बदलिए विमलेन्द्र : धर्म निरपेक्षताको भारी बिसाएर कांग्रेस सभापतिमा दाबेदारी – Nepal Press

बदलिए विमलेन्द्र : धर्म निरपेक्षताको भारी बिसाएर कांग्रेस सभापतिमा दाबेदारी

काठमाडौं । नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षताबारे बहस निरन्तर छ । कांग्रेसको अघिल्लो महाधिवेशनमा झण्डै ८ सय महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर नै संकलन गरेका थिए । नेपाललाई ‘हिन्दू राष्ट्र’ वा ‘धार्मिक स्वतन्त्रतासहितको राष्ट्र’ बनाउनुपर्ने आवाज कांग्रेसभित्र चर्कोरूपमा उठिरहेको छ ।

यहीबीचमा कांग्रेसभित्र धर्म निरपेक्षताका कट्टर समर्थक मानिने उपसभापति विमलेन्द्र निधिले पनि ‘हिन्दू धर्म’ वा ‘धार्मिक स्वतन्त्रता’ को पक्षमा उभिने संकेत दिँदै सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा महाधिवेशनलक्षित ‘सम्पर्क कार्यालय’ उद्घाटन समारोहको दृश्य, निधिको प्रस्तुति, हाउभाउ र अभिव्यक्तिले उनलाई ‘कट्टर धर्मनिरपेक्षवादी’ बाट ‘धार्मिक स्वतन्त्रता’ प्रति उदार नेताको रूपमा प्रस्तुत गर्‍यो । औपचारिक समारोहअघि नै निधिको कार्यालयमा सनातन धर्मआवद्ध धार्मिक व्यक्तिहरूले पूजाअर्चना गरेका थिए । आफ्नो वक्तव्यका दौरान निधि आफैंले हिन्दू र बौद्ध धर्मका सम्मानित व्यक्तिहरूले आफूलाई आशीर्वाद दिएको सगर्व उल्लेख गरे । निधिको सम्पर्क कार्यालयको पूजामा जानकी मन्दिरका महन्थ तपेश्वर दाससहित काठमाडौं उपत्यकामा रहेका पशुपतिनाथ, दक्षिणकाली, सूर्यविनायक, डोलेश्वर महादेव, पञ्चमहालक्ष्मी, बंगलामुखी लगायत मन्दिरका पूजारी सहभागी थिए ।

हिजोमात्रै धार्मिक गुरु कमलनयनाचार्यसँग भेटेर आफूले आशीर्वाद लिएको बताएका निधिले समारोहमा कमलनयनाचार्यका प्रतिनिधि र बौद्ध धर्मका गुरुहरू पनि उपस्थित भएको जानकारी दिए । समारोहमा पशुपतिनाथको मूलभट्टको प्रतिनिधि पनि उपस्थित थिए । बौद्ध धर्मका गुरुहरूले २१ ताराको पूजा गरेर आफ्नो जितको कामना गरेको र मुस्लिम धर्मआबद्ध मौलानाहरूले पनि आशिष दिएको निधिले बताए ।

‘पशुपतिको मूलभट्टका प्रतिनिधि, कमलनयनाचार्यका प्रतिनिधि, जानकी मन्दिका महन्थज्यू, काठमाडौंका विभिन्न मन्दिरका पूजारी, बौद्ध धर्मका लामाहरू र मुस्लिम समुदायका मौलानाहरुले मेरो सफलताको कामना गर्नुभएको छ । म अत्यन्तै खुसी छु’, निधिले भने ।

राजनीतिक उद्देश्यका लागि खोलिएको सम्पर्क कार्यालय कुनै धार्मिक अनुष्ठानभन्दा कम थिएन । निधि स्वयं रुद्राक्ष र सयपत्री फूलको माला लगाएर कार्यक्रममा उपस्थित थिए । सम्बोधनको क्रममा उनले सबै धर्मको सम्मान कांग्रेसको एजेण्डा भएको बताए । संविधानमा धर्म निरपेक्षता लेखिए पनि कांग्रेसले धार्मिक स्वतन्त्रता मान्दै आएको निधिको भनाइ थियो ।

‘संविधानमा धर्मनिरपेक्षता छ । नेपाली कांग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्दछ । धार्मिक स्वतन्त्रता नेपाली कांग्रेसको राष्ट्रियता , लोकतन्त्र र समाजवाद जत्तिकै पुरानो मान्यता हो । मैले आज पनि हिन्दू धर्मअनुसार पूजा गरे’, निधिले भने ।

‘कुनैबेला धर्मनिरपेक्षताको विरोध गर्नेसँग मञ्चबाटै चर्काचर्की गर्ने विमलदाइ आज हिन्दू धर्मको अभियन्ता झैं देखिनुभएको छ । उहाँको बदलिएको भेष र भाषाले कांग्रेसमा हलचल त ल्याउने नै छ’, कार्यक्रम स्थलमा भेटिएका केही कांग्रेस नेताहरूको भनाइ थियो ।

उनले अहिलेको संविधानको स्वामित्व कांग्रेसले लिने र आवश्यकता परेअनुसार संशोधन गर्न सकिनेपनि बताए । ‘यो संविधानमा जुनजुन बेलामा संशोधन गर्नुपर्छ त्यो गर्दै जानुपर्छ । यो संविधानको स्वामित्व कांग्रेसले लिनुपर्छ । त्यसैले म कांग्रेसको सभापतिको उम्मेदवारको रूपमा आएको छु’, निधिले भने ।

आफ्नो वक्तव्यको अधिकांश समय धर्मगुरु एवं पूजारीलाई धन्यवाद दिन र धार्मिक स्वतन्त्रताबारे बोल्न खर्चिएका निधिले कसैलाई अक्षम घोषणा गर्न आफू उम्मेदवार नभएको बताए । ‘मेरो उम्मेदवार कसैलाई हराउन, कसैलाई अक्षम बनाउन वा कसैलाई रिटायर्ड गराउनका लागि होइन । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउन सक्रिय भूमिका खेल्न सभापतिको उम्मेदवार बनेर म उभिएको छु’, निधिले भने ।

निधिको चुनावी सम्पर्क कार्यालय उद्घाटनसँगै कांग्रेसवृत्तमा उनले अघि सार्ने एजेण्डाबारे चासो बढेको छ । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा पुगेरै निधिलाई कांग्रेसका धेरै नेता कार्यकर्ताहरूले शुभकामना दिए । कार्यक्रममा सहभागी केहीले भने निधिको नयाँ स्वरूपले कांग्रेसमा ‘हलचल’ ल्याउने टिप्पणी गरे ।

‘कुनैबेला धर्मनिरपेक्षताको विरोध गर्नेसँग मञ्चबाटै चर्काचर्की गर्ने विमलदाइ आज हिन्दू धर्मको अभियन्ता झैं देखिनुभएको छ । उहाँको बदलिएको भेष र भाषाले कांग्रेसमा हलचल त ल्याउने नै छ’, कार्यक्रम स्थलमा भेटिएका केही कांग्रेस नेताहरूको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “बदलिए विमलेन्द्र : धर्म निरपेक्षताको भारी बिसाएर कांग्रेस सभापतिमा दाबेदारी

  1. विस्तारै पुरानो बाटोमा फर्कने सङ्‌केत हो, त्यो ‘ बधाइ विमल दाइलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर