टोपबहादुर रायमाझी भन्छन्– देउवा सरकार असंवैधानिक, एमाले छाड्नेले पछुताउनु पर्छ – Nepal Press

टोपबहादुर रायमाझी भन्छन्– देउवा सरकार असंवैधानिक, एमाले छाड्नेले पछुताउनु पर्छ

रूपन्देही । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जनादेशविपरीत बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन् ।

अर्घाखाँचीमा नेकपा एमाले सन्धिखर्कका उपलब्ध कार्यकर्तालाई चुत्राबेसीमा सम्बोधन गर्दै उनले परमादेशबाट निर्मित सरकार अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाए ।

उनले अदालतले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत देउवालाई प्रधानमन्त्री बनाएर व्यवस्थापिका र कार्यपालिकामाथि ठाडो हस्तक्षेप गरेको बताए ।

‘अहिले मुलुकमा जनादेशमाथि परमादेशको शासन चलेको छ, दलीय व्यवस्थामाथि प्रहार गरी निर्दलीय व्यवस्थाको सुवात गरिएको आमनेपालीले बुझेका छन्’, उनले भने ।

नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले नेकपा एमाले नफुटेको भन्दै केही साथीहरू चोइटिएर गएको बताए । लहलहैमा लागेर सीमित नेताहरू बाहिरिएको भए पनि आमकार्यकर्ता र जनताले नपत्याएको भन्दै उनले केही समयपछि पछुतो मान्दै पार्टीमा फर्कने दावी बताए ।

अर्घाखाँची जिल्लाबाट लगातार ३ पटक सांसद जित्दै आएका रायमाझीले आफू मन्त्री , सांसद भए पनि वा नभए पनि जिल्लाको विकासमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे । अरुले ५० वर्षमा गर्न नसकेको काम १३ वर्षमा गरेर देखाएको उनको दावी थियो ।

उनले केही व्यक्तिहरुले कांग्रेसको सरकार आएपछि एयरपोर्टको कामले तिव्रता पाएको भन्दै जनतालाई दिग्भ्रमित पार्न खोजेको आरोप लगाए । एयरपोर्ट निर्माणको लागि चैतमा नै ठेक्का लागेको र नियमित प्रक्रिया अनुसार काम अगाडि बढेको उनको भनाइ थियो । रायमाझीले कसैले चाहेर पनि जिल्लाको विकास नरोकिने भन्दै आफूहरु निक्कै चनाखो भएर लाग्ने र जिल्लाको विकास रोक्ने, बजेट कटौती गर्ने गरिए जनता चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

कार्यक्रममा प्रदेशसभाका सदस्य रामजी प्रसाद घिमिरे, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल, जिल्ला कमिटीका सहसंयोजक पिताम्बर भुसाल, सन्धिखर्क नगरक मिटीका ईन्चार्ज युवराज श्रेष्ठ, नेकपा एमालेका युवा नेता लिला जिसीलगायतले एमाले छाडेर जानेको भविष्य अन्धकार भएको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *