कोरोनाका कारण कृष्ण जन्माष्टमीको रौनक घट्यो, मधेसका अधिकांश कृष्णमन्दिर सुनसान – Nepal Press

कोरोनाका कारण कृष्ण जन्माष्टमीको रौनक घट्यो, मधेसका अधिकांश कृष्णमन्दिर सुनसान

जनकपुरधाम । कोरोना कहरका कारण तराई–मधेसका जिल्लामा विगतका वर्षहरुमा जस्तो कृष्ण जन्माअष्टमीको रौनक छैन । श्रीकृष्ण जन्माष्टमी मनाउन सरकारले सार्वजनिक विदा दिएपनि तराई/मधेसमा कृष्णमन्दिरमा मेला नलागेपछि रौनक घटेको हो ।

जनकपुरको रेल्वे स्टेशन र विषहरा चोकमा कृष्ण जन्माष्टमीको दिन ठूलो तामझाम हुन्थ्यो । मेला भर्नेहरुको घुइँचो लाग्थ्यो । तर यसवर्ष सो क्षेत्र सुनसान देखिएको छ ।

लामो समयदेखि ढाट तेर्साएर बन्द गरिएको विषहरा चोकस्थित कृष्ण मन्दिर भने पूजापाठका लागि आज खुल्ला गरिएको छ । पूजापाठ गर्न फाटफुट मानिस मात्र आएको समितिले जनाएको छ । प्रशासनले मेलाको आयोजना नगर्न निर्देशन जारी गरेपछि समितिले यसवर्ष मन्दिर सजाएको छैन ।

भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको पूजा आराधना गर्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर