डर्टमन्डको जितमा बेलिङ्घम नायक – Nepal Press

डर्टमन्डको जितमा बेलिङ्घम नायक

काठमाडौं । जुडे बेलिङ्घमको एक गोल र एक असिस्टप्रेरित बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा शुक्रबार राति होफेनहेमलाई ३–२ गोलको नतिजामा पराजित गरेको छ ।

डर्टमन्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएका पनि दोस्रो हाफमा पाँच गोल सम्भव भएको थियो ।

सुरुआतदेखि नै बल पोसेसजनमा प्रभुत्व जमाएर आक्रामक फुटबल खेलिरहेको डर्टमन्डका लागि जियोभानी रेयनाले गोल गर्दै ४९औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । उनले बेलिङ्घमको पासलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, डर्टमन्डका घरेलु समर्थकअघि प्रतिस्पर्धात्मक प्रदर्शन गरेको होफेनहेमले ६१औं मिनेटमा बराबरी गोल फर्काएको थियो । क्रिस्टोफर बौमगार्टनरलेले डेनिस गिजरको पासमा भ्रमणकारी टोलीका लागि गोल गरेका थिए ।

पुनः अग्रताका लागि प्रयासरत डर्टमन्डका लागि बेलिङ्घमले ६९औं मिनेटमा गोल गरे । उनको गोलसँगै २–१ ले खेल डर्टमन्डको पक्षमा थियो । तर, निर्धारित समयको अन्तिम मिनेटमा मुनास डाबुरले गोल गर्दै पुनः होफेनहेमलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

अन्ततः एर्लिङ हालान्डले इन्जुरी समयमा गोल गर्दै डर्टमन्डको जित सुनिश्चित गरे । जितसँगै ३ खेलमा ६ अंक जोडेको डर्टमन्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलमा ६ अंक जोडेको वुल्फ्सबर्ग दोस्रो स्थानमा छ ।

यस्तै तीन खेलमा ४ अंक जोडेको होफेनहेम बुन्डेसलिगाको चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *