युवा संघ र अखिलको चेतावनी– बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त नगरे कडा आन्दोलन – Nepal Press

युवा संघ र अखिलको चेतावनी– बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त नगरे कडा आन्दोलन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेनिकटका युवा विद्यार्थीले बलात्कार आरोपी मन्त्री कुर्मराज शाहीलाई संरक्षण गरेको भन्दै मन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री शाहीले आफ्नै स्वकीय सचिवकी श्रीमतीमाथि बलात्कार गरेको आवाज उठे पनि कुनै कारवाही नगरेको भन्दै उनीहरुले मन्त्रीबाटै बर्खास्त गर्न माग गरेका हुन् ।

मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थी नेता प्रेम खड्काले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीलाई अदालतले पक्राउ गर्न पूर्जी काटेलगत्तै बर्खास्त गर्ने तर बलात्कारको अभियोग लागेकालाई जोगाएको भन्दै आपत्ति जनाए ।

ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु जिल्ला संयोजक धुपेन्द्र शाहीले पछिल्लोपटक प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि छानबिन गरी तत्काल कारवाही गर्न माग गरे । उनले आरोपी मन्त्री शाहीलाई मुख्यमन्त्रीले नै संरक्षण दिएको पनि आरोप लगाए ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य नविन योगीले बलात्कार आरोपित मन्त्री शाहीलाई बर्खास्त नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

युवा संघका सचिवालय सदस्य एवम जिल्ला अध्यक्ष कमल खड्का जुनीले सरकार अपराधीलाई देवत्वकरण गर्दै हिँडिरहेको आरोप लगाए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले प्रमाणविना कसैलाई कारवाही गर्न नसकिने बताए । उनले भने, ‘सरकार जहिले पनि न्यायको पक्षमा हुन्छ । पीडितहरुलाई न्याय दिनु सरकारको दायित्व हो । यो घटनाका बारेमा मेरो ध्यानाकर्ष भएको छ । तर प्रशासनले मुद्दा दर्ता गरेको छैन । यो अवस्थामा कारवाही कसरी गर्ने ?’

ज्ञापनपत्र बुझाउनुअघि युवा संघ र अनेरास्ववियुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर