विमलेन्द्रको दावी- मेरै नेतृत्वमा आउँदो चुनावबाट कांग्रेस पहिलो पार्टी (भिडियो) – Nepal Press

विमलेन्द्रको दावी- मेरै नेतृत्वमा आउँदो चुनावबाट कांग्रेस पहिलो पार्टी (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधीले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे । आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे ।

निधीले भने,‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ मलाई पूरा विश्वास छ । मेरो सम्पूर्ण ध्यान नेपाली कांग्रेसको सभापति हुने कुराको लागि मेरो उद्देश्य भनेको आगामी आम चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र संगठनलाई एकतावद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो । म कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नको लागि म सभापतिको उम्मेदवार हुन खोजेको होईन ।’

उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए ।

आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए ।

उनले भने,‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनाको विचमा गएर भन्न चाहान्छु, जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली देशमा ल्याएका छौँ, त्यो प्रणाली लाबारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । त्यसको सफल सञ्चालन र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो । त्यस कारणले अब तपाईहरुले ध्यानमा राख्नुहोला, मतदाता र जनतालाई भन्न सक्नुप¥यो, हामीले भन्छौँ अब भाँडभैलो हुदैनँ । ’

उपसभापति निधीले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर