माधवपक्षको कपिलवस्तु जिल्ला समानान्तर कमिटी एमालेमै रहने – Nepal Press

माधवपक्षको कपिलवस्तु जिल्ला समानान्तर कमिटी एमालेमै रहने

रुपन्देही । माधव नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले एमालेमै रहने घोषणा गरेका छन् ।

नेपाल समूहमा लामो समय रहेका नेता पन्थीले कपिलवस्तुमा युवासंघको भेलालाई शनिबार सम्बोधन गर्दै पार्टी विभाजनमा कसैलाई साथ दिन नसकिने बताएका हुन् ।

कपिलवस्तुमा युवासंघको भेलालाई सम्बोधन गर्दै पन्थीले माधव नेपालले पार्टी फुटाएर ठूलो भूल गरेको बताए । ‘पार्टीभित्रै रहेर अन्तरसंघर्षका लागि विगतमा साथ दिएका हौं, फुटेर एमालेको भलो हुँदैन,’ उनले भने ।

पन्थीले पार्टीभित्रको अन्तरसंघर्ष पार्टी फोड्न नभई पार्टी बलियो बनाउने उद्देश्यले गरिएको बताएका थिए । लुम्बिनी प्रदेशसभामा माधव नेपाल समूहमा गनिदै आएका पन्थीले एमालेबाट छुटिएर नयाँ दल खुले पनि कपिलवस्तु र प्रदेशमा सामान्य प्रभावसमेत नपर्ने ठोकुवा गरे ।

पन्थीले अहिले जनतामा गठबन्धन सरकारले भ्रम फैलाई एमालेका कार्यकर्ता फकाउने काम सुरु गर्न लागेकोले युवाहरुले प्रतिकार गर्न निर्देशन दिएका थिए । नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीको अध्यक्ष नै एमालेमै रहेपछि कपिलवस्तुमा माधव नेपाल समूह थप कमजोर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर