छन, ‘संभावित कुनै आतंककारी हमला छल्नलाई मैले जुलाइभर पाकिस्तान जाने तीन फरक उडानको टिकट काटें ।’

यस्तै पृष्ठ २१५ मा पुर्जाले आफूहरुले तालिवानी आक्रमण नहोस् भन्नलाई होटल तथा लजमा नबसेर टेन्ट टाँगेर बसेको बताएका छन् ।

अन्ततः सन् २०१९ को जुलाई ३ मा पुर्जाले सफलतापूर्वक नांगा पर्वत आरोहण गरेका थिए ।

तालिवानसँग पुर्जा सशंकित हुनुको कारण

पुर्जाले सन् २०१३ मा आरोहीहरुलाई तालिवानले गरेको आक्रामणको प्रसंग पृष्ठ १९८ मा निकालेका छन् । सन् २०१३ को जुन २२ मा अर्धसैनिक बलको पोशाकमा एके–४७ र चक्कुहरु लिएर आएका तालिवान आधार शिविर पसेका थिए । उनीहरुले १२ आरोहीलाई टेन्टबाट घिसारेर निकालेका थिए ।

उनीहरुको पासपोर्ट खोसिएको थियो । स्पार्ट फोन र ल्यापटपहरु ढुंगामा बजारेर फुटाइएको थियो । सोही रात चिनियाँ आरोही झाङ जिङचुवानबाहेक सबैलाइ हत्या गरियो । झाङ भने गोली हान्न सुरु गरेपछि डोरी चुडाएर खाली खुट्टा भाग्न सफल भएका थिए ।

मर्नेहरुमा अमेरिकी, चिनियाँ, युक्रेनियन, लिथुआनियन, स्लोभाकियन, पाकिस्तानी र नेपाली थिए । तालिवानले आरोहीको विभत्स हत्या गरेको उक्त घटनालाई ‘२०१३ नांगा पर्वत नरसंहार’ भनेर चिनिन्छ । ८१२५ मिटर उचाइको नांगा पर्वत पाकिस्तानको दोस्रो ठूलो चुचुरो हो । विश्वको भने नवौँ अग्लो हिमाल हो ।

सन् २०१३ को जुन २४ को बीबीसी अनलाइनको एक सामग्रीअनुसार पाकिस्तानी तालिवानका दोस्रो कमान्डर वालिउर रेहमान अमेरिकी ड्रोन आक्रमणमा मारिएको बदलामा तालिवानले आतंक मच्चाएका थिए ।

आक्रमणमा ‘के टु’ चुचुरो चढिसकेका नेपाली सोर्ना शेर्पा भने मारिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *